वर्षा र चिसोले बढायो प्रदूषण
काठमाडौं : बिहीबार बिहान ६ बजे ९० माइक्रोग्राम घनमिटरदेखि सुरु भएको वायु प्रदूषण ११ बजेसम्म एक सय ८० पुग्यो । यस्तो वायुलाई मास्कले समेत नथेग्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यका लागि समेत यो जोखिमयुक्त रहेको उनीहरूको भनाइ छ ।
बिहानको तापक्रम ५ डिग्री सेल्सियस थियो । वर्षा भएपछि तापक्रम कम हुँदा वायु प्रदूषण झन् बढ्दै गएको छ । २.५ पीएम धूलोका कणको राष्ट्रिय मापदण्ड ४० माइक्रोग्राम घनमिटर हो । तर एक सय ८० पुग्दा उपत्यकावासीको दैनिकी कष्टकर बन्दै गएको तथ्यांकले देखाएको छ । वातावरण विभागको तथ्यांकअनुसार काठमाडौंको रत्नपार्क, नारायणगोपाल चोक, फोहोरा दरबार, भैंसेपाटी, चितवन, सिमरा, झुम्का सुनसरी, नेपालगन्ज, पोखरा, दाङमा वायुको गुणस्तर अति प्रदूषित छ । यति बेला फोहोरा दरबार क्षेत्रको प्रदूषण एक सय ६१ माइक्रोग्राम घनमिटरसम्म पुगेको छ ।
विशेषगरी पार्टिकुलर म्याटर १० को भन्दा २.५ र १ को वायु बढी प्रदूषित हुने गरेको छ । साना कणका धूलो रगतमा मिसिई मुटुरोग, दम, फोक्सोको क्यान्सर तथा अन्य रोगका कारक बन्न सक्ने वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । आँखाले देख्न नसकिने यस्ता धूलोका कण आँखा र छालाका लागि पनि हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उल्लेख गरेको छ ।
विभिन्न बहानामा खने पनि नटाल्ने, सडकमा जथाभावी बालुवा थुपार्ने आदि कारणले सडक धुलाम्मे बन्ने गरेको छ । तर यसमा नियमनकारी निकाय मौन छ । तापक्रम कम भएको र सामान्य वर्षा हुँदा उपत्यकाको वायु झन् प्रदूषित हुने गरेको वातावरणविद भूषण तुलधारको भनाइ छ । यसका लागि राज्यले दीर्घकालीन समधानतर्फ पहल थाल्नुपर्ने उनले बताए ।