पूर्ण क्षमतामा उदयपुर सिमेन्ट

पूर्ण क्षमतामा उदयपुर सिमेन्ट

गाईघाट : मर्मतसम्भार र व्यवस्थापकीय सुधारसँगै मुलुककै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगले शतप्रतिशत उत्पादन गर्न थालेको छ। उत्पादन सुरु गरेको २६ वर्षपछि उद्योगले पहिलोपटक ‘फुल फेज’मा उत्पादन गर्न थालेको हो।

जापान सरकारले स्थापना गरेको उद्योगको क्षमता २४ घण्टामा आठ सय मेट्रिक टन छ। दैनिक २२ घण्टासम्म विद्युत् आपूर्ति भए पूरै क्षमतामा सुचारु गर्न कुनै समस्या नरहेको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए। विद्युत् आपूर्तिमा समस्या नभए २४ घण्टामा नौ सय मेट्रिक टन उत्पादन गर्न सकिने उनको भनाइ छ।

‘अहिले दैनिक तीन÷चार घण्टा जति लोडसेडिङ हुन्छ। यसले दैनिक नौ सय मेट्रिक टन उत्पादनमा बाधा गरिरहेको छ’, साहले भने, ‘त्यही पनि शतप्रतिशत उत्पादन हुन थालेको छ। औपचारिकरूपमा लोडसेडिङ नभए पनि बेलामौकामा विद्युत् कटौती हुँदा समस्या आइरहेको छ।’ उनले विद्युत्लाई नियमित बनाउने हो भने सिमेन्ट उत्पादनमा कुनै समस्या नआउने बताए। विगतमा उद्योगको मुख्य मेसिन (गियर) मा बारम्बार समस्या आउने गरेकोमा अहिले त्यो मेसिन परिवर्तन गरेर चलाउने गरिएको उद्योग प्रशासनले जनाएको छ।

‘दक्ष जनशक्तिसँगै नयाँ गियर मेसिन जडान गरेर काम थालिएको छ। अन्य मेसिन पनि मर्मतसम्भार गरेर प्रयोगमा ल्याइएको छ’, निमित्त महाप्रबन्धक साहले भने, ‘विद्युत्को थोरै समस्याबाहेक अन्य कुनै कुराले पनि सिमेन्ट उत्पादनमा बाधा पुर्‍याएको छैन। यो समस्याको हल भइदिए पुरानो इतिहासलाई जोगाउँदै नयाँ रेकर्ड कायम गरिने थियो।’ उनका अनुसार बिक्रीमा पनि थोरै समस्या छ। लोड गर्ने बेलामा लाइन नहुने, इन्भ्वाइस काटेर पनि ट्रक त्यतिकै बस्नुपर्नेलगायत समस्या रहेको उनले बताए।

२०४९ साल मंसिरदेखि उत्पादन सुरु गरेको उद्योगले यो वर्ष उत्पादनमा ठूलो फड्को मारेको छ। जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्म सबैभन्दा ठूलो परिमाणमा गैडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको उद्योगका नायव महाप्रबन्धक महेश काफ्लेले बताए।

जापान सरकारले हस्तान्तरण गरेपछि पहिलोपटक सबैभन्दा ठूलो परिमाणमा गैडाछाप सिमेन्ट उत्पादन भएको छ।

तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले गत असोजदेखि कात्तिकको पहिलो सातासम्म स्वदेश मात्र नभई विदेशी विज्ञसमेत झिकाई उद्योगको मर्मत कार्य सुरु गरेका थिए।

मर्मतका क्रममा उद्योगको मुख्य भाग मानिने क्लिंकर (कच्चापदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको उद्योगका मेकानिकल विभागका प्रमुख टीका कुँवरले बताए। उनका अनुसार धेरै सामान खिइएर कामै नलाग्ने र केही टुटेर उद्योग बन्द हुने अवस्था आएपछि २५ दिन लगाएर मर्मत गरिएको हो। ‘पाँच दशमलव एक मिटर भट्टी ( क्लिंकर) नै परिवर्तन गरिएको छ। धेरै पुरानो भएका पार्टपूर्जा मर्मत र परिवर्तन गर्नुपर्‍यो’, उनले भने, ‘उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादनसमेत थालिएको छ। यसले राम्रो प्रतिफल दिन थालेको छ।’ मर्मतपछि उद्योगमा नयाँपन आउनुकासाथै उत्पादन समेत बढेको उनले बताए।

