अमेरिकामा नेपाली ट्याक्सी चालक

अमेरिकामा नेपाली ट्याक्सी चालक

चितवनका लक्ष्मण वाग्लेको सपना थियो अमेरिकामा ट्याक्सी गुडाउने। अमेरिका आइपुगेको केही वर्षमा उनले त्यो सपना पूरा गरे। अन्य कामभन्दा बढी कमाइ पनि हुने अनि आफ्नोेअनुकूल पनि गर्न पाइने। यही आधार बनाएर लक्ष्मणले ट्याक्सी चलाउने सपना देखे। त्यसैले त भन्छन्, ‘स्टोरमा घन्टा हान्नुभन्दा ट्याक्सी चलाउनुको मज्जै बेग्लै छ।’

सुरुका दिनमा बढीमा चार सय डलरसम्म कमाए। हप्तामा एक दिन बिदा बस्दा पनि खर्च कटाएर मासिक पाँच हजार डलर कमाए। त्यो भनेको नेपाली रुपैैयाँमा हेर्दा पाँच लाखभन्दा बढी। त्यसैले नै उनी पेसामा पूर्ण सन्तुष्ट छन्। अहिले खर्च कटाएर वार्षिक ७० हजार डलरबराबर बचत हुने बताउँछन् उनी।

नेपालीले अमेरिकामा ट्याक्सी चलाएर गज्जब कमाइ गर्छन् भन्ने उदाहरण हुन् लक्ष्मण। रहर, बाध्यता, आवश्यकता वा अन्य कारणले अमेरिका आइपुगेका नेपालीले गर्ने अन्य कामभन्दा ट्याक्सी चलाएर बढी कमाउने गरेको पाइन्छ। त्यसैले न्युयोर्कलगायत अन्य राज्यमा रहेका नेपालीले ट्याक्सी चलाउने कर्मलाई मुख्य पेसा बनाउने गरेका छन्। कारण थुप्रै छन्– आफूअनुकूलको समयमा काम गर्न पाइने। कमाएको पैसा उतिबेलै आफ्नो बैंक खातामा हाल्न पाइने, परिवार भएमा आफ्ना नानीबाबुलाई विद्यालय पुर्‍याउन पाइने। घरमा कोही बिरामी भएमा वा अन्य अत्यावश्यक काम परेमा तत्काल काम बन्द गरेर परिवारलाई समय दिन पाइने।

महिनामा मेहनत गर्न सकेमा पाँच हजार डलर बचत गर्नु चानचुने होइन्। पचास हजार डलरबराबरको लगानीमा एउटा ग्यास स्टेसन चलाउने मालिकले बराबर ट्याक्सी चालकले कमाइ गर्ने गरेको पाइन्छ। स्टोरको भाडा तिरेर, काम गर्ने कामदारका लागि ज्याला तिरेर अनि आफ्नो लगानी हेर्ने हो भने पनि ग्यास स्टेसनको मालिकले पाँच हजार डलर बचत गर्दैन। त्यसैले परिवार भएका र आफूअनुकूल काम गर्न मन पराउने नेपालीले यो पेसा अँगाल्ने गरेका छन्।

घट्दै कमाइ

ट्याक्सी चलाउँदा तुलनात्मक रूपमा राम्रो कमाइ हुने भए पनि पछिल्लो समय भने कमाइ कम हुँदै गएको गुनासो पनि प्रशस्त छ। यसको मुख्य कारण हो, ट्याक्सी चालकको संख्यामा वृद्धि। न्युयोर्क सहरमा दुई वर्ष पहिले १४ हजार पहेंलो ट्याक्सी चलाउने चालक थिए भने करिब २५ हजारको संख्यामा उबर, लिफ्ट, जुनो, लुक्सोजस्ता एप बेस कम्पनी ट्याक्सी थिए। पछिल्ला दिनमा उबर, लिफ्ट, जुनो, भिया, लक्सोजस्ता एप बेस ट्याक्सी चलाउने चालकको संख्या दिन दुई गुना रात चार गुना बढेको छ। सोचेभन्दा बढ्दा चालक थप भएपछि अहिले पेसा परिर्वतन गर्ने नेपालीको संख्या पनि कम छैन।

हालै मात्र कमाइ कम हुँदा करिब ६ जना पहेंलो ट्याक्सी चालकले आत्महत्या गरेको समाचार प्रकाशित भएको थियो। बैंकको मासिक किस्ता तिर्न नसक्नु, दैनिक कमाइ कम हुनुका कारण आत्महत्या गरेको समाचारमा उल्लेख छ। उबर, लिफ्ट, जुनो, भिया, लुक्सोजस्ता कम्पनीले दैनिक चालक थप गर्न थालेपछि चालक हितका लागि काम गर्ने विभिन्न संस्थाले त्यसको विरोध गरे। त्यसैले यी एप्स बेस कम्पनीले थप एक वर्षका लागि चालक थप्न नपाउने कानुन पारित भएको छ। यसले यो पेसामा लाग्ने चालकका लागि खुसी बनाएको छ भने नयाँ चालक बन्ने नेपालीलगायत अन्य मुलुकका मानिस एक वर्ष चालक बन्न पाउने छैनन्।

नेपाली कति ?

