प्रहरीलाई एक सय घुस दिन खोज्ने दुई पक्राउ
काठमाडौं : प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा दुईजना ड्राइभर पक्राउ परेका छन्। प्रहरीले ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रामजाली मगरलाई बुधबार राति पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा.४ ख १७६ नम्बरको मिनी टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भनी चालक मगरले प्रहरीलाई एक सय रूपैयाँ घुस दिन खोजेका थिए।
यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकी ढुंगेअड्डामा प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका-२ बस्ने ३५ वर्षीय केदार मल्ल बुधबार राति पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा उनले कागजपत्र नभएको भन्दै घुस दिन खोजेका थिए। यसबारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।