पम्पको सिल तोडेर ठगी
बिर्तामोड : डिजेल तथा पेट्रोलको मिटरमा लगाएको सिल तोड्ने एक पम्पमा गुणस्तर तथा नापतौल कार्यालयले कारबाही अघि बढाएको छ। बिर्तामोडस्थित अदुवाखोला छेउमा रहेको गणेश पेट्रोल पम्पमा शुक्रबार सिल गरिएको हो।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले मिटरमा जडान गरेको सिल तोडेर पम्प सञ्चालकले मिटर बिगारी नक्कली सिल हालेको पाइएपछि पम्पलाई नै सिल गरेर कारबाही अघि बढाइएको गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले बताए। हरेक पम्पको मिटरमा नापतौलमा तलमाथि नहोस् भनेर कार्यालयले सिल राख्ने गरेको छ। ‘नापतौल कार्यालयले लगाएको सिल गणेश पम्पको मिटरमा थिएन’, प्रमुख ओझाले भने, ‘पम्पका अन्य ठाउँमा भएका सिल पनि अनुसन्धानका लागि हामीले संकलन गरेका छौं।’
काठमाडौंको मैतिदेवी पेट्रोल पम्पमा सञ्चालकले नक्कली सिल लगाइ उपभोक्ता ठगेको पाइएपछि त्यस्तै आशंकामा गणेश पम्पमा अनुगमन गरिएको बताइएको छ। गणेश पम्पका सञ्चालक अमित अग्रवाल र मैतिदेवीका पम्प सञ्चालक नातेदार ह्ुन्। ती दुवै पम्पका सञ्चालक एउटै व्यक्ति रहेको गुणस्तर तथा नापतौल विभागको सूचनाका आधारमा अनुगमन गरिएको जनाइएको छ। गणेश पम्पले नापतौलको सिल तोडेर डिजेल तथा पेट्रोलको तौलमा ठगी गर्ने गरेको उपभोक्ताले बारम्बार गुनासो समेत गर्ने गरेका थिए।
अनुगमनको समयमा गुणस्तर भने नहेरिएको आयल निगम चारआली डिपोका प्रमुख सोनम कार्कीले बताए। ‘पम्प नै बन्द गराइएपछि गुणस्तर हेर्नु जरुरी भएन’, उनले भने। उक्त विषयमा अनुसन्धान जारी रहेको उनको भनाइ छ। गुणस्तर तथा नापतौल प्रमुख ओझाका अनुसार कसुरअनुसार मुद्दा अदालतमा समेत दायर हुन सक्छ। त्यसको निर्णय भने विभागले गर्ने बताइएको छ।
पेट्रोल पम्पहरूले गुणस्तर तथा नापतौल कार्यालयका सिल तोड्ने र नक्कली सिल लगाउने गरेर उपभोक्ता ठगी रहेको सूचनाको आधारमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत झापाका पम्पमा विशेष अनुसन्धान गरिरहेको बताइएको छ।
गणेश पम्पले एसेम्ब्लीको तल्लो भागमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले सिल राखेको मुचुल्कामा उल्लेख गरिएको छ। तर, अनुगमनमा त्यहाँ सिल नदेखिएपछि पम्प सञ्चालकको नियतमा शंका गरिएको कार्यालयले जनाएको छ। नापतौल ऐन २०२५ दफा ३० (३) तथा ३० (१) बमोजिम कारबाही भए जरिवाना र तीन वर्षसम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ।