सरस्वती रिझाउने दिन

सरस्वती रिझाउने दिन

काठमाडौं : भाइबहिनीहरू, तिमीहरूलाई थाहा नै होला, आज विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन। हरेकजसो शैक्षिक संस्थाले आजकै दिन विद्यार्थी जम्मा गरेर सरस्वतीको पूजा गर्छन्। विद्यालय जान नभ्याउने विद्यार्थी सरस्वतीको मूर्ति भएको मन्दिरमा पुगेर पूजा गर्छन्। साथै, सरस्वती माताले प्रशस्त शिक्षा दिऊन् भनेर आशीर्वाद पनि माग्छन्।

यसरी सरस्वतीलाई पूजा गर्नुको खास कारण के होला ? उनीसँग किन शिक्षाको आशीर्वाद मागिएको होला, तिमीहरूलाई थाहा छ ? शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाका अनुसार वैदिक भाषामा सरस्वती सूर्यको किरण हुन्। सूर्यमा सातवटा किरण हुन्छन्। हरेक किरणले छुट्टाछुट्टै अर्थ बोक्छन्। ती सातमध्ये सरस्वतीलाई सेतो किरणका रूपमा लिइन्छ। सेतो किरणलाई ज्ञानको खानी मानिन्छ।

चारवटा हातमध्ये एउटामा पुस्तकको रूपमा वेद बोकेकी तथा अर्कोमा संगीतको प्रतीकका रूपमा वीणा बोकेकी हुनाले सरस्वतीलाई ज्ञानको खानी मानिएको हो। ‘संगीत, पुस्तक, ज्ञान र विज्ञानको भण्डार भएकै कारण सरस्वतीलाई बडो आस्था गरेर पूजा गरिएको हो’, कोइराला भन्छन्, ‘सरस्वतीलाई पूजा गरेर खुसी पारियो भने ज्ञानमा उनीजस्तै पारंगत हुने विश्वास गरिन्छ। यही आधारमा विद्यार्थी, शिक्षक तथा शिक्षाकर्ममा लागेकाहरू उनको पाउमा पर्ने गरेका हुन्।’

सूर्य सबैको साझा भएको र यसको किरणका रूपमा रहेकी सरस्वतीलाई हिन्दूको मात्र आस्थाकेन्द्रका रूपमा व्याख्या गर्ने प्रवृत्तिप्रति भने कोइराला असन्तुष्टि जनाउँछन्। सरस्वतीको मन्त्र उच्चारण गर्न सकियो भने ब्रह्माण्डकै सम्पूर्ण ज्ञान पाउन सकिन्छ भन्ने विश्वास पनि छ। ‘मन्त्र उच्चारणले ब्रह्म चिन्तन गर्न सकिने र यही चिन्तनले संसारको ज्ञान पाइने विश्वास छ’, कोइराला भन्छन्।

सरस्वती पूजाकै दिन नानीबाबुलाई स्कुल भर्ना गरिन्छ। उनीहरूलाई अक्षर चिनाइन्छ। यसको कारण पनि सरस्वतीजस्तै ज्ञानी बनून् भन्ने हो। आजको दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ। सूर्य उत्तरतिर लाग्ने तथा दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यो दिनलाई वसन्तपञ्चमी पनि भनिएको हो।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी आज साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीकका रूपमा पूजा आराधना गर्छन्। आजकै दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने जनविश्वास छ।

कति वर्षमा भर्ना गर्ने ?      

सरस्वती पूजाका नाममा उमेर पूरा नभएका नानीबाबुलाई पनि जबर्जस्ती स्कुल भर्ना गर्ने चलन बढ्दै छ। यसले बालबालिकामा नकारात्मक असर पर्न सक्छ। यसप्रति अभिभावक सचेत हुनुपर्छ। वैज्ञानिक अनुसन्धानअनुसार बालबालिकालाई सामान्यतया तीन वर्ष पूरा भएपछि मात्र स्कुल भर्ना गर्नु उपयुक्त मानिन्छ।

विगत चार दशकदेखि बालबालिकाको क्षेत्रमा क्रियाशील अगाथा थापा विद्यार्थीलाई कलिलै उमेरमा पढाइमा मात्र दबाब दिनु गलत हुने बताउँछिन्। सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाकी संस्थापकसमेत रहेकी उनी भन्छिन्, ‘तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई रुचिअनुसार खेल्न दिनु पर्छ। त्यसपछि मात्र स्कुल भर्ना गर्दा उनीहरूको सिकाइ उपलब्धि राम्रो हुन्छ।’

शिक्षाविद् कोइराला पनि बालबालिकालाई छिटो पढ्न सिकाउने नाममा सानै उमेरदेखि पढाइमा मात्र लगाउने प्रवृत्तिले मानसिक असर पर्न सक्ने बताउँछन्। सरकारी नीतिले पनि तीन वर्ष उमेर पूरा भएपछि बालबालिकालाई प्रारम्भिक बाल विकास (ईसीडी)मा पढाउने र त्यसपछि मात्र कक्षा १ मा भर्ना गर्नुपर्ने किटान गरेको छ। सरकारी नीतिअनुसार तीन वर्ष प्रारम्भिक बाल विकास केन्द्र तथा चार वर्षको उमेरमा शिशु कक्षामा भर्ना गर्नुपर्ने स्पष्ट गरेको छ। त्यसपछि पाँच वर्ष पूरा भएपछि मात्र कक्षा १ मा भर्ना गर्नुपर्ने हुन्छ। सरकारी तथ्यांकअनुसार प्रारम्भिक बाल विकासको अनुभव हासिल गरेका विद्यार्थीको संख्या कक्षा एकमा भर्ना भएका कुल विद्यार्थी संख्याको ६३ प्रतिशत हाराहारीमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.