बाथ–टबमा सिरियल किलर निदाइरहेको थियो

बाथ–टबमा सिरियल किलर निदाइरहेको थियो

‘ब्ल्याक कफी पिउने मान्छेको मन ब्ल्याक हुन्छ,’ हातले भर दिँदै घुँडाको बीचमा टाउको अड्याएकी, जीउ पूरै चिसो भित्तातिर ढेपेकी, ‘बाथ–टब’की नायिका अनिद्राले यसो भनिरहँदा उसको अनुहारमा मुस्कानको नामनिसान थिएन। लेखक निःशब्दशमशेर राणा अनिद्राको यो डायलग खरिद गर्न चाहन्छ। अनिद्राको उत्तर छ, ‘यसको कपिराइट त्योसित छ जोसित मेरो मन गाँसिएको छ।’

अनिद्रा भन्दै जान्छे– ‘ऊ एक प्रेमी थियो। तर, मानिसहरू भन्छन् ऊ पागल थियो। पागल थियो...त्यसैले सायद कवि थियो। मलाई ऊ मोक्ष र निर्वाणमा हिँडेको यात्री लाग्थ्यो। शायद एक तीर्थयात्री। उसलाई मेरो लामो सुनौलो केश कस्तो मन पथ्र्यो ! मेरो केशमा ऊ आफ्नो आत्मा अल्झेको ठान्थ्यो। एक साँझ मैले आफ्नो ला...मो सुनौलो केश काटेँ र उसलाई जन्मदिनको उपहार दिएँ। उसले भन्यो : मेरो जीवनको अन्तिम पाण्डुलिपि म यो केशले बाँधेर राख्नेछु।’

र, आकाशे नीलो परिधानमा हाँसिरहेकी, रोइरहेकी, चिच्याइरहेकी, ग्रामोफोनमाथि नाचिरहेकी, टाइप राइटर चलाइरहेकी, आफ्नै लयमा मस्त अनिद्रा मुडुलो टाउको लिएर नाटकभरि आफ्नो अस्तित्व खोजिरहन्छे। उसको मुडुलो टाउकोले पारिजातको ‘शिरीषको फूल’की सकम्बरीको सम्झना गराउँछ।

०००

१८ दिनअघि भूषिता वशिष्ठ (अनिद्रा) शिल्पी थिएटरमा ‘बाथ–टब’को रिर्हसलमा व्यस्त थिइन्। त्यसबेला उनको केश माथिको संवादमा वर्णन गरेझैं सुनौलो थियो। तर, नाटककै लागि कपाल खौरिइन्। कपाल खौरिएर पहिलोपटक ऐनामा आफूलाई हेर्दा कस्तो अनुभव भयो ? ‘पावरलेस महसुस गरेँ। अनि फेरि सोचेँ– मेरो खोज त निजत्वको हो। मान्छेको गहिराइको हो। त्यसपछि पहिलोपटक स्वास्नीमान्छे होइन, मान्छे भएको अनुभव गरेँ।’

कहिले पत्रकार, कहिले सन्न्यासी, कहिले लेखक। अहिले नाटकमा अभिनय गरिरहँदा ‘बाथ–टब’को क्यारेक्टरजस्तै, कुमार नगरकोटीका कथा–पात्रजस्तै भूषिता सर्रियल मिस्टिकझैं लाग्छिन्। पहिलोपटक ब्ल्याक बक्सभित्र नाटकको रिर्हसल गरिरहेकी थिइन् उनी।

अहिले कस्तो भइरहेको छ स्टेज–अनुभूति ? साँझ नाटक सकिएपछि मुडुलो टाउकोमा नीलो स्कार्फ बेरेकी उनले भनिन्, ‘नाटकले मलाई हरेक फरक संसारमा बाँचिरहेको फरक मानिसको अनुभूति दिलाइरहेको छ। यो अनिद्रा क्यारेक्टर मेरै लागि लेखिएको जस्तो लाग्छ। अनाथ हो अनिद्रा, भएको प्रेमी पनि मर्‍यो। मभित्रको आन्दोलन विस्फोट गर्ने मौका नाटक बन्यो।’

‘बाथ–टब’मा लेखक निःशब्दशमशेर राणाको अवतारमा छन्– नीर शाह। ३३ वर्षपछि नाटकमा देखिएका छन् उनी। पहिलेपहिले उनी देखिएका नाटकको फ्रेम र स्कृप्ट फरक हुन्थे। थुप्रै यथार्थवादी नाटकमा उनले अभिनय गरे। र, यो नाटक उनकै शब्दमा ‘उनले गरिरहेको जीवनकै फरक टेक्स्ट हो’। उनले गरेका थुप्रै नाटकमध्ये सम्झनामा आइरहने नाटक हुन्– ‘स्मृतिको पर्खालभित्र’, ‘मुटुको व्यथा’, ‘अमरसिंह’, ‘चेतना’, ‘मसान’। ‘अंग्रेजी नाटक पनि खेलेँ, जीवनको उर्वर समय नाटकसँग नजिक भएँ,’ उनी भन्छन्, ‘पछि सिनेमाले नाटकबाट टाढा बनायो।’

