चीनमा सुँगुर वर्षको स्वागत

चीनमा सुँगुर वर्षको स्वागत

पइचिङ : वसन्त चाडका बेला चीनमा अध्ययन तथा कार्यरत नेपालीको एउटै वाक्य हुन्छ, ‘दशैं अवधिको काठमाडौंको भान हुन्छ, दुई तीन दिन त एकदमै दिक्दारी लाग्छ।’ यतिबेला चीनमा वसन्त चाडको रौनक छ। जताततै राता रंगका लालटिन र यस्तै सजावटले सिँगारिएको छ, चीन। वसन्त चाडसँगै चिनियाँले आफ्नो परम्परागत नयाँ वर्षको स्वागत गर्छन्। माघ २२ गते चिनियाँहरूको नयाँ वर्ष हो। चिनियाँले कुकुर वर्ष बिदा गरी सुँगुर वर्षलाई स्वागत गरेका छन्। यही बेला नेपालमा पनि नयाँ वर्षको रूपमा ल्होसार मनाइयो।

चिनियाँहरूका लागि पौराणिक कथाहरूको पात्रको रूपमा सुँगुर निकै प्रिय छ। हाल चर्चित अंग्रजी कार्टुन ‘पेप्पा पिग’ले पनि चिनियाँको मन जितेको छ र साथै सुँगुुरका मासुका परिकार पनि चिनियाँको दैनिकीसँग जोडिएको छ। त्यसैगरी चिनियाँ अक्षरमा घरपरिवार जनाउने अक्षर वा शब्दमा समेत सुँगुरको अक्षर मि िश्रत छ। हरेक बाह्र वर्षमा एकपटक आउने यी जनावर अंकित चिनियाँ वर्षले नेपाली नामकरण वा अंग्रेजीको जन्म मितिअनुसारको राशिको जस्तै विशेषता बोकेको हुन्छ। यो वर्ष जन्मिने सबै सुँगुुर वर्गमा पर्छन्। यो बाह्र जनावरमा अन्तिम हो र चिनियाँहरू सुँगुरलाई खुसी र सौभाग्यको रूपमा लिन्छन्।

यी बाह्र जनावरको आ–आफ्नै महत्व र विशेषता भए पनि हरेक वर्षको वसन्त चाड भने सधैँ उस्तै राताम्मे हुने गर्छ। बजारहरू चाड नजिकिएसँगै झकिझकाउ र भरिभराउ हुन्छ भने नयाँ वर्षको दिन अघिपछि जताततै शून्य हुन्छ र लगत्तै पर्यटकीय स्थल र पार्कमा मानिसको भीड लाग्ने गर्छ। यसरी चिनियाँले परम्परागत चलनअनुसार नयाँ वर्षभन्दा पनि १५ दिनअघि घरको सरसफाइ गर्दै भान्छादेवको पूजाबाट शुरु गरी चाडलाई खान्की तयार पार्ने, घर सजाउने र नयाँ वर्षको पूर्वसन्ध्यामा सपरिवार बसेर मम खाने, पटाका पड्काउने र देशविदेश भ्रमण गरी नयाँ वर्षपछिको १५ दिनमा रसभरि चाड वा लालटिन पर्वसँगै वसन्त चाडलाई बिदा गर्छन्।

बेइजिङमा काम गर्दै आएका पुजव प्रधान भन्छन्, ‘आफ्नो वरिपरि सबै शून्य हुन्छ अनि अहिले घुम्ने समय पनि होइन जताततै मानवसागर उर्लेको हुन्छ। त्यही भएर म त केही दिन थप बिदा मिलाएर नेपाल फर्कँदै छु।’

यो वसन्त चाड चिनियाँहरूको सबैभन्दा ठूलो चाड हो, यो पारिवारिक पुनःमिलनको पर्व हो। आफ्नो गाउँघर छोडेर कामका लागि गएका अधिकांश चिनियाँ फर्कन्छन्। त्यसैले वसन्त चाडको अवधिलाई विश्वकै सबैभन्दा विशाल मानव स्थानान्तरण पनि भनिन्छ। वसन्त चाडको पन्ध्र दिनअघि माघ ७ गतेबाट शुरु भएको यस यातायात गतिविधि फागुन ७ गतेसम्म चल्ने गर्छ र यो अवधिमा रेलमार्ग, राजमार्ग, जलमार्ग, हवाइमार्गबाट झण्डै तीन करोड चिनियाँले यात्रा गर्नेछन्।

