अवसरले मात्रै सफलता हात लाग्दैन

अवसरले मात्रै सफलता हात लाग्दैन

आफ्नो लागि मात्र जिउनु बेकार रहेछ। जीवनलाई अर्थपूर्ण बनाउन अरूको उपकार पनि गर्नुपर्छ। त्यसकारण छोटो समयमै केही राम्रो काम गरिहाल्नु पर्छ।


मेरो जन्म २००३ साल फागुन २८ गते मंगलबारका दिन पूर्व १ नम्बर काभे्रपलाञ्चोकको खरेलथोकमा भएको हो। सूर्योदयको बेलामा जन्म भएको भनेर मेरो चिनामा लेखिएको छ। मेरी आमा परलोक हुँदा म पाँच वर्षको थिएँ। बिरामी भएर ओछ्यानमा पल्टिएको आमाको आकृति मात्रै कताकता सम्झिन्छु। त्यसबेला फोटो खिच्ने चलन नभएका होला तस्बिरमा समेत आमाको अनुहार हेर्न पाइनँ। आमा खस्दा बुवा ३७ वर्षको मात्रै हुनुहुन्थ्यो। बुवालाई अर्को विवाह गर्न पारिवारिक र सामाजिक दबाब थियो। तर उहाँले विवाह गर्नुभएन। बरु हामी सन्तानको भविष्यका निम्ति चनाखो हुनुभयो।

हाम्रो परिवार खातापिता भएकाले कुनै कुराको अभाव भएन। मधेसको राजविराजमा पनि हाम्रो जमिनदारी थियो। बुवाले हामीलाई पढाउनकै लागि २०१२ सालमै काठमाडौंको धोबीधारामा घर किन्नु भएको थियो। डेढ रोपनी जमिनसमेत भएको घरलाई १५ हजार रुपैयाँ परेको थियो। त्यसअघि नै ठुूलोबुवाको काठमाडौंमा घर थियो।

पलाञ्चोकमा सरस्वती पूजाको अवसर पारेर मेरो अक्षरारम्भ भयो। हामी काठको पाटीमा धुलो चालेर निगालाको कलमले लेख्थ्यौं। पछि नेपाली कागजको चलन आयो। घरबाट करिब २० मिनेटको दूरीमा पर्ने जोगीथुम्का भन्ने ठाउँमा स्कुल थियो। म त्यही पढ्न थालेँ। काठमाडौंबाट समेत शिक्षक लैजाने चलन थियो। बनेपाका शिक्षक पञ्चकृष्ण हाम्रै घरमा बस्नुहुन्थ्यो। मधेस गएका बेला उतैका विद्यालयमा पढिन्थ्यो। हाम्रा घरमा रेडियो उतिबेलै थियो। गाउँघरका मानिस राजाको भाषण सुन्न आँगनभरि भेला हुन्थे। बुवालाई यसरी मान्छे भेला हुँदा बडो आनन्द लाग्थ्यो।

म कक्षा ४ मा पढ्न काठमाडौं आएँ। यादव दाइले पद्मोदय हाइस्कुलमा भर्ना गरिदिनुभयो। उहाँ पनि त्यहीँ माथिल्लो कक्षामा पढ्नुहुन्थ्यो। त्यतिबेला हामी ज्ञानेश्वरस्थित ठूलोबुवाको घरमा बस्थ्यौं। दाइले मलाई कक्षामा हुलेर आफू पनि कक्षामा छिर्नुभयो। सानो कक्षा भएकाले हाम्रो छिटै छुट्टी भयो। दाजुको कक्षामा ढोका लगाइएको थियो। छुट्टी भइसकेछ भन्ने ठानेर म डिल्लीबजारको बाटो भएर घरतिर लागेँ।

मैले बाटो भलेछु। मैतीदेवीमा दाजुका साथी भेटिए। उनलाई बाटो सोधेँ तर हराएको कुरा भनिनँ। ज्ञानेश्वरको चौबाटामा पुगेर ‘सुब्बाको घर कुन हो’ भनेर सोधेँ। मानिसहरूले चारतिर देखाइदिए। त्यो टोलमा ठूलोबुवा जस्ता सुब्बाको घर धेरै रहेछन्। सबै तिर जान्छु भन्ने सोचेँ। घर नजिकै नास्पातीका रूख र बरण्डामा पाकेका फर्सी राखिएको सम्झिएँ। संयोगले अलिकति हिँडेपछि घरमै पुगेँछु। दाजु मलाई खोज्दै राति ८ बजे मात्रै घर आउनुभयो। पहिलो दिनमै हराएको भए कता जान्थेँ होला भन्ने लागिरहन्छ। त्यसबेला अहिले जस्तो फोनको सुविधा पनि थिएन।