तीन दशकपछि फेरि नाटकमा आउँछु भन्ने सोच्नुभएको थियो ? ‘सोचेको थिइनँ। आउँदिनँ कि भन्ने प्रतिशत बढी थियो। यसबाट धेरै टाढा पुगिसकेको थिएँ। नौलौ आयाम दिन सक्ने प्रोजेक्ट भए र समय मिले काम गर्छु भन्ने सोचेको थिएँ। फेरि कसरी फर्किने होला भन्ने प्रश्न बोकेर हिँडिरहेको थिएँ,’ शाहले भने। फिल्म र नाटकमा के फरक हुँदोरहेछ ? शाह भन्छन्, ‘फिल्म भनेको घरबाट निस्केपछि चोकैपिच्छे भेटिने मन्दिर हुन्, नाटक भनेको धाएरै पुग्नुपर्ने पशुपतिको धाम हो।’ र, यो साधनाको धाममा तीन दशकपछि अभिनयरत छन् शाह।

नाटकमा अर्को पनि संयोग जुरेको छ। लामो समय टेलिफिल्ममा अभिनय गरेपछि, उपन्यास, कथा र फिल्मको स्क्रिप्ट लेखेपछि ब्रजेश सिरियल किलर बनेर पहिलोपटक स्टेजमा अभिनय गरिरहेका छन्। भन्छन्, ‘यो मेरो लागि नितान्त नौलो, अति नौलो अनुभूति हो। अहिले नाटकको स्टाइल चेन्ज भइसकेको छ। हरेक दिन इन्जोय गरिरहेको छु। सात दिनसम्म मलाई रिर्हसलमा गाह्रो भइरहेको थियो। पछि बिस्तारै फर्ममा पसेँ।’

‘तिमी योनीबाट आएकी हौ र मृत्युपश्चात् योनीमै विलीन हुनेछौ। योनी एक विराट शून्य हो।’– अनिद्रा

‘नाटकको सूत्रधार तथा नेपथ्यका आदिम एकान्त–प्रेमले मलाई नाटककार बनायो,’ पहिलो नाटक ‘कोमाः अ पोलिटिकल सेक्स’को पहिलोे मञ्चनपछिको साँझ कुमार नगरकोटीले भनेका थिए। ठीक पाँच वर्षपछि ‘बाथ–टब’को मञ्चन भएको छ। पाँच वर्षपछि नगरकोटी ओभरकोटमा उसैगरी शिल्पी थिएटरबाहिर उभिएका छन्। भन्छन्, ‘त्यही एकान्त–प्रेम पछ्याउँदै फेरि बाथ–टब लेखेंँ।’ आफ्नो रिडिङ रुमलाई नगरकोटी गुफा भन्छन्। कैयाैं दिन गुफामै हराउँछन्। किन ? अक्सर भन्ने गर्छन्, ‘यो सहर तान्त्रिक थियो। किन्तु अहिले यान्त्रिक मायानगर भयो। यो सहरबाट क्षमा, करुणा, प्रेम, संवेदना र आत्मीयता बिलायो। त्यसैले सहर–सयरभन्दा गुफा नै प्रिय लाग्छ।’ गुफामै बसेर नगरकोटीले ‘बाथ–टब’को पाण्डुलिपि जतनसँग चिटिक्कले सजाए।

०००

‘बाथ टब’ उत्पातै प्रयोग भएको नाटक हो। नाटकभित्र पत्रैपत्र छन्। विचार, दृश्य वा सम्बन्धहरूको पत्र। कल्पनाको शिखरमा पुगेको बेला नयाँ आख्यानको निर्माण हुन्छ। नयाँ आख्यान भन्न नयाँ शैली, नयाँ सामग्री, नयाँ भेषभूषा, नयाँ संगीत चाहिन्छ। नाटकमा पात्रसँग कुरा गर्ने टेलिफोन–क्यारेक्टरहरू छन्, टाइपराइटर छ, निकै ठूला ग्रामोफोन फरक आकारमा मञ्चमा छ। देखिइरहेका ती सामान त्यस्तै गरी प्रयोग गरेर मञ्चमा कथाभन्दा पाठको नौलोपनमाथि न्याय हुन्न भनेर मन्च सामग्रीमा पनि नयाँपन छ।

नाटक पारम्परिक कथावाचन परम्परामा छैन। मञ्चमा तीन पात्र छन्। तीनैजना आ–आफ्नो फिक्सनल रियल, अनरियल र सर्रियल अस्तित्वको व्याख्या गर्छन्। सपना र सोचाइका पत्रहरूलाई अभिव्यक्त गर्न पर्दाहरू र झुलको प्रयोग भएको छ। नाटकमा योनी, शून्यता, मौनता र चिहानको प्रसंग दर्शकलाई कौतुहल बनाउने गरी आउँछन्। नाटकले भन्छ– योनी एक विशाल शून्य हो, त्यही योनीबाट हामी वा यो ब्रम्हाण्डको सृष्टि भएको छ, शून्यता सबै वस्तुको आविष्कारको थलो हो।

