भेनेजुयलाको पक्षमा किन ऐक्यबद्धता ? नारायणकाजीले दिए ४ कारण

भेनेजुयलाको पक्षमा किन ऐक्यबद्धता ? नारायणकाजीले दिए ४ कारण

काठमाडौं : भेनेजुयलामा भएको सत्ता विप्लव प्रयासबारे नेपाल सरकारले धारणा सार्वजनिक गरी कुटनीतिक अपरिपक्वता देखाएको टिप्पणी भइरहेका बेला पूर्व परराष्ट्रमन्त्री एवं सत्तारुढ नेकपाका प्रवक्ताले त्यसको बचाउ गरेका छन्।

'साम्राज्यवाद विरोधी मञ्च' ले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा श्रेष्ठले भेनेजुयलामा अमेरिकी हस्तक्षेपबारे सरकारले कुटनीतिक र नेकपाले राजनीतिक भाषामा जवाफ दिएको बताए।

दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलास मादुरोको ठाउँमा विपक्षी नेता जुआन गाइदोले आफूलाई स्वतःस्फुर्त राष्ट्रपति घोषणा गरेपछि शक्तिराष्ट्रहरू पक्ष विपक्षमा बाँडिएका बेला नेपाल पनि यसमा जोडिएको हो। अमेरिकासहितका कतिपय देशले विपक्षी नेतालाई राष्ट्रपति मान्दै मादुरोलाई मान्यता नदिएको सन्दर्भमा भेनेजुयलामा राजनीतिक संकट गहिरिएको छ।

'भेनेजुयलासँग ऐक्यबद्धता' शीर्षकमा राजधानीमा भएको अन्तर्क्रियामा नेता श्रेष्ठले किन भेनेजुयलाका पक्षमा उभिनुपर्नाका कारण सुनाए।

१) हस्तक्षेप र अतिक्रमण

विश्वका जुनसुकै मुलुकको आन्तरिक मामिलामा अर्को मुलुकबाट हुने हस्तक्षेप भत्सर्नायोग्य भएको श्रेष्ठको तर्क छ। 'संवैधानिक लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारविरुद्ध अमेरिकी प्रयासमा भएको षड्यन्त्रमूलक गतिविधिको विरोध गर्नु सामान्य हो', उनले भने, 'सार्वभौम मुलुकमाथि अर्को देशबाट हुने अतिक्रमणको विरोध गर्नु हाम्रो पार्टीको मात्र होइन, सरकारको पनि सैद्धान्तिक प्रस्तावना (प्रिन्सिपल्ड पोजिसन) हो।'

एक मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्नु कुनै नयाँ नीति नभएको उनको भनाई छ। 'बरु हामी यसबाट विचलित भएको भए वा चुप बसेको भए शंका गर्नुपर्ने ठाउँ आउँथ्यो, पार्टीले राजनीतिक भाषामा र सरकारले कुटनीतिक भाषामा विरोध गरेर हामीले कर्तव्य र जिम्मेवारी निभाएका छौँ।'

२) लोकतन्त्रका नाममा फासीवाद

अमेरिका लोकतन्त्रका नाममा फासीवादका पक्षमा रहेकोले त्यसको विरुद्ध उभिनुपर्ने श्रेष्ठको भनाई छ। 'निर्वाचित राष्ट्रपतिविरुद्ध योजनाबद्ध ढंगले विपक्षी नेतालाई उभ्याएर साम्राज्यवादीले आफ्नो स्वार्थसिद्ध गर्न खोज्दैछन्', उनले भने, 'उनीहरूले आफ्नो स्वार्थ अनुकूल भएमात्र त्यसलाई लोकतन्त्र भन्छन् नत्र, कुनै पनि लोकतन्त्रलाई च्यातचुत पार्न उनीहरू पछि पर्दैनन्।'  

३) विचारधारा र वर्गको प्रश्न

नेपालबाट भेनेजुयलाको पक्षमा ऐक्यबद्धता जनाउनुको अर्थ विचारधारा र वर्गको विषय पनि भएको उनको तर्क छ। भेनेजुयला श्रमजीवी वर्गको पक्षमा समाजवादी व्यवस्था स्थापना गर्ने अभियानमा भएको र त्यसलाई समाप्त पार्न अमेरिकाले कुको प्रयास गराएको उनको दावी छ।

'साम्राज्यवादी र पूँजीवादीहरू जहिले पनि श्रमजीवी र समाजवादी व्ययवस्था सिध्यान लाग्छन्, हामीले कसको पक्ष लिने भन्ने कुरासँग यो जोडिएको छ', उनले भने, 'अमेरिकाले भेनेजुयलामा किन कुदृष्टि राख्यो भने जति अप्ठ्यारो पार्दा पनि ऊ उठ्यो, लड्यो र टिक्यो।'

४) युद्धको विरोधमा शान्ति

युद्ध र शान्तिमध्ये के रोज्ने भन्ने विषयसँग पनि भेनेजुयलाका बारेमा नेपालमा भएको चर्चा जोडिने उनको भनाई छ। 'यति टाढाको देशका बारेमा हामीले किन बोल्ने भन्ने पनि आवाज उठेको छ', उनले भने, 'यो टाढा र नजिकको विषय होइन, मूल्य र दृष्टिकोणको विषय हो। हामीले युद्ध रोज्ने कि शान्ति भन्ने मुख्य विषय हो।' भेनेजुयलामा अमेरिकाले आफ्नो स्वार्थको लागि युद्ध चाहेको उनको भनाई छ।

नजिकका देशमा केही भएमात्र विरोध गर्ने तर टाढाको देश जोकोहीले खाइदिए हुन्छ भन्न नमिल्ने श्रेष्ठको भनाई छ। 'यो टाढा र नजिकको कुरा होइन, विश्वको जुनसुकै मुलुक पनि एकअर्कासँग बराबर हुन्छ र जहाँ भए पनि र जसले गरे पनि हस्तक्षेपको विरोध गर्नु सामान्य मानवीय विषय हो।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.