निषेधित क्षेत्र तोकिएपछि रुकुमकोटमा प्रशासनको कडाई

निषेधित क्षेत्र तोकिएपछि रुकुमकोटमा प्रशासनको कडाई

रुकुम पूर्व : जिल्लाको स्थायी जिल्ला सदरमुकाम रुकुमकोट कि गोल्खाडा भन्ने बिषयमा विवाद बढ्दै जाँदा रुकुमकोट केहि दिनदेखि अशान्त बनेको छ। रुकुमकोटको पक्षमा प्रदर्शन भइरहेका बेला गोल्खाडाको पक्षधर पनि रुकुमकोटमै प्रदर्शन गर्न थालेपछि स्थानीय सरकारले आइतबार बेलुका ७ बजेदेखि निषेधित तोकेको थियो। निषेधित क्षेत्र तोकिएको चार किल्लाभित्र नाका–नाकामा स्थानीय प्रशासनले कडाई गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

गत वर्ष २०७४ माघ ११ गते तत्कालिन शेरबहादुर देउवा सरकारले हालको अस्थायी सदरमुकाम रुकुमकोटबाट स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका १२, गोल्खाडामा राख्ने निर्णय गरेपछि रुकुमकोट र आसपासका जनता आन्दोलित भएका थिए। सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत दायर गरिएको थियो। विगत एक बर्षमा पटक–पटक रिटको पेसी सर्दै आएर यहि माघ २७ गते उक्त पेसीमा बहस हुने बताइएको छ। सर्वोच्चको उक्त बहसलाई आ-आफ्नो पक्षमा पार्न रुकुमकोट र गोल्खाडाका स्थानीय छुट्टाछुट्टै प्रदर्शनमा उत्रिएका छन्। मंगलबार गोल्खाडाको पक्षमा रहेका सर्वसाधारणले पनि रुकुमकोटमा आएर प्रदर्शन गर्ने बताएपछि आन्दोलनकारी बिच मुडभेड हुनसक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको थियो।

निषेधित क्षेत्रभित्र अर्को आदेश नभएसम्मका लागि कुनैपनि भेला, विरोध प्रदर्शन, सभा, जुलुस गर्न बन्देज लगाईएको छ। स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडाई गरेको जनाएको छ। प्रजिअ शर्माकाअनुसार बजार क्षेत्रमा हुने विभिन्न गतिविधिमाथि निगरानी बढाउनुका साथै जिल्लाको आवागमनलाई पनि कडा पारिएको छ। चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको र शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले गरिरहेको प्रयासलाई सहयोग गर्न पनि प्रजिअ शर्माले आग्रह गरेका छन्। 

निषेधित क्षेत्र तोकिएपछि नियमित जस्तो नारा, जुलुस र अन्य आन्दोलनका कार्यक्रम स्थानीय प्रशासनको अनुरोधमा स्थगित गरेको रुकुमकोट सदरमुकाम संघर्ष समतिका संयोजक नन्दलाल शर्माले जानकारी दिए। यातायात र बजार बन्द गरेर आन्दोलनमा उत्रिएका रुकुमकोट पक्षधरको आन्दोलन यतिबेला केही मथ्थर भएको भएपनि उनीहरुले शान्तिपूर्ण तरिकाले आफ्नो माग राख्न पाउने लोकतान्त्रिक अधिकारलाई कसैले रोक्न नसक्ने बताईरहेका छन्। 

उता मंगलबार रुकुमकोटमा नै आएर गोल्खाडाको पक्षमा प्रदर्शन गर्ने बताएका गोल्खाडा पक्षधर आन्दोलनकारी पनि स्थानीय प्रशासनको निषेधाज्ञापछि पछि केही पछि हटेका छन्। गोल्खाडा सदरमुकाम स्थापना सरोकार समितिका सदस्य ध्रुब पुनकाअनुसार समितिले २२ गते रुकमुकोट आउने कार्यक्रम गरेर गोल्खाडामा केन्द्रित भएर प्रदर्शन गर्ने पुनले बताए। सरकारले तोकिसकेको जिल्लाको स्थायी र आधिकारीक सदरमुकाम गोल्खाडा नै भएको भन्दै पुनले आफहरुको रुकुमकोट आउने अन्तिम तयारी भएपनि स्थानीय प्रशासन र रुकुमकोटबासीले आफुहरुलाई आउन नदिएको आरोप लगाए। ‘प्रशासन र रुकुमकोटबासी मिलेर हाम्रो लोकतान्त्रिक अधिकारमाथि बन्देज लगाउन खोजियो।’ उनले भने, ‘हामीले शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउनुपर्छ भन्दा हामीलाई सरकारका प्रतिनिधि बसेको रुकुमकोटमा आउन दिइएन तर हामी अब गोल्खाडा नै केन्द्रित भएर बृहत प्रदर्शन गर्छौ।’

प्रशासनले निषेधित क्षेत्र तोकेपछि तत्काललाई यहाँको अवस्था केही शान्त देखिएको भएपनि सर्वसाधारणलाई भने नियमित कामकाज गर्न गाह्रो भएको छ। अवस्था सामान्य भएपछि निषेधाज्ञा फिर्ता हुने बताएका प्रजिअ शर्माले माघ २७ सम्म यो आदेश कायम हुनसक्ने जनाउ दिएका छन्। 

देश संघियतामा गएपछि साविक रुकुम जिल्लाबाट रुकुम पूर्व छुट्टै जिल्लाका रुपमा कायम भएको थियो। तीन गाउँपालिका रहेको यस जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटबाट नै अहिले सदरमुकामको सम्पूर्ण काम भइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.