नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन
बैतडी : नेपाल विद्यार्थी संघ बैतडीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ। बैतडीको पाटन चौराहमा नेविसंघसँग आवद्ध विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतको आडमा पारित गरेको, निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताए।
उनले भने ‘दुईतिहाइको सरकारले जनताका अपेक्षा अनुसार काम गरेको छैन। बहुमत दम्भले नागरिकका हित विपरीत सरकारले काम गरिरहेको छ। महंगी र भ्रष्टाचार बढ्दै गएको छ। त्यसैले सरकारलाई सचेत गराउन हामीले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हौं।’

निर्मला पन्तको हत्या भएको सात महिना बितिसक्दा समेत सरकारले दोषी पत्ता नलगाएको भन्दै नेविसंघले आक्रोशसमेत पोखेको छ। गृहमन्त्री रामबहादुर थापाको छोराको पनि डिएन्ए टेस्ट गर्नुपर्ने आफूहरुको माग रहेको नेविसंघका अध्यक्ष केसीले बताए।
ट्रान्सपरेन्सी इन्टरनेश्नलले हालै सार्वजनिक गरेको विवरण अनुसार नेपाल दक्षिण एसियामा भ्रष्टाचार बढी हुने देश मध्ये तेश्रो नम्बरमा परेकाले यसमा सरकार जिम्मेवार रहेको नेविसंघको आरोप छ। ‘अहिले देशमा संस्थागत हिसावले भ्रष्टाचार बढ्दै गएको छ। यसबारेमा सरकारलाई हामीले सचेत गराउने कार्यक्रम अन्तर्गत पुत्ला दहन गरेका हौं।’ नेविसंघका दशरथचन्द नगरपालिकाका अध्यक्ष अमरबहादुर टेरले भने, ‘सरकारले जनविरोधी काम गरिरहेकाले हामी निरन्तर खबरदारी गरिरहने छौं।’

प्रतिक्रिया दिनुहोस !