सक्रिय राजनीतिबाट अलग भए कृष्णबहादुर महरा
काठमाडौं : पूर्वसभामुख एवं नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै महराले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको र उपचार तथा नियमित थेरापी गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेकाले सक्रिय राजनीतिक जिम्मेवारी निर्वाह गर्न कठिन भएको बताएका हुन्।
नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेकपासम्म आइपुग्दा आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको बताएका छन्।
महराले नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने एट्रोफी रोगका कारण नियमित उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले पार्टीका गतिविधिमा योगदान गर्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।
पार्टी जीवनमा अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैं इमानदार र प्रतिबद्ध रहेको उल्लेख गर्दै महराले पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मीहरूको आत्मीयता तथा देश र जनताप्रतिको प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त नहुने बताएका छन्।
शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने उनको भनाइ छ। उनले नयाँ पुस्ताका ऊर्जाशील युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !