क्यान्सरलाई चुनौती !
डाक्टरले विष्णुमायाको तीन महिना आयु तोकेको थियो, तर दुई वर्षदेखि उनी तन्दुरुस्तै छिन् ।
भरतपुर : चितवनकी विष्णुमाया खरेल पेसाले चिकित्सक हुन्। बिरामीहरूको दाँत उपचारमा उनी हरेक दिन खटिरहेकै हुन्छिन्। तर, उनी आफै क्यान्सर पीडित छिन्, अन्तिम स्टेज भनिएको क्यान्सरसँग दुई वर्षदेखि जुधिरहेकी छिन्।
डिम्बासयमा क्यान्सर लागेको थाहा पाएपछि विष्णुमाया खरेलले दिल्लीको बीएलके अस्पतालमा देखाइन्। जब डाक्टरले त्यहाँ उनको आयु तीन महिना तोकिदिए, परिवार पूरै हतास र निराश हुन पुग्यो। त्यो घोषणाको सामना आफैमा भयंकर पीडादायी क्षण थियो।
‘पेटमा ११ हप्ताको बच्चा र अन्तिम स्टेजको क्यान्सर भएको एकैपटक थाहा भयो’, डा. विष्णुमाया खरेलले भनिन्, ‘छोरा खेल्ने क्रममा आफ्नो पेटमा लाग्दा दुखाईको पीडा सहन नसकेपछि परीक्षण गराउँदा क्यान्सर भएको थाहा भयो।’
श्रीमान र सानो छोरासँगै हाँसीखुसी जीवन बिताएकी उनी डाक्टरको घोषणापछि जीवन सकियो भनेर हार खाइन्। पछि जापानमा रहेको युर्निर्भसिटी अफ हिरोसिमामा पनि परीक्षण गराइन्। त्यहाँका चिकित्सकले एक वर्षको आयु तोकेका थिए। क्यान्सर लागेको दुई वर्ष बितिसक्यो। तर उनको तन्दुरुस्ती र फुर्तीमा कुनै कमी छैन। ‘बरु साहस र हिम्मत बढेको छ’, खरेलले भनिन्, ‘दुई वर्षदेखि क्यान्सरसँग लड्दै छु, मेरो दैनिकीमा कुनै फेरबदल छैन।’
उनले बिरामीको उपचारमा हुने सक्रियतामा पनि कुनै कमी हुन दिएकी छैनन्। ‘सुरुमा अन्तिम स्टेजको क्यान्सर भन्ने थाहा पाउँदा जीवनै सकिएको जस्तो लागेको थियो’, खरेलले भनिन्, ‘सुरुमा जेठ महिना मात्रै बाँच्ने भनेपछि सानो छोरा र श्रीमान सम्झेर निकै रोएँ। अहिलेसम्मको अवस्था हेर्दा डाक्टरको अध्ययन र अनुसन्धान नै पुरानो भयोजस्तो लाग्छ।’
उनी अहिले आफ्नै संचालनमा रहेको एलाईभ हस्पिटल एन्ड ट्रमा सेन्टरको व्यवस्थापनमा र त्यहाँ आउने दन्त रोगीको उपचारमा दिनचर्या बिताउँछिन्। उनलाई देख्नेहरू चकित पर्छन्। बिरामीको उपचारमा उत्तिकै सक्रियता छ सामाजिक संघसंस्थामा पनि उनको सक्रियता बढेको छ। क्यान्सर रोगीका लागि उनी परामर्श दिन्छिन्। क्यान्सर लागेर अत्तालिने बिरामीका लागी उनी प्रेरणा बनेकी छिन्।
‘परिवारको साथले मेरो बाँच्ने हिम्मत बढायो। परिवारको सपोर्ट नै मेरो औषधि बन्यो,’ उनले भनिन्, ‘अब त क्यान्सर नै म देखेर हार खाएको छ।’ उनी बिहान ९ बजेअघि नै आफ्नो हस्पिटल पुग्छिन्। दाँतका बिरामीहरूको उपचार गर्छिन्। क्यान्सर बिर्सेर हाँसीहाँसी बिरामीको सेवा गर्छिन्।
उनका श्रीमान हाडजोर्नी विशेषज्ञ डा.प्रमोद लामिछाने श्रीमतीको साथ छोड्दैनन्। हरेक समय उनीहरू सँगै हुन्छन्। रोग लागेको सुन्नेबित्तिकै आमा क्षेत्रकुमारी खरेल छोरीको हेरचाहका लागि सँगै छिन्। ‘आफैले पढेको रोग आफैलाई पर्दा हुने पीडाको बयान गर्नै सक्दिनँ, सुरुमा थाहा पाँउदा छाँगाबाट खसेझैं भयो,’ डा. लामिछानेले भने, ‘भर्खरको उमेरमा त्यस्तो हुँदा संसार रित्तिएझैं भयो।’
उनले गत वर्ष ६ चरणको किमोथेरापी चढाइन्। अहिले फेरि मंसिरबाट किमोथेरापी चढाउन लागेकी छन्। ३५ वर्षीय खरेलले २०६३ सालमा डेन्टलमा बीडीएस गरिन्। ११ वर्षदेखि उनी बिरामीको सेवामा सक्रिय छिन्। २०६८ सालदेखि उनी ट्रमा सेन्टरमा दन्त चिकित्सक छिन्। ‘भगवानमा विश्वास गर्छु। त्यसैले सोचेको होइन, लेखेको भोग्न कसैले रोक्दैन,’ डा. खरेलले भनिन्, ‘आत्मबल दरो बनाएकै कारण बाँचेको छु।’