यो सडक कसको ?

यो सडक कसको ?

घटना १

अघिल्लो हप्ता थापाथली हँदै जावलाखेल जाने क्रममा कुपण्डोलदेखि एउटा भाडाको माइक्रो मेरो स्कुटर पछाडि थियो। अफिस आवरको खचाखच र जाममाझ स्कुटर दौडाउने अवस्था थिएन। तर, ती माइक्रो चालकले भने अनावश्यक रूपमा हर्न बजाएको बजाएकै गर्न थाले। माइक्रोलाई बाटो दिने अवस्था पनि थिएन, न त म आफैं दौडिने नै। कुपण्डोलबाट सुरु भएको उसको हर्न बजाई र लखेटाई पुल्चोक दमकल पुगेपछि मलाई असह्य भयो। मैले स्कुटर रोकेँ। मेरो पछि भएकोले माइक्रो पनि रोकियो। 

रिसको पारो चढेपछि मैले सोधें, ‘के हो यस्तो ?   पेलेर जाने विचार हो ? ’ उसले उल्टै भन्यो, ‘मैले पेलेको छु र ?  चलाउन नसक्नेले किन स्कुटर चलाको ? ’ अलि अघि बढेपछि एक इन्च ठाउँ बाँकी राखेर मलाई पेलौंलाझैं गरी तर्साएरै अघि लाग्यो। सिकारु स्कुटर चालक भएको भए दुर्घटनामै पर्ने सम्भावना थियो।

घटना २

केही महिनाअघि सडकमै अलि फरक घटनामा परेकी थिएँ। गौशाला ओरालो हुँदै मैतीदेवी ज्ञानेश्वर भई लैनचौर निस्कने क्रममा थिएँ। मैतीदेवी चोकबाट उकालो उक्लने क्रममा पुरुषले चलाएको स्कुटर मेरो पछि थियो। चेक सर्टधारी स्कुटर चालक उक्सिएको पेट र मझौला कदको थियो।

उसको चालमा अलि गढबढ जस्तो त्यतिखेर लाग्यो, जब खुल्ला सडकमा पनि ऊ अगाडि नबढी केही छिन बिराएर त्यत्तिकै पनि हर्न बजाउन थाल्यो। मेरो स्कुटरको गतिअनुसार, उसले पनि आफ्नो गति घटाउन बढाउन थाल्यो। नक्साल भगवती मार्गमा त मैले एकैछिन रोकेरै बाटो दिएँ। तर, अलि अघि पुगेर उसले स्कुटरको गति धिमा पार्‍यो। अब भने मेरो सात्तो उडिसकेको थियो। म जति सक्दो भाग्न चाहन्थेँ। उसको पछ्याई लैनचौर र लाजिम्पाटसम्मै चल्यो। त्यो अनौठो स्कुटर चालकबाट छुट्करा पाउन म बिना काम र्‍याडिसन गल्लीमा छिरेँ। मेरो गल्ली प्रवेशपछि भने चेक सर्टवाला मानिस लाजिम्पाट मूलबाटोतिर सोझियो। आधा घण्टा जति त्यहीँका आर्ट ग्यालरीमा समय कटाएर निस्कँदा पनि त्यो स्कुटरवाला त्यतै छ कि भन्ने डरले भने छाडिसकेको थिएन।

हालै केही हेपाहा प्रवृत्ति र फरक मनोविज्ञानको सिकार भएकी थिएँ। पुरुष हेपाहा मनोविज्ञान भनौं। ती घटनाले महिलाप्रतिको पुरुष दृष्टिकोण र आधा-आकाशको नाजुक अवस्थाप्रति अझ बढी नजिक भएकी छु।

सडकमा हुने यस्ता घटनामा धेरै महिला परिरहेकै हुन्छन्। मेरा धेरै स्कुटर चालक महिला मित्रले पनि सडकमा विभिन्न खाले हेपाहा प्रवृत्तिको सामना गर्ने गरेको सुनाउँछन्। यहाँ दुई कुरा प्रस्ट देखिन्छ। पहिलो पुरुष हेपाहा मनोविज्ञान र दोस्रो महिलामाथिको पुरुष दृष्टिकोण। यी दुवै हामीले भोगिरहेको समयको निकै कडा डिस्कोर्स हुन्, जसमा गम्भीर छलफल आवश्यक छ। त्यसअघि ती घटनाले मेरो मनमा उब्जाएको प्रश्नतिर लाग्छु।यो सडक कसको ?

लामो समय भयो, महिलाहरूले आफ्ना लागि ‘स्पेस’को वकालत गरेको। भर्जिनिया उल्फले सन् १९२९ मै ‘अ रुम अब वान्स ओन’ लेखेर महिलाले समाजका सबै क्षेत्रमा पाउनुपर्ने ठाउँबारे झक्झक्याएकी थिइन्। तर, समय यति अघि बढिसक्दा पनि हामी फेरि आफ्ना लागि ठाउँबारे बोल्न बाध्य छौं। ‘स्पेस’ले आजकल घरभित्रको मात्र नभई सडक र सार्वजनिक स्थलसम्मलाई इंगित गर्न थालेको छ।

घरका धेरै कोठामध्ये महिलाको लागि छुट्टै ठाउँ (भान्साबाहेक) कतै छ ?   यस प्रश्नको मीठो पूर्वनिर्मित जवाफ हाम्रो समाजमा व्याप्त छ- घर त महिलाकै हो। जता बसे पनि भयो, सबै उसैको न हो।

सुन्दा खुब सुन्दर लाग्छन्, यस्ता कुरा। र, हो त नि भने जस्तो पनि लाग्छ। किनकि घर त महिलाले नै सम्हाल्ने हो। सबै उसैको रेखदेख खटनपटनमा त चल्छ। पुरुष त के र बाहिर बाहिरै त हो सधैं, भनेजस्तो लाग्छ नै। तर सबै उसकै त हो भन्नाले मात्र कहाँ दिँदो रहेछ त महिलाको लागि एक निश्चित ‘ठाउँ’ ?        सबै उसैको हुनुले नै त महिला फेरि पनि कतै नहुनुको पीडामा छन्। आज पनि ठाउँ, स्थान या स्पेसरहित छन् महिला। यो लामो समयदेखि चलिआएको ठाउँविहीन अवस्था आज सडकमा पनि देखिन थालेको छ।

आज पनि एउटी आम नेपाली महिलालाई बाहिर निस्कनै गाह्रो छ। बल्लबल्ल निस्कने माहोल बनेकालाई पनि सडक र सार्वजनिक स्थलमा परिने अनेकन खाले हिंसाले निकै सकस हुन्छ। कतिपय त मनोबल नै गिराइदिनेसम्मका घटना हुन्छन्। सार्वजनिक सवारीमा महिलाका लागि आरक्षण सिट भए पनि खचाखच गाडीमा उभिनुपर्ने बाध्यता छ। भीडभाडको आडमा विकृत मनोवृत्तिकाले महिलाको संवेदनशील अंगमा हात पुर्‍याउन भ्याइसकेका हुन्छन्। आजकल प्रतिकार गर्नेको संख्या बढेकै छ तर मनोरोगीहरू पनि त उत्ति नै बढेका छन्।

ठाउँ (हरू) सधैं पुरुषकै कब्जामा रह्यो। शक्तिशाली ठाउँदेखि प्रत्येक घरको सबैभन्दा सजिलो र सुन्दर स्थानमा पुरुषकै हुन्छ हालिमुहाली। जस्तो कि देशको बागडोर सम्हाल्ने ठाउँ, या कुनै घरको ज्ञानगुन पाइने पुस्तकालय या जमघट र बहस भइरहेको बैठक कोठा, जताततै पुरुष नै हुन्छन्। बहस, चर्काचर्की परिरहेकै बखत त्यस माहोललाई शान्त पार्न महिला भने निजी भान्साबाट सबैको स्वादअनुसारको चिया बोकी उपस्थित भइदिन्छन्। त्यही पनि उही चिया-खाजा टक्र्याइन्जेलका लागि मात्र। त्यसपछि त फेरि उनको ठाउँ भन्नु उही जुठेल्ना हो या अहिलेको सभ्य भाषामा भन्नुपर्दा किचन।

