आँखा जुधाउन सक्छौं आफैंसँग ?

आँखा जुधाउन सक्छौं आफैंसँग ?

‘भ्रष्टाचारको गणनामा नेपाल एसियामा तेस्रो’ समाचारको हेडलाइन हेरेपछि बाँकी पढ्नै मन लागेन। खबर नौलो पनि होइन। कीर्तिमानपछि कीर्तिमान जारी छ। गएको १० वर्षमा नेपाल त्यस्तो देश होला, जहाँ सबैथरी अधिकारका लागि सके जति संघर्ष भयो। नीतिनियम सबै बदलिए। सत्तामा थरीथरी मानिस ओहोरदोहोर गरे। तर नियति बदलिएन। डा. गोविन्द केसीको अनन्त लडाइँ चलिरहेको छ, स्वास्थ्य क्षेत्र सुधारमा।

सरकार आफैं अग्रसर हुनुपर्ने काम अरूले लडाइँ लड्नुपर्छ, लोकतान्त्रिक मुलुकमा। भोकै लडेको एक नागरिक जोसँग सरकारले सम्झौता गरेको थियो। र सम्भौताको बुँदा भंग पनि उसैले गर्‍यो। उनैसँग सामान्य संवेदनशीलता देखाउन पनि जरुरी ठानेन। न्यूनतम मानवीय मूल्यमा समेत सरकार चुक्यो। बेथितिको जरा कति घनीभूत एवम् फराकिलो छ, आकलन गर्न दृश्यहरू पर्याप्त छन्।

काठमाडौंको सत्ताको छाला मोटो छ, गैंडाको जस्तै। कान पनि मधुरो सुन्छ। थोरै रवाफी मानिसको कुरा यो सुन्छ। आम मानिसको सरोकार बोकेका डा. केसीको कुरा सुन्न र सहअनुभूति गर्न त छाला पातलो हुुनुपर्‍यो नि। कान तीखो हुनुपर्‍यो। सत्ता काठमाडौंको मात्र होइन, एउटा सानो वडाको पनि बेइमान हुन्छ। समाजमा केही इमानी मानिसले यसलाई सही बाटोमा डोर्‍याउन हरदम प्रयत्न गर्ने हो। संस्कारकै रूपमा विकसित भ्रष्टाचारसँग लड्न एकदुई मानिसले पुग्दैन। कुसंस्कारको विषवृक्ष ढलाउन भ्रष्टाचारविरूद्धको सुसंस्कारको गाण्डिव नै चाहिन्छ।

हामी जुन जीवनशैलीमा छौं, भ्रष्टाचारविरूद्