सरस्वती पूजाको चन्दा असुलीले अभिभावक आक्रान्त

सरस्वती पूजाको चन्दा असुलीले अभिभावक आक्रान्त

वीरगन्ज  : वीरगन्जको नगवामा रहेको युनाइटेड इङ्ग्लीश सेकेण्डरी बोर्डिङ स्कुलले सरस्वती पूजाका नाममा नर्सरीदेखि कक्षा १ सम्मका प्रत्येक विद्यार्थीबाट एक सय रुपैयाँ , कक्षा २ देखि ४ का विद्यार्थीबाट दुई सय , कक्षा ५ र ६ का विद्यार्थीबाट तीन सय ५० तथा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीबाट  ९ सय रुपैयाँ चन्दा असुली गरेको छ।

वीरगञ्जमै नाम चलेको गौतम स्कुलले पनि सरस्वती पूजाको लागि प्रत्येक विद्यार्थीबाट एक–एक सय रुपैयाँ रकम संकलन गरेको छ। गौतम माविमा दुई हजार दुई सय ५० विद्यार्थी छन्। विद्यार्थीको संख्या अनुसार, यसपाली मात्रै गौतम माविले सरस्वती पूजाको नाममा विद्यार्थीहरुबाट दुई लाख ५० हजार रुपैयाँ उठाएको छ। 
युनाइटेड र गौतम स्कुल जस्तै महानगरमा रहेका सबै संस्थागत विद्यालयले सरस्वती पूजा र त्यसमा भोजभतेर गर्न विद्यार्थीबाट रकम असुली गरिरहेका कारण अभिभावक अक्रान्त बनेका छन्। 

निजी विद्यालयका संचालक र शिक्षकले पूजा र भोजभतेर गर्न चन्दा भन्दै कक्षा तह अनुसार , विद्यार्थीबाट जनही ५० देखि पाँच सय रुपैयाँसम्म असुली गरेका हुन्। 
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार महानगरमा एक सय ४० संस्थागत विद्यालय छन्।
निजी तथा आवासीय विद्यालयको छाता संगठन एन प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष अरविन्द सिंहका अनुसार , महानगरमा रहेका ती सबै निजी विद्यालयमा २५ हजार विद्यार्थी अध्ययनरत छन्।

सरस्वती पूजामा भोजभतेर गर्ने बहानामा निजी विद्यालयले विद्यार्थीलाई बाध्य बनाएर चन्दा रकम असुली गरिरहेको अभिभावक बताउँछन्। चन्दा नदिने विद्यार्थीलाई सरस्वती पूजामा सरिक नगराउने धम्की दिएकाले बाध्य भएर पनि विद्यालयलाई चन्दा रकम दिनु परेको गुनासो अभिभावकको छ। 

‘पैसा दिएन भने सरले सरस्वती पूजामै नआउनु भनेर बच्चालाई भनेका छन्’ , नवगवाका स्थानीय हरेन्द्र यादवले ‘ठेला चलाएर पनि चार जना छोराछोरीलाई सकी नसकी बोर्डिङ स्कुलमा पढाएको छु’ , वीरगन्जको घडीअर्वाका रामबाबु सोनारले भने, ‘एक त महिना फिस् तिर्न नै धौ–धौ  हुन्छ, त्यसमा अहिले सरस्वतीपूजाको चन्दाका नाममा एक हजार रुपैयाँ तिर्नु पर्दा झनै समस्या भएको छ।’ 
 
गौतम स्कुलमा दुई छोरालाई पढाउदै आएका वीरगन्जको मुर्ली बगैंचाका एक अभिभावकले ना गोप्य राख्ने शर्तमा भने, ‘हरेक साल सरस्वती पूजा पछि दुवै छोराको मासिक शुल्कको रसिदमा सय–सय रुपैयाँ थपेर स्कुलले पठाइ दिने गरेको छ। यसपालि पनि सरस्वती पूजाको चन्दा सय–सय रुपैयाँ लाग्छ भनेर बच्चाले भनेका छन्।’   

निजी विद्यालयले वर्षेनी सरस्वती पूजाको चन्दाका नाममा विद्यार्थीसँग रकम असुल्दै आएको भए पनि उनीहरुले चन्दा बापत असुलेको रकमको आयव्यव विवरण सार्वजनिक नगरेको अभिभावक संघ पर्साका अध्यक्ष गौतमले बताए। 

उनले नीजी विद्यालयले वर्षौदेखि सरस्वती पूजाको नाममा चन्दा असुलेर विद्यार्थी र अभिभावकलाई ठग्दै आएको बताए। ‘यसपालि पनि वीरगन्ज महानगरमा रहेका सबै निजी विद्यालयले सरस्वती पूजाका लागि विद्यार्थीलाई दबाब दिएर चन्दा असुलेका छन्’ , उनले भने, ‘अभिभावक माथि आर्थिक बोझा थप्ने निजी विद्यालयको यो कार्य नाजायज छ।’ 

सरस्वती पूजाको नाममा विद्यार्थीसँग चन्दा असुली गर्ने कार्यप्रति अभिभावक संघको घोर आपत्ति रहेको भन्दै अध्यक्ष गौतमले भने, ‘सरस्वती पूजा वा कुनै पनि भोजभतेर विद्यालयले सक्ने भए आफ्नै आम्दानीबाट गर्नुपर्छ। विद्यालय आफैँले गर्न सक्दैन भने विद्यार्थी र अभिभावकलाई थप आर्थिक बोझ थुपार्न पाइँदैन।’ 
वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले भने सरस्वती पूजा वा अरु कुनै उत्सव समारोहका नाममा विद्यार्थीबाट रकम उठाउन नपाइने बताए। 

अहिले सरस्वतीपूजाका नामामा निजी विद्यालयहरुले विद्यार्थीहरुबाट रकम असुलेको हल्ला आफूले पनि सुनेको भन्दै उनले भने, ‘तर यस बारेमा लिखित गुनासो लिएर मकहाँ कोहि पनि आएको छैन।’  

एन प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष अरविन्द सिंहले भने सरस्वतीपूजाका लागि विद्यार्थीबाट जबरजस्ति चन्दा रकम नउठाइएको दाबी गरे। 
‘विद्यार्थीहरु आफ्नै हिसाबले चन्दा संकलन गर्छन्’, उनले भने,‘ त्यसमै थपथाप गरेर विद्यालयहरुले सरस्वतीपूजा गर्छन्।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.