तानसेनमा एकरात
उर्मिला स्याङ्तान : ‘तानसेन घमाइलो, जता नीरमाया उतै रमाइलो’ यो गीत मैले बाल्यकालदेखि नै सुन्दै आएकी छु। तर, थाहा थिएन तानसेन कस्तो छ भनेर। साँच्चै तानसेन असाध्यै रमाइलो रहेछ। पहाडकी रानी नामले चिनिने पाल्पाको तानसेन असाध्यै रमाइलो थियो। तानसेनमा कुनै बेला सेनहरूको राज्य थियो भनिन्छ। तानसेन दिनमा घमाइलो त पक्कै नै थियो होला तर, साँझ पनि उतिकै रमाइलो थियो।
तानसेन बजार शान्त थियो। बजार घुम्दै गर्दा यस्तो लाग्थ्यो, म भक्तपुर, ललितपुर र असनका गल्लीहरू घुमिरहेकी छु। जताततै नेवारी शैलीका घरहरू थिए। काठमाडौंमा साँझ पर्न लागेपछि पसलहरू बन्द हुन्छन्। पसलेहरूले सबै सामान भित्र थन्क्याउँछन्। तानसेन बजारमा पनि पसलहरू बन्द भए। तर त्यहाँ सुनसान रातमा समेत बन्द ढोकाको दुई छेउमा ठूलाठूला एक जोर करुवा राखिएका थिए। त्यहाँ चोरी हुने डर थिएन। कसैले फुटाउँलान् भन्ने क्रास पनि थिएन।
तानसेनमा रहेको पाल्पा दरबारले काठमाडौंको नारायणहिटी दरबारको झल्को दिँदो रहेछ। त्यहाँ पनि टुँडिखेल रहेछ। उस्तै उस्तै लाग्ने तर फरक थियो टुँडिखेलको छेउमा राखिएको ठूलो करुवा। त्यहाँको परिवेश साँच्चै कलाकौशलले भरिएको रहेछ। निकै फरक पाएँ काठमाडौं र तानसेनमा। त्यहाँका घरहरू भक्तपुरका नेवारका घरहरू जस्तै थिए। घरमा ठूलाठूला झ्यालहरू थिए। बीचमा सानो सडक। मन्दिरहरू थिए।
काठमाडौंमा जस्तो मानिसको कोलाहल, भीड, घुइँचो केही पनि थिएन। राति ९ नबज्दै सडक सुनसान थियो। सडकमा बत्तीहरू बलेका थिए। तानसेन बजार एक फन्को लगाउँदा काठमाडौंभन्दा एकदमै फरक पाएँ। बजार घुमिरहँदा म अर्कै मुलुकमा छु जस्तो लाग्यो। साँच्चै तानसेन बजारले मनै लोभ्यायो।
राजधानी बसाइको करिब पाँच वर्षपछि कलेजका साथीहरूसँगै तानसेन बजार घुम्ने मौका पाएँ। यो मेरो लागि नयाँ अनुभव बटुल्ने अवसर थियो। किनभने यसअघि तानसेन गएको थिएन। त्यहाँ जाने भन्ने सुन्नासाथ मेरो वरिपरि विभिन्न चित्रहरू घुम्न थाले। जुन चित्र विभिन्न सामाजिक सञ्जाल र टीभी च्यानलमा देखेकी थिएँ। बच्चैदेखि सुनेको गीतले तानसेन बजार घुम्ने रहर जाग्यो। तर, विडम्बना उज्यालोमा बजार घुम्न पाइएन। राति ९ बजे पुगेका थियौं।
भोलिपल्ट उज्यालो नहुँदै लुम्बिनीतिर हाम्रो बस गुड्यो। एक झल्को मात्रै देख्न पाएको तानसेनबजार गीतले भने जस्तै साँच्चै घमाइलो रहेछ। लुम्बिनीतर्फ बस गुडिरहँदा मेरो मनमा उही गीत गुञ्जियो– तानसेन घमाइलो, जता नीरमाया उतै रमाइलो...।