रामेछाप सिभिल च्याम्पियनसिप भलिबल : आज लिग चरणका चार खेल
रामेछाप : सदरमुकाम मन्थलीमा जारी रामेछाप सिभिल च्याम्पियनसिप भलिबलको दोस्रो दिन लिग चरणका चार खेल हुने भएका छन्। जिल्ला खेलकुद विकास समिति रामेछापले सार्वजनिक गरेको तालिकाअनुसार आज लिगको पहिलो चरणअन्तर्गत ४ खेल हुने जनाएको छ।
बिहान ९ बजेबाट सुरु हुने आजको पहिलो खेल प्रदेश नम्बर ३ र गण्डकी प्रदेश, दोस्रो खेल प्रदेश नम्बर २ र नमुना दीप युवा क्लब रामेछापबीच हुने आयोजकले जानकारी दिएको छ। त्यसैगरी तेस्रो खेल शान्तिदीप युवा क्लब रामेछाप र प्याराडाइज युवा क्लब रामेछाप, र चौथो खेल सुदूरपश्चिम र गण्डकी प्रदेश भलिबल संघबीच हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।
उद्घाटनको पहिलो दिन लिग चरणका दुई खेल भएका थिए। मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको थियो। त्यसैगरी दोस्रो खेलमा प्रदेश नम्बर ३ ले सुदरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले हराएको जिल्ला खेलकुद विकास समिति रामेछापका सदस्य सीताराम कार्कीले जानकारी दिए ।
लिग कम नक आउटबाट खेलाइने उक्त प्रतियोगितामा प्रदेश नं १,२,३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भलिबल संघको सहभागिता रहेको छ। त्यसैगरी स्थानीय नमुनादीप युवा क्लब, शान्तिदीप युवा क्लब र प्याराडाइज युथ क्लबररामेछापको टीम सहभागी भएका छन्।
चौथो संस्करणको रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता/ सिभिल च्याम्पियनसिपमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त गर्ने छन्।
खेल अन्तर्राष्ट्रिय क्यान्डिडेट रेफ्रि कूलबहादुर राणा लगायतको टीमले खेलाइरहेको छ । खेलको उद्घाटन पूर्व गृहराज्यमन्त्री एवम् प्रतिनिधी सभा सदस्य श्यामकुमार श्रेष्ठ ' कुशल'ले गरेका थिए।