निकै कालदेखि विशेष ठाउँ ओगटी बसेका पुरुषजन आफ्नो यथास्थानबाट टसमस हुनै चाहँदैनन्। सडकमा महिलाले सामना गर्ने गरेका अप्रिय घटना पनि पुरुषको ठाउँप्रतिको दाबीकै उपज हुन सक्छ। सडक त सवारी चालकको हो। अनि सवारी चालक चाहे निजी या सार्वजनिक, प्रायःजसो पुरुषकै अधिनमा हुन्छ। आजकल भने सडकको दृश्य अलि फरक भएको छ। महिला पनि उत्रेका छन् सडकमा। सार्वजनिक सवारीदेखि निजीसम्म, महिला चालक बढ्ने क्रममा छन्। सडक या सार्वजनिक ठाउँप्रतिको पुरुषको एकलौटी स्वामित्व आज महिलाले पनि दाबी गरेको अवस्था छ।

त्यसैले त्यो रहलपहल पुरुष हेपाहा मनोविज्ञान कहिलेकाहीँ स्कुटर चालक महिलामा पोखिने गरेको देखिन्छ। यस सन्दर्भमा लेखक सञ्जीव उप्रेती भन्छन्, ‘केही पुरुषहरूले अवचेतनकै तहमा भए पनि सोच्न थाल्छन्, यी चेलीहरू अब हाम्रो (अर्थात् पुरुषको) क्षेत्रभित्र पस्न थाले, व्यावसायिक तथा सार्वजनिक महŒवका पारस्परिक पुरुषप्रधान स्थलमा छिर्दै हामीसँगै प्रतिस्पर्धा गर्न थाले। त्यसैले यिनको विरोध गर्नु जरुरी छ (पृष्ठ- २३७, सिद्धान्तका कुरा)।

लेखक उप्रेतीले औंल्याएझैं पुरुषले दाबी गर्दै आएको सडकमा महिलाको बाक्लो उपस्थितिले उनीहरूमा उमारिदिएको एक फरक मनोविज्ञान पनि हुन सक्छ सडकमा महिलाहरूप्रति गरिने व्यवहार। तर, कहिलेकाहीँ मुखामुखको अवस्थाभन्दा निकै पर पुगिदिन्छ घटना। स्कुटर चलाउने धेरै महिलाले ज्यान गुमाइसकेको अवस्था पनि हामीसामु छन्। ठूला सवारी, पानी ट्यांकरदेखि बस र माइक्रो चालक धेरैजसोले सडक आफ्नै मात्र हो जसरी हाँक्छन्। सानो सवारी, त्यसमा पनि स्कुटर चलाउने महिलालाई हर्न बजाउनेदेखि एकदमै तीव्र गतिमा छेवैबाट हुइँक्याईं सातो लिनेसम्मका काम चालकले बारम्बार दोहोर्‍याउँछन्। यस्ता अनेकन घटना निह्याल्दा लाग्छ, सडक त पुरुषको मात्र रैछ।

सवारी चालक पुरुष मनोविज्ञान एकदम अनौठो हुन्छ। त्यसमा समग्र पुरुष मनोभाव पनि सामेल हुन्छ। उनीहरूमा प्रस्ट देखिने एउटा प्रवृत्ति भन्नु भालेपना हो। भाले हेपाहा हुन्छ। भाले आफ्नो वर्चस्व कायम राख्न चाहन्छ। भाले आफूलाई अरूभन्दा बलियो, ठूलो र जान्ने ठान्छ। समाजमा धेरै पुरुष यस्तै छन्। उनीहरू महिलालाई हेप्न र दबाउन उद्यत् रहन्छन्। दबाउन सके दबायो, नत्र हाँसो-खिल्ली उडायो, महिलाको डर र असहजतामिश्रित अनुहार हेरेर दङ पर्‍यो। यस्ता केही पुरुषोचित गुण बग्रेल्ती भेटिन्छन्। सडकमा सवारी चालक, सहचाहलकदेखि घरका दाजुभाइ या लोग्नेमा पनि केही तलमाथिका यस्तै व्यवहार देखिन्छ।

