अमेरिका–इरानबीच ऐतिहासिक सम्झौता

अमेरिका–इरानबीच ऐतिहासिक सम्झौता
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ इस्लामावादमा अमेरिका–इरान शान्ति सम्झौतामा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरिएको समझदारीपत्र देखाउँदै ।
सुन्नुहोस्

वासिङ्टन : लामो समयदेखि जारी युद्ध र नाकाबन्दी अन्त्य गर्दै संयुक्त राज्य अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता भएको छ। पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा तयार पारिएको सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरेका हुन्। यस सम्झौताले अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सञ्चालित युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने लक्ष्य राखेको छ।

सम्झौतामा सबै मोर्चामा तत्काल सैन्य कारबाही रोक्नुपर्ने सर्त भए तापनि इजरायलले यसलाई अस्वीकार गर्दै लेबनानमा आफ्नो आक्रमण र सैन्य उपस्थिति जारी राखेको छ।

सम्झौताका मुख्य सर्तहरूअन्तर्गत इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई पुनः खुला गर्नेछ भने अमेरिकाले इरानमाथि लगाउँदै आएको नौसैनिक नाकाबन्दी हटाउनेछ। समझदारी पत्रको दोस्रो अनुच्छेदमा दुवै देशले एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका छन्।

इरानका राष्ट्रपति पेजेस्कियानले सम्झौतालाई ‘ऐतिहासिक दस्तावेज’ भन्दै जिम्मेवार कूटनीतिको परिणाम भएको बताएका छन्। पूर्वराष्ट्रपति हसन रुहानीले पनि सम्झौताको स्वागत गर्दै यसले क्षेत्रीय सुरक्षा र साझा विकासमा मद्दत पुग्ने उल्लेख गरे। इरानी विज्ञहरूका अनुसार हाल विश्वभर इरानको झन्डै २४ अर्ब डलर बराबरको सम्पत्ति रोक्का छ, जसलाई फुकुवा गर्ने विषयमा अब छलफल हुनेछ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाकिस्तानको मध्यस्थतामा भएको यस सम्झौताको स्वागत गर्दै यसले विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउने र भविष्यका शान्ति सम्झौताका लागि नमुना बन्ने बताए। कतार, इजिप्ट, टर्की र कुवेतका विदेश मन्त्रीहरूले पनि फोनवार्तामार्फत यस कदमको समर्थन गरेका छन्।

सम्झौतालाई पूर्णरूपमा कार्यान्वयन गर्नका लागि आगामी शुक्रबारदेखि स्विट्जरल्यान्डको बुरगेनस्टोक रिसोर्टमा उच्चस्तरीय वार्ता सुरु हुँदैछ। ६० दिने यस वार्ता अवधिमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना छ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले नाटो रक्षा मन्त्रीहरूको बैठकपछि कडा चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले वार्ताको समयतालिका अनुसार आफ्ना प्रतिबद्धताहरू पूरा गरेन भने अमेरिका पुनः सैन्य कारबाही गर्न र इरानमाथि फलामे नाकाबन्दी लगाउन तयार छ।’

इजरायलको असहमति र लेबनानमाथि भीषण हमला

अमेरिका र इरानबीच सम्झौता भए पनि इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सैनिकहरू फिर्ता गर्न अस्वीकार गरेको छ। इजरायली सेनाले दक्षिणी लेबनानको १० किलोमिटर भित्रसम्म आफ्ना सेना तैनाथ रहेको नक्सा सार्वजनिक गर्दै ‘खतराहरू नहटेसम्म कारबाही जारी रहने’ बताएको छ।
बिहीबारमात्र लेबनानको कफर तेब्नित र जेबदिनमा भएका इजरायली ड्रोन आक्रमणमा कम्तीमा ३ जना सर्वसाधारणको मृत्यु भएको छ। गत मार्च २ देखि सुरु भएको यस युद्धमा इजरायली आक्रमणबाट लेबनानमा हालसम्म ३ हजार ९ सयभन्दा बढी मानिस मारिएका छन् भने १० लाखभन्दा बढी विस्थापित भएका छन्। मारिएकामा महिला, बालबालिका र स्वास्थ्यकर्मीसमेत छन्।

इजरायलभित्र दुई देशबीचको सम्झौतालाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। पूर्वरक्षामन्त्री योआभ ग्यालान्टले इरानको आणविक कार्यक्रम रोक्न नसक्नु इजरायलको रणनीतिक भूल भएको बताए। दक्षिणपन्थी सांसद मोशे सादाले प्रधानमन्त्री नेतान्याहुलाई ट्रम्पको दबाब नमानी लेबनानमा २४सै घण्टा क्रूरतापूर्वक आक्रमण गर्न आग्रह गरेका छन्।

इजरायलको आक्रामक नीतिविरुद्ध लेबनानी सशस्त्र समूह हेजबुल्लाहले पनि प्रतिकार गरिरहेको छ। हेजबुल्लाहका तर्फबाट भएका हालैका आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने केही घाइते भएका छन्। हेजबुल्लाहले आफू बलियो स्थितिमा रहेको भन्दै इजरायलको एकतर्फी युद्धविराम वा निःशस्त्रीकरणको प्रस्तावलाई कदापि स्वीकार नगर्ने सन्देश दिएको छ।

युरोपेली संघ (ईयू) की विदेश नीति प्रमुख काजा क्लास र इजरायली विदेश मन्त्री गिदोन सारबीच कूटनीतिक टसल सुरु भएको अलजजीराले जनाएको छ। क्लासले इजरायलले प्यालेस्टाइनीहरूमाथि गरेको व्यवहारलाई रंगभेदी दक्षिण अफ्रिकासँग तुलना गरेपछि इजरायलले उनीसँगको सम्बन्ध तोड्ने घोषणा गरेको छ। 

यद्यपि, क्लासले इजरायलसँग रचनात्मक सम्बन्धको चाहना राख्दै मध्यपूर्वी शान्तिका लागि दुई–मुलुकबीचको समाधान नै एक मात्र विकल्प भएको 
दोहोर्‍याएकी छन्।

मस्को र किभबीच भीषण हवाई आक्रमण

रूस र युक्रेनबीचको युद्धले पुनः उग्ररूप लिएको छ। युक्रेनी ड्रोनहरूले यसै साता दोस्रोपटक रूसको राजधानी मस्कोस्थित तेल प्रशोधन केन्द्रमा भीषण आक्रमण गरेका छन् भने जवाफमा रूसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्ध अन्त्यका लागि अमेरिका र युरोपेली देशहरूको समर्थन जुटाउन प्रयासरत रहेका बेला आक्रमण भएको हो।

रूसी रक्षा मन्त्रालयका अनुसार बुधबार राति युक्रेनले पठाएका ५ सय ५५ वटा ड्रोनलाई रूसी वायु रक्षा प्रणालीले विभिन्न क्षेत्रमा खसालेको छ। त्यसमध्ये झन्डै २ सयवटा ड्रोन मस्कोनजिकै अवरोध गरिएका थिए।

मस्कोका मेयर सर्गेई सोब्यानिनले केही ड्रोनहरू मस्को तेल रिफाइनरीमा खसेको पुष्टि गरेका छन्। यो रिफाइनरीले मस्कोको झन्डै ४० प्रतिशत पेट्रोल र अन्य तेलजन्य उत्पादनको माग धान्ने भएकाले यसलाई रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। मंगलबारको आक्रमणपछि बन्द भएको यस केन्द्रमा बिहीबार भएको आक्रमणमा पुनः भीषण आगलागी गराएको छ।

युक्रेनका अनुसार रूसले रातभरमा २ सय ३९ वटा ड्रोन र ७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये अधिकांशलाई युक्रेनी सेनाले आकाशमै नष्ट गरिदिएको छ। यसै हप्ताको सुरुमा किभमा भएको रूसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै युनेस्को सूचीकृत १ हजार वर्ष पुरानो गुम्बामा क्षति पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.