वाग्लेजस्तै करिब पाँच हजारभन्दा बढी नेपालीले न्युयोर्क सिटीमा ट्याक्सी चलाउने प्रारम्भिक अनुमान छ। संख्यात्मक हिसाबले अहिले विशेषतः न्युयोर्क राज्यमा ट्याक्सी चलाउने नेपालीको संख्या दिनानुदिन बढ्दो छ। तीन वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउँदै आएका जगबहादुर गुरुङ भन्छन्, ‘उबर नहुँदो हो त यो एनआरएन र विभिन्न संघसंस्थाका नेताको के हालत हुँदो हो ? ’

 कति कमाइ ?

करिब २० देखि ५० हजार डलरसम्म खर्च गरेर सवारी खरिद गर्नुपर्ने अनि मासिक पाँच सयदेखि हजार डलरसम्म किस्ता, दैनिक २० देखि ४० डलरसम्मको तेल, सरकारले टनेलमा लिने टोललगायतका खर्च कटाएर महिनाको दुई हजारदेखि पाँच हजार डलर पनि बचत गर्न सक्ने चालकहरूको भनाइ छ। भाडामा सवारी लिने हो भने सवारीको प्रकृति हरेर हप्तामा चार सयदेखि ६ सय डलरसम्म भाडा तिर्नुपर्ने हुन्छ। अहिले अधिकांश नेपालीले आफ्नै सवारीलाई ट्याक्सी बनाएर चलाउने गरेको पाइन्छ।

 राज्यलाई तिर्नुपर्ने कर

अमेरिकामा मुख्य आम्दानीको स्रोत जनताबाट लिइने कर हो। यहाँ रहेका नेपालीलगायत विश्वभरबाट आएका मानिसलाई पनि यहाँका नागरिकसरह व्यवहार गरिन्छ, सेवासुविधा दिइन्छ भने कर पनि सोहीअनुसार लिइन्छ। ट्याक्सी चालकले गरेको कमाइबाट टोल, तेल, सवारी भाडा या मासिक किस्ता, गाडी धुने खर्चलगायतका विभिन्न शीर्षकमा हुने खर्च वर्षको अन्तिममा घटाउन पाइन्छ। यस्ता शीर्षकमा हुने खर्च कटाएर मेहनती ट्याक्सी चालकले अमेरिकामा वार्षिक ४० लाखदेखि ७० लाख नेपाली रुपैयाँबराबर बचत गर्ने गरेको पाइन्छ। तनहुँका धु्रव वाग्लेले सन् २०१८ मा एक लाख ३० हजार डलर कमाइ गरेको बताए।

 कसरी बनिन्छ चालक

न्युयोर्क राज्यमा ट्याक्सी चलाउनका लागि यहाँको राज्यले छुट्टै लाइसेन्स निकाल्नुपर्ने नियम बनाएको छ, जसलाई ह्याक लाइसेन्स भन्निछ। यो लाइसेन्स निकाल्न सुरुमा नियमित डी क्लासको सवारी चालक अनुमति पत्रलाई डीएमभीमा गएर क्लास ई अर्थात् कमर्सियल लाइसेन्स बनाउनुपर्छ करिब ४५ डलर खर्च गरेर। त्यसपछि टीएलसी अर्थात् ट्याक्सी नियन्त्रण गर्ने कार्यालयमा पुगेर निवेदन दिनुपर्छ करिब २६० डलर खर्च गरेर।

त्यसपछि प्रक्रिया सुरु हुन्छ ट्याक्सी चालक बन्ने। टीएलसीले दिने निर्देशनअनुसार तीन दिन क्याम्पस गएर अध्ययन गर्नुपर्छ। २४ घन्टाको कोर्स, मद्यपान, पिसाब परीक्षणजस्ता प्रक्रिया पास गरेपछि टीएलसी लाइसेन्स निस्कन्छ। यस्तो नियम भने न्युयोर्क राज्यका लागि मात्र हो। अन्य राज्यमा ट्याक्सी चलाउन एप बेस कम्पनीमा गएर निवेदन दिँदा हुन्छ।

न्युयोर्क राज्यमा भने ट्याक्सी चालकले लाइसेन्स निकालेपछि पनि ग्राहक र चालकका लागि छुट्टै बिमा गर्नुपर्छ, जसको खर्च अलिक बढी हुन्छ। आफ्नो सवारी छ भने चालकले कम्तीमा एक हजार डलर गाडीको किस्ता, बिमाको रकम गरेर खर्च गर्नुपर्ने हुन्छ। भाडामा लिने हो भने चार सयदेखि माथी हप्ताको भाडा तिर्नुपर्ने हुन्छ।

नियमनकारी संस्था

अमेरिकामा कानुन नमान्नुको दोस्रो विकल्प छैन्। तर पनि न्युयोर्क राज्य सरकारले हरेक निकायलाई छुट्टै कानुन र नियमनकारी निकाय बनाएर सञ्चालन गरिरहेको छ। न्युयोर्क राज्यमा सञ्चालन भइरहेका १४ हजारभन्दा बढीको संख्यामा रहेका पहेंलो ट्याक्सी र उबरजस्ता एप बेस कम्पनी गरी करिब एक लाख २० हजारको संख्यामा ट्याक्सीहरू गुड्नछन्। यी ट्याक्सी नियमन गर्न न्युयोर्क राज्यले ट्याक्सी एन्ड लिमोजिन कम्पनी अर्थात् टीएलसी नामको सरकारी निकाय खडा गरेको छ। यो कम्पनीले यस राज्यमा सञ्चालन भइरहेका सबै ट्याक्सी चालक र सवारीको रेकर्ड राख्छ। यसले सबै ट्याक्सी चालक र सवारीबाट कर उठाउँछ। चालक अनुमतिपत्र दिने निकाय डीएमभीले हरेक वर्ष सवारी चालक अनुमति पत्र र सवारी नवीकरणका लागि रकम लिएजस्तै यसले पनि सञ्चालक र राज्यको कर उठाउने काम गर्छ। यसले चालकलाई कारबाही गर्नेसम्मका अधिकार राख्छ। टीएलसीको आफ्नै प्रहरी संगठनसमेत छ। घुमन्ते शैलीका यस्ता प्रहरीले राज्यको कानुन मानेको वा नमानेकोबारे पूर्ण अनुगमन गर्छ।

नेपाली लगानीमा ट्याक्सी कम्पनी

उपर्युक्त नीतिनियम बनाएर चलायो भने विश्व बजारमा व्यापार गर्न सकिन्छ भन्ने उदाहरण उबर नामक ट्याक्सी कम्पनीले प्रमाणित गरिसकेको छ। उबर हाम्रो छिमेकी देश भारतलगायत विश्वका प्रमुख सहरमा उपलब्ध छ। उबर त्यस्तो ठूलो ट्याक्सी कम्पनी हो, जसको आफ्नै एउटा पनि ट्याक्सी छैन।

उबर, लिफ्ट, जुनो, भियाजस्तै नेपाली लगानीमा अमेरिकाको न्युयोर्कमा लुक्सो नामको एप बेस ट्याक्सी कम्पनी पनि छ। लुक्सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक जयश श्रेष्ठले अहिले न्युयोर्कमा केन्द्रित भए पनि टेक्सासमा पनि सञ्चालनका लागि अनुमति लिइसकेको बताए।

नेपाललाई फाइदा

विश्वभर छरिएर रहेका नेपालीले उन्नति र प्रगति गर्नु आफैंमा सुखद पक्ष हो। यसैगरी विभिन्न कारणले अमेरिका पुगेका अधिकांश नेपालीले नेपालमै सम्पत्ति जोडेको वा लगानी गरेको देखिन्छ। ग्रिनकार्ड होल्डर र प्रक्रिया पूरा भएपछि यहाँको नागरिकता लिएका हरेकले नेपालमा लगानी गरिरहेका छन्। यहाँ घर गाडी किन्ने र व्यवसायमा समेत लागिरहेका नेपालीले समेत भविष्यमा नेपाल फर्कने मनसायका साथ नेपालमा घरजग्गा र अन्य क्षेत्रमा लगानी गरेको पाइन्छ। यसले नागरिक समृद्ध भए देश समृद्ध हुन्छ भन्ने भनाइलाई सार्थकता प्रदान गरेको छ।

हरेक पेसा व्यवसायलाई उच्च सम्मानका साथ हर्नुु अमेरिकाको सबैभन्दा सुन्दर पक्ष हो। यहाँ हामीले मान्ने गरेको डाक्टर, पाइलटजस्ता उच्च मर्यादित पदमा रहेकाहरूले समेत सामान्य प्रकृतिका काम गर्ने मानिसलाई सम्मान गर्छन्। सबै पेसा व्यवसायलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने हो भने राज्य र नागिरक दुवैलाई मनग्गे फाइदा हुन्छ भन्ने अमेरिकी सरकारले प्रमाणित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.