मेची पुल उद्घाटन, मुआब्जा विवाद कायमै
बिर्तामोड : प्रधानमन्त्री केपी ओलीले मेची पुल निर्माणसँगै देशले चालेको समृद्धिको पाईला एक कदमअघि बढेको बताएका छन् । झापाको भद्रपुरस्थित मेची नदीको पुल बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पुलले भारतमात्र नभई बंगलादेशसँग पनि नेपालले व्यापारीक कारोबार गर्न मदत पुर्याउने विश्वास व्यक्त गरे । ‘लामो पर्खाइपछि पुल निर्माण सम्पन्न भएको छ । यसले त्रिदेशीय व्यापार गर्न मदत पुर्याउँछ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको अर्थतन्त्रमा यसले सकरात्मक प्रभावत पार्नेछ ।’
मेची पुल हुलाकी राजमार्ग अन्तर्गत पर्ने हुँदा यो मार्गले पनि गती लिने बताए । ‘धेरैले कुरा काट्दै सिलान्यास मात्रै गर्छ, भनेका थिए । तर, हामी सिलान्यास भएका विकासका कामलाई पुरा गरेर देखाउँछौं’, प्रधानमन्त्री ओलीले भने, ‘केहि वर्षमा पुर्वपश्चिम राजमार्ग मात्र होइन रेल मार्ग बनाएर रेल कुदाएर देखाउँछौँ ।’ प्रधानमन्त्री ओलिले पानी जहाज चलाउँछौंभन्दा हाँसिमजाक गर्नहरु कोशीमा मिनी जहाज चलेको देखेर के भनिरहेका होलान भन्दै प्रश्न गरे ।
मेची पुलबाट नेपाल तर्फको सडक फराकिलो पार्ने काम गर्ने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री ओलीले भारततर्फ भारतीय प्रधामन्त्रीसँग कुरा गरेर पुल पुर्ण रुपले सञ्चालनमा आउने बताए । छोटो समयमा नेपालले संघीय संरचनालाई पुर्णता दिएको देखेर अन्तर्राष्ट्रिय जगतको ध्यान खिचिएको उनले दावी गरे । केही दिनअघि स्विजरल्याण्डको डाओसमा आयोजित विश्व आर्थिक मञ्चमा सहभागी हुँदाको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले अन्र्तराष्ट्रिय मञ्चमा उपस्थित भएर आफ्ना कुरा राखिरहँदा विश्व जगत छक्क परेको दावी गरे ।
हवाई मार्ग हुँदै विहीबार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओलिले विहान दमकमा आयोजित बृहत बाल महोत्सवको उद्घाटन गरेका थिए भने दिउँसो कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माविमा आयोजित स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गरेका थिए । साँझ मेची पुल उद्घाटन गरेका प्रधानमन्त्री ओलीले चन्द्रगढीबाट रात्रिकालीन उडानको पनि उद्घाटन गर्न भ्याए । रात्रिकालिन उडानको उद्घाटन गरेकै जहाजबाट प्रधानमन्त्री ओली विहीबार नै काठमाडौ फर्किएका छन् ।
मुआब्जा विवाद कायमै
तीन पटक शिलान्यास गरिएको मेची पुलसम्म पुग्ने सडकमा मुआब्जा बिवाद कायमै छ । पहिलो पटक २०२४ सालमा मा तत्कालीन अञ्चलाधीश मनमोहन मि श्र, दोस्रो पटक २०४१ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र तेस्रो पटक २०६६ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले मेची पुल शिलान्यास गरेका थिए । तेस्रो पटक सिलान्यास भएपछि पुल निर्माण गर्न ९ वर्ष लागेको हो ।
साढे छ दशकदेखिको निरन्तर प्रयासबाट निर्माण सम्पन्न भएको पुल दश महिनापछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । मंसीर २६ गते प्रधानमन्त्री ओलीले पुल उद्घाटन गर्ने तयारी गरिए पनि पुलसम्म पुग्ने सडक निर्माण नभएकाले रोकिएको थियो । स्थानीय २२ घरपरिवारलाई मुआब्जा वितरण गरेपछि पुलसम्म पुग्ने १२ मिटर चौडाइको बाटो पुल उद्घाटनकै लागि खुलाइएको हो।
मुआब्जा समस्याले पुल बनेको लामो समयसम्म सडक निर्माण हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले जनाएको छ। शिलान्यासका बेला तीन वर्षभित्र पुल निर्माण हुने दावी गरिए पनि नौ वर्ष लागेको हो । भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुल निर्माण गर्न ३७ करोड ३६ लाख ८५ हजार ५ सय ६२ रुपैयाँ लागेको छ । ५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइ रहेको छ । पुल नहुँदा स्थानीय हिउँदमा बाँसे पुल वा राँगा गाडा र बर्खामा डुंगाको सहायताले आवतजावत गर्दै आएको थिए ।
पुलको सबै भाग नेपाल तर्फ रहे पनि पुलको मुख भारतको पश्चिम बंगाल राज्यको भू–भागमा पनि पर्छ। बंगाल राज्य सरकारले उक्त पुललाई नाकाका रूपमा विकास गर्न चाहेको छैन। पश्चिम बंगालबाट पानीट्यांकी–काँकडभिट्टा नाका सञ्चालित छ।