अस्पताल नै गर्छ स्वास्थ्य केन्द्रमा रेफर
खाँदबारी : चिचिला गाउँपालिकाकी सन्चमाया गुरुङ (नाम परिर्वतन) सुरक्षित गर्भपतनका लागि संखुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन्। तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरिदियो।
सन्चमाया गर्भपतन गराउन खाँदबारी आइन्। ‘गाउँको स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल पठाएको थियो। तर जिल्ला अस्पतालले पनि चैनपुर वा मकालु गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पो जानू भनिदियो’, सन्चमायाका श्रीमान्ले भने। तर उनीहरूका लागि मकालु गाउँपालिका र चैनपुर नगरपालिका पनि त्यति नै टाढा छन्।
‘गाउँबाट जिल्ला अस्पतालमा राम्रो सुविधा छ भन्दै स्वास्थ्य चौकीले पठाइदियो,’ उनले भने, ‘तर त्यहाँबाट अझै दुई दिन समय खर्चिएर चैनपुर जानुपर्ने बाध्यता आइप¥यो।’ खाँदबारीसम्मलाई पुग्ने मात्रै खर्च लिएर आएका उनीहरू कसरी चैनपुर पुग्ने भनेर छटपटाइरहेका थिए। उनीहरू भन्दै थिए, ‘अब घर पुगेर आउँदा खर्च तेब्बर हुने भयो।’
अनुभवी एवं विशेषज्ञ चिकित्सक रहेको आसमा आए पनि जिल्लाकै ठूलो अस्पतालले सानो र कम अनुवभी स्वास्थ्यकर्मी हुने स्वास्थ्य संस्थामा रेफर गरिदिएपछि थप तनाव भएको सन्चमायाले बताइन्। अस्पतालले केही समयदेखि गर्भपतनको सेवा नभएको जानकारी दिएको छ। जिल्ला अस्पताल जस्तो ठूलो स्वास्थ्य संस्थामा यति सानो स्वास्थ्य सुविधा पनि छैन भन्ने कुरा आफूलाई नलागेको सन्चमायाको भनाइ छ। १२ हप्ताको गर्भपन गराउन ठूलो अस्पतालको सेवा छाडेर उनी प्राथमिक केन्द्रमा पुग्नुपर्दा तनावमा छिन्।
जिल्ला अस्पतालले साना स्वास्थ्य संस्थामा रेफर गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर दक्ष चिकित्सक नभएको भन्दै अस्पतालले दुई महिनायता गर्भपतनका लागि प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्वास्थ्य संस्थामा रेफर गरिरहेको छ। उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने बिरामीले पनि प्रभावकारी उपचार पाउन सकेका छैनन्। जिल्ला अस्पतालमा तालिमप्राप्त दक्ष चिकित्सक नभएका कारण १० हप्ताभन्दा माथिकालाई सुरक्षित गर्भपतनका लागि रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मण खड्काले बताए।
जिल्ला अस्पतालमा सुरक्षित गर्भपतनको सेवा दिँदै आएका डा. युवराज बस्नेतको सुरुवा भएपछि दुई महिनादेखि यस्तो अवस्था आएको खड्काको भनाइ छ। जिल्ला अस्पतालसहित संखुवासभाका ११ वटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छ।