अपडेट : सिन्धुलीमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु
सिन्धुली : यहाँको फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङमा बिहीबार दिउँसो बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फआउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङ्गमा दुर्घटना हुँदा ४ जनाको घट्नास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
दुर्घटनमा फिक्कल गाउँपालिका २ की तिलमाया विक, कुनमान तामाङ, लक्ष्मी विक र फिक्कल गाउँपलिका–३ की शान्तामायाँ श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते फिक्कल गाउँपालिका–२ की २५ वर्षीया अनिता महतको भने खुर्कोटस्थित शुभजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बोलेरो चालक मानबहादुर सुनुवार, गंगामाया विक, चन्द्रमाया विक, रोजेन्द्र सुनुवार, नन्दलाल विक, जयप्रसाद न्यौपाने लगायत ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई खुर्कोटमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काभ्रेको धुलीखेल र काठमाडौं पठाइएको जिल्ल प्रहरी कार्यालय सिन्धुलीका प्रवक्तासमेत रहेका थापाले उल्लेख गरेका छन् ।
दुर्घटनाका घाइते र मृतकको शव खुर्कोटमा ल्याइएको छ । बोलेर दुर्घटनाको कारण एकिन नभए पनि कच्ची सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यसअघि सिन्धुलीमै जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । ४० जना घाइते भएका छन् । बुधबार बेलुका रामेछापको खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटनामा परेको हो ।
यो दुर्घटनामा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त घटनाका घाइतेहरुको धुलिखेल र काठमामाडौंमा उपचार भइरहेको छ ।