उद्योगबाट निस्कने धुलो धुँवाले उर्वर खेती नष्ट भएको, छेउछाउमा बस्न नसकेको भन्दै स्थानीयले आवाज उठाइरहेका बेला उद्योगले धुँवा धुलो नियन्त्रणका लागि मेसिन नै राखेको उनको भनाइ छ। दैनिक प्रतिघण्टा दुई टनभन्दा बढी उड्ने धूलो तथा धूँवा पूर्ण नियन्त्रण गरिएको उनले बताए। इलेक्ट्रो स्टारिक पावर (ईएसपी तथा पोलुसन कन्ट्रोल) मेसिन जडानपछि धूँवा नियन्त्रणमा आएको हो।

उद्योगले उत्पादित गैंडाछाप सिमेन्ट बिक्रीका लागि विभिन्न योजना अघि सारेको छ। सञ्चालक समितिको बैठकले सबै गाउँपालिका र नगरपालिकामा आफ्नो उपस्थिति जनाउन एउटा आधिकारिक बिक्रेता खोल्ने तयारी गरेको सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्काले बताए। यसका अलावा देशका ठूला राष्ट्रिय गौरवका आयोजनामा गैंडाछाप सिमेन्ट प्रयोग गर्ने गरी तयारी सुरु गरिएको उनले बताए। सरकारी स्वामित्वमा रहेको सिमेन्ट सबै जनतालाई सहजरूपले पुर्‍याउन उद्योगले यस्तो योजना अघि सारेको जनाएको छ।

अन्य निजी क्षेत्रका उद्योगको तुलनामा सरकारी सिमेन्टको बजार हिस्सा न्यून भएकाले बजारमा यसको सहज पहुँच पुर्‍याउन यस्तो योजना अघि सारिएको उद्योगका बिक्री विभागका प्रमुख रामबहादुर जिसीले बताए। उनका अनुसार बजारमा सरकारी सिमेन्टको हिस्सा पाँच प्रतिशत मात्र छ।

चुनढुंगा पर्याप्त रहेकाले योजना अघि सारिएको व्यवस्थापन पक्षको भनाइ छ। त्रियुगा नगरपालिका १६ सिन्दालीमा खानी क्षेत्र रहेको उद्योगको ७२ मिलियन टन चुनढुंगा स्टकमा छ। जुन दुई सय वर्षका लागि धान्छ। त्यसमध्ये झन्डै २५ वर्षको हाराहारीमा पाँच मिलियन टन खर्च भइसकेको छ। बाँकी ६७ मिलियन टन ठूलो पहाड स्टकमै रहेको निमित्त महाप्रबन्धक साहले बताए।

‘अन्य सिमेन्टका चुनढुंगाभन्दा उदयपुरको राम्रो छ’, उनले भने, ‘त्यसलाई खपत गर्न पनि उत्पादन क्षमता विस्तार गर्न जरुरी छ।’ यहाँको चुनढुंगा सदुपयोग गर्न सरकारी तवरबाट सहयोग हुनुपर्ने बताउँदै साहले क्षमता विस्तारको योजना सफल हुनासाथ मुलुकको ६५ प्रतिशत सिमेन्टको मागलाई सहजै आपूर्ति गराउन सकिन्छ।

२०४४ साल जेठ महिनामा स्थापना भएको उद्योगले २०४९ माघबाट व्यावसायिक उत्पादन सुरु गरेको हो। जापानको वाईसीएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेसन फन्ट) को जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लागानीमा उद्योग स्थापना भएको थियो।

नेपाल सरकारले उद्योगबाट ६ अर्ब ५५ करोड ६२ लाख ऋण उठाउने शर्तमा उद्योग व्यवस्थापन पक्षलाई जिम्मा दिएको थियो। जुन उद्योगले २०४९ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योग २०५१ माघसम्म जापानी प्राविधिकले मात्र सञ्चालन गरेका थिए। २०५१ माघबाट मात्र नेपाली प्राविधिकले उत्पादन गर्न थालेका हुन्। जापानी प्राविधिकले शतप्रतिशत उत्पादन गरेको उद्योग नेपालीको हातमा आएपछि दैनिक ४० देखि ५० प्रतिशत मात्र उत्पादन हुन थालेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.