मौनता सबै आवाजहरूको जन्मथलो हो। शून्यता र मौनतालाई देखाउन आकाश र खाडलको प्रयोग भएको छ। झूलहरू आकाशबाट आउँछन्। आकाशमा जान्छन्। पात्रहरू खाडलबाट आउँछन्। सपनाको रङ देखाउन हल्का नीलो रङको प्रयोग छ। झूल वा प्रकाशको रङ पनि नीलो बढी छ।

निर्देशक घिमिरे युवराजको मतमा रंगमञ्चमार्फत कथा भन्ने अनेकौं तरिकाको खोजी गरिनुपर्छ। ‘कथा वाचनको नयाँपनले जीवनमा नयाँ तरंग आउँछ। जसरी सिर्जनशील मानिसले खाना, घर, लुगा, उत्सवका नयाँ भर्सन खोजेर मानिसलाई नयाँपन दिन्छन्, उसरी नै मोनोटोनस जीवन वा जडपूर्ण जीवनलाई भत्काएर समाजमा ताजगी ल्याउन फिक्सन वा रंगमञ्चमा नयाँ आविष्कार हुनु आवश्यक छ।’

०००

निःशब्द शमशेरको साइकोलजिकल थ्रिलर कथाको पहिलो वाक्य छ, ‘बाथ–टबमा सिरियल–किलर निदाइरहेको थियो। आज उसको ५३औं जन्मदिन थियो। र, यो जन्मदिनमा आज ऊ आफ्नो जीवनको अन्तिम हत्या गर्न गइरहेको थियो। ऊ आफ्नो जन्मदिन प्राइम–मिनिस्टरको मर्डर गरेर सेलिब्रेट गर्न चाहन्थ्यो।’

कथामा जे घटित छ, नाटकमा ठ्याक्कै त्यही घट्छ। बाथ–टबमा निदाइरहेको कथाको पात्र सिरियल किलर उठेर आउँछ र कथाकारसँग भन्छ, ‘म साधु बन्न चाहन्छु। मलाई सिरियल किलर नबनाऊ।’ कमोटबाट बन्दुक निकालेर ऊ आफैंलाई कथामा लेखिरहेको कथाकारलाई तेस्र्याउँछ।

नाटकको मुख्य विषय मान्छेको ‘अस्तित्वको खोजी’ हो। नाटक भन्छ– मानिस स्वतन्त्र छैन, कोही न कोहीसँग सम्बन्धित छ। कसैको सपनासँग, कसैको कथासँग, कसैको अहम्सँग वा दया, माया, करुणा, प्रेमनामको फिक्सनसँग हरेक पात्र जेलिएर बसेको छ। खासमा मान्छे आफैंले बनाएको आख्यानको बन्दी हो। गहिरिएर हेर्दा हरेक सम्बन्ध र त्यसबीचको संवेदना हामीले सिर्जना गरेको आख्यान हो। त्यही आख्यानमा जेलिएर हामी बसेका छौं।

नाटकले अर्को कुरा पनि भन्छ– एक दृष्टिकोणले स्वैरकल्पना र यथार्थ भन्ने कुरा वाहियात हुन्। संसारमा कल्पना गरिएका सबै यथार्थ हुन्। मानिसले अयथार्थ कल्पना गर्नै सक्दैन। सायद अयथार्थ विषय त ती हुन्, जुन मानिसको कल्पना वा सपनामा आइसकेका छैनन्। अर्को दृष्टिबाट हरेक घटना वा स्थिति जसलाई हामी यथार्थ भन्छौं ती सबै फिक्सन हुन्।

विवाह, प्रेम, सम्बन्ध, हामीले बनाएको सरकार वा संविधान सबै फिक्सन हो। हामी त्यही फिक्सनका बन्दी हौं। नाटकमा कथा, पाण्डुलिपि, सपना र पात्रको अस्तित्वबीचको विरोधाभासबाट माथिका विषय बुझाउन खोजिएको छ।

०००

उसो त ‘मैले नाटक बुझेँ’ भन्नु आफैंमा भ्रम हो। मञ्चमा जे देखियो, दर्शकका लागि त्यही सत्य हो। नदेखिएका थुप्रै पक्ष जीवन भोग्दै जाँदा उजेलिँदै जान्छन्।

आख्यानकार राजन मुकारुङ भन्छन्, ‘जीवन र जगतलाई स्वैरकल्पनाले नियाल्ने नगरकोटीय लेखनकै निरन्तरता हो– बाथ टब। नाटकमा शून्यवादी चिन्तनको फेन्टास्टिक मनोरञ्ज भरपूर पाइन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.