कतिपय सहचालक ग्राहक बोलाउने क्रममा भनिरहन्छन्, ‘भाले गाडी आयो।’ सहचालकका यस्ता शब्द हाँसोमा उडाइन्छ। तर, वास्तवमा त्यही हँसिमजाकभित्र गहिरो पुरुष मनोविज्ञान लुकेको छ। ‘भाले’ शब्द आफैंमा सेक्सिस्ट हो। भाले बलियो, छिटो, छरितो, विश्वासिलो हुन्छ भन्ने लगायतका अनेकन विशेषण त्यही एक शब्दभित्र लुकेको हुन्छ। त्यसै शब्दले फेरि अर्कोतिर घुमाउरो पाराले पोथीप्रति खिसी पनि गरिहेको हुन्छ। पोथी अर्थात् महिलाहरू सुस्त, कमजोर, कम चलाख, कम भरपर्दो हुन्छन् भन्ने पनि बुझाउँछ।

धेरै महिलाले सडकमा सामना गर्ने गरेका घटना यही भालेपनाकै कारण हुन्। आफूलाई भाले ठान्ने चालकले कम गति र आफ्नै रफ्तारमा हिँड्ने स्कुटर चालक महिलालाई आफ्नो भालेपनाको सान देखाउन तम्सिन्छ। ऊ आफ्नो रफ्तार र बलले उनीहरूलाई चुनौती दिँदै ‘नसक्नेले किन चलाउनु ? ’ सम्म भन्न भ्याइहाल्छ।

पुरुषत्वकै दम्भ मिसिएको भिन्न मनोविज्ञानकै कारण महिलाको असुरक्षा बढिरहेको छ। त्यो दम्भ कतिखेर, कहाँ गएर पोखिन्छ ठेगान हुन्न। पुरुषको अनावश्यक भालेपनाका कारण घरघरमा महिला हिंसाका घटना बढिरहेका छन् भने एक्लैदुक्लै साँझ बिहान हिँड्न महिलाहरूले धेरै पटक सोच्नुपर्ने हुन्छ। सार्वजनिक स्थल र सडकसम्ममा पनि उनीहरू ढुक्क भई हिँड्न सकिरहेका छैनन्।०००चेतना र चिन्तन गर्न सक्ने सबैले खोज्ने एउटै कुरो हो, आफ्नो स्पेस।

अग्रगामी हाम्रो समाजमा आजकल महिला आफ्नोबारे सोच्न र बोल्न थालेका छन्। त्यसैले नै उनीहरूका लागि स्थान अभावको महसुस हुन थालेको हो। लामो समयदेखि एकलौटी आफ्नो अनुकूल स्थान ओगटिरहेका पुरुषले महिलाको चेतना र स्थान दाबीलाई स्वाभाविक रूपमा लिन सकिरहेजस्तो देखिन्न। लामो समयदेखि देख्दै, गर्दै र आफूभित्र विकसित गरेका अनेकन हेपाहा भावबाट आज पनि पुरुष बाहिर निस्कन सकेका छैनन्। त्यही आदिम मनोविज्ञान कहिले स्वास्नीको शरीरभरि लात र मुक्का भएर बज्रिन्छ भने कहिले आफ्नो धुनमा सडकमा हिँडिरहेका महिलालाई तर्साउने गाडीको हर्न भएर देखा पर्छ।

सहकार्य र समभावबाट मात्र समातामूलक समाजको स्थापना हुन्छ। त्यसैले अब आफूमा निहित कतिपय जिद्दी पुरातनभावबाट पुरुषहरू उत्रिनु जरुरी छ। यो समय त सबैको हो। अनि यो सडक- महिलाको होइन र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.