चिनियाँसँग घरजम बसाएका सुवर्ण डंगोल भन्छन् , ‘यो पर्व चिनियाँहरूका लागि नेपालीको दशैं जस्तै हो। सपरिवार बसेर पूर्वसन्ध्याको दिन विशेषत माछा, सँगुरको खुट्टा÷ममचा खाने र नयाँ वर्षको दिन दशैंको टीका थाप्नेजस्तै अग्रज आफन्तकहाँ गई आशीर्वाद लिइन्छ। नेपालमा जस्तै यहाँ रातो खाममा पैसा राखेर दिने चलन छ। रातो खामलाई होङपाओ भनिन्छ।’

ग्रेटवाल, थ्यानमेन जस्ता ऐतिहासिक तथा सांस्कृतिक स्थलमा चिनियाँहरूको भीड हुन्छ। त्यसबाहेक पछिल्लो समय चिनियाँहरूले विदेश भ्रमण पनि खुबै गर्ने गरेका छन्। चिनियाँ अनलाइनटिकट वेबसाइट फ्लिग्गीडटकमका अनुसार यो अवधिमा ४३ प्रतिशत चिनियाँले परिवारसँगै विदेश भ्रमण गर्ने योजना बनाएका छन्। अर्को वेबसाइट सिट्रिपका अनुसार यस अवधिमा ७० लाख चिनियाँहरू नब्बेभन्दा धेरै देशको भ्रमण गर्दै छन्। यसै अवधिमा विश्वविद्यालयमा पनि एक सेमेस्टरको समापनसँगै ३०/४० दिनको बिदा हुन्छ र अध्ययनरत नेपाली विद्यार्थीहरू कोही देश फर्कन्छन् त कोही विदेश यात्रा गर्छन्।

विशेषत वसन्त चाड र बिदाको समयमा घर नफर्कने विद्यार्थीहरूलाई भने होस्टेल र वरिपरिको बजारको शून्यताले न्यास्रो बनाउँछ। यसै बिदाको अवसरलाई नेपाली साथीहरूसँग जमघट गरी खेल्ने, खाने र गफगाफ गरी रमाइलो गरेर मनाउने विचारमा छन्, इन्स्टिच्यूट अफ तिबेतियन प्लाटिउ रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सेजका एसिस्टेन्ट प्रोफेसर डा. उपेन्द्र बराल। ‘चिनियाँ चाड र चालचलनबारेको अनुभव सँगाल्दै छु,’ छिङह्वा विश्वविद्यालयमा अध्ययनरत संगीत संग्रौला भने पहिलोपटकको वसन्त चाड नै चिनियाँ परिवारसँगै मनाउन पाएकोमा खुसी छन्।

थ्येनचीनस्थित नानकाई विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा अध्ययनरत कल्की ढकाल पौड्यालले दशैंतिहारको सम्झना दिलाएको भन्दै चालचलन पनि मिल्दोजुल्दो लागेको बताइन्। ‘पसल, बाटो शून्य छ दशैंको काठमाडौंको सम्झना गराएको छ। बिदाको अवसर पारेर शाङहाई घुम्ने योजनामा छु’, उनले भनिन। यसै क्रममा बेइजिङस्थित पइचिङ यूनाइटेड फेमिली हस्पिटल एण्ड क्लिनिक्समा कार्यरत डा. विकास राईले योपटक बिदा पाएका छन्। विगत पाँच वर्षदेखि लगातार वसन्त चाडमा खटिएका उनी यसपटक भने परिवारसँग रमाइलो गर्ने मुडमा छन्। चीनको ज्वाइँ डा. राई खुसी मान्दै भन्छन्, ‘योपटक त परिवारसँग बसेर मनाउने हो। एकदम खुसी छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.