हामी सानो छँदा शिक्षकले समेत अभिभावकत्व ग्रहण गर्थे। त्यतिमात्र होइन टोलका आफूभन्दा ठूला सबैले सानाको ख्याल गर्थे। मान्छेको घुइँचो पनि आजजस्तो थिएन। धेरैलाई चिन्न सजिलो थियो। केटाकेटीले नराम्रो काम गरेको, खराब संंगतमा लागेको देख्दा सम्झाउँथे। एकपटक यादव दाइले रामदाइलाई चुरोट खाइस् भनेर पिट्नुभयो। त्रिचन्द्र कलेजका शिक्षक मित्रनाथ देवकोटाले उहाँलाई सुनाइदिनुभएको रहेछ।

मैले २०१९ सालमा एसएलसी गरेँ। अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेँ। छात्रवृत्ति नपाएर बाहिर पढ्न जान रोकिएको थियो। पाइलट पढ्न जानको लागि दिएको अन्तरवार्ताको रिजल्ट नै भएन। त्यसबेला १२ जना पाइलट हुँदा जहाजको संख्या ६ वटा मात्रै भएकाले रोकिएको रहेछ।। त्रिचन्द्र कलेजबाट बीएस्सी गरेँ। सेनामा दरखास्त दिँदा पनि नाम निस्किएन।

एमएस्सी पढ्न सुरु गरेकै बेला रसियामा छात्रवृत्ति पाएँ। यता इन्सपेक्टर पनि खुल्यो। दाजुले सात वर्ष लगाएर इन्जिनियरिङ गर्नुभन्दा इन्सपेक्टरमा भिड्न सल्लाह दिनुभयो। मैले दरखास्त दिएँ। त्यसबेला भनसुनको चलन थिएन। म पास भएछु। खासै खुसी पनि लागेन। किनभने मलाई अभाव थाहा थिएन। तर मेरो धेरै चर्चा भयो। २०२७ सालमा इन्सपेक्टर हुँदा मेरो तलब चार सय १५ थियो। हाम्रो परिवारलाई खर्च गरेर एक सय बढी उब्रिन्थ्यो। त्यसबेला चाँदीको मूल्य १० रुपैयाँ तोलामात्रै थियो।

मधेसको खेतीमा गएका बेला बेग्लै रौनक हुन्थ्यो। हामी थानकोटसम्म लरीमा जान्थ्यौं। त्यसपछि हिँडेर कुलेखानीको बाटो हुँदै रक्सौेल पुग्थ्यौं। रेल चढेर दरभंगामा ओर्लन्थ्यौं। त्यहाँबाट बयलगाडामा जान्थ्यौं। ठूला जमिनदारहरूले कहिलेकाहीँ हात्ती पनि पठाइदिन्थे। हात्तीमा चढ्दाको रमाइलोे शब्दमा वर्णन पनि सकिँदैन। मधेसमा घुर तापेको, महिना दिनसम्म दाइँ गरेको, रातभर भजन कीर्तन गरेको याद आइरहन्छ। त्यसबेला त्यहाँ पुरुष मात्रै भजनमा सहभागी हुन्थे। पोखरीमा माछा मारेको सम्झना पनि ताजै छ।

सानैदेखि मेरो खेलमा रुचि थियो। पुलिसमा फुटबल पनि खेल्न पाइन्छ भन्ने कुराले मलाई पनि तानेको थियो। हामी गाउँमा भोगटे खेल्थ्यौंंं। पछि फुटबलबाट नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पाएँ। हामीले जापान, थाइल्यान्डलगायतका देशमा खेल खेल्यौं। म क्याप्टेन हुँदा टिममा सबैभन्दा कम उमेरको थिएँ।

अवसर पाएर मात्रै सफलता हात लाग्दैन। त्यस्तै मेहनतबिनाको सफलता पनि दिगो हुँदैन। परि श्रम र इमानदारिताले मात्रै माथि पुगिन्छ। आफ्नो लागि मात्र जिउनु बेकार रहेछ। जीवनलाई अर्थपूर्ण बनाउन अरूको उपकार पनि गर्नुपर्छ। त्यसकारण छोटो समयमै केही राम्रो काम गरिहाल्नु पर्छ।

(पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.