भक्तपुरमा विद्युत चोर्नेलाई १ लाख ४२ हजार जरिवाना

भक्तपुरमा विद्युत चोर्नेलाई १ लाख ४२ हजार जरिवाना

भक्तपुर : नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने एकजना ग्राहकलाई १ लाख ४२ हजार रुपैयाँ जरिवाना तिराएको छ।विद्युत चुहावट नियन्त्रण गर्न आक्रामक रुपमा प्रस्तुत हुँदै आएको केन्द्रले अहिलेसम्म कारबाही गरेका घरेलु ग्राहकबाट बढी जरिवाना असुलेको यो नै पहिलो घटना हो।

केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठका अनुसार घरमा रेस्टुरेन्ट सञ्चालनमा रहेको उक्त घरले केन्द्रका दुईटा फिडरको बिजुली प्रयोग गर्दै आएका थिए।लोडसेडिङबाट बच्न उनले केन्द्रका दुइटा फिडरबाट बिजुली बाल्दै आएका थिए। लोडसेडिङमा एउटा फिडरमा बिजुली गए अर्को फिडरको लाइनबाट बिजुली बाल्थे उनी। तर दुइटै फिडरको लाइन मिटरमा नपुग्दै ट्यापिङ गरेर बिजुली चोरी गरिएको भेटिएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिए।

'बत्ती बाल्न दुइटा फिडरबाट लगिएको दुई लाइनमा मिटर नपुग्दै ट्यापिङ गरेर बिजुली चोरी गरिएको फेला पर्‍यो,' उनले भने, ‘चोरी भएको बिजुलीको एकलाख ४२ हजार रुपैयाँ जरिवाना गराइयो।'

उनका अनुसार उक्त ग्राहकले जरिवानासमेत भुक्तानी गरिसकेका छन्।केन्द्र प्रमुख श्रेष्ठले भक्तपुरमा अधिकांश ग्राहकले मिटरसम्म पुगेको लाइनमा ट्यापिङ गरेर विद्युत चोरी गर्ने गरेको भेटिएको जानकारी दिए।

माघ १८ सम्म ९६ लाख ६८ हजार जरिवाना

केन्द्रले चालू आर्थिक वर्षको माघ १८ गतेसम्म विद्युत चुहावट कारबाहीबाट ९६ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिसम्ममा दुईसय ९४ जना ग्राहकलाई चुहावट कारबाही गरिएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिए।

उनका अनुसार माघ महिनाको १८ दिनमा मात्रै १४ लाख ४१ हजार सात सय ३७ रुपैयाँ विद्युत चुहावट कारबाही गरिएको छ । उक्त अवधिमा ४४ जनालाई विद्युत चुहावटको कारबाही गरिएको उनी बताउँछन्।

केन्द्रले गएको साउनमा ४९ जनालाई १८ लाख ९४ हजार पाँच सय चार रुपैयाँ, भाद्रमा ३३ जनालाई १४ लाख सात सय ३६ र असोजमा ३९ जनालाई नौ लाख २३ हजार सातसय ९७ रुपैयाँ विद्युत चुहावट कारबाही गरेको छ।

त्यस्तै कार्तिकमा २९ जनालाई सात लाख ८२ हजार सात सय ४५ रुपैयाँ, मंसिरमा ४९ जनालाई १४ लाख ६८ हजार ६ सय ४२ रुपैयाँ र पुसमा सबैभन्दा बढी ५१ जनालाई १७ लाख ५६ हजार चारसय ९६ रुपैयाँ विद्युत चुहावट कारबाही गरिएको केन्द्रका चुहावट फाँट इन्चार्ज प्रदीप कटुवालले जानकारी दिए ।

चुहावट पत्ता लगाउन डेढ घन्टा

केन्द्रका कर्मचारीहरुले सितिमिति विद्युत चुहावट पत्ता लगाउन सक्दैन।सामान्यतयाँ ग्राहकको पाँच छ महिनाको विद्युत खपत युनिट हेर्दा चुहावट भए नभएको थाहा हुने उक्त फाँटका अर्का कर्मचारी गणेश कटुवाल बताउँछन्। विद्युत चुहावट भइरहेको सितिमिति नभेटिने उनको भनाइ थियो।

‘एउटा घरमा विद्युत चुहावट भेट्टाउन डेढघन्टासम्म लाग्यो । खपत युनिटले चुहावट भइरहेको प्रस्टै देखाउँछ। घर हेर्दा पनि विद्युत धेरै खपत हुने खालकै छ,' उनले थपे, 'सम्भावित सबै जाँच गरियो। हामी असिनपसिन भइसक्यौं तैपनि विद्युत चुहावट फेला परेन। दोहोर्‍याएर खम्बाबाट आएको मुख्य लाइन पछ्याउँदै जाँदा हामी छक्कै पर्‍यौं।'

उनका अनुसार मुख्य लाइनलाई घरको शौचालयबाट लगिएको थियो। शौचालयमा पाइप बिछ्याउन राखिएको प्वालमै ट्यापिङ गरेर विद्युत चोरिएको भेटिएको उनी बताउँछन्।'चोरी थाहा नपाओस् भनेर मुख्य लाइनलाई पाइप जाने प्वालमा ट्यापिङ गरेर सेतो कागजले टालिएको थियो,' उनले भने, 'सामान्य आँखाले झट्टै हेर्दा त्यहाँ त्यसरी विद्युत चोरी गरिएको थाहा पाउन मुस्किल हुन्छ।' केन्द्रले मुख्य लाइनमा हुकिङ गर्ने एकसय ४८ जनालाई समेत कारबाही गरेको जनाएको छ।

 घरको शौचालयमा मिटर नपुग्दै विद्युत लाइनमा ट्यापिङ गरिएको बिजुलीको तार।तस्बिर : नेविप्रा भक्तपुर वितरण केन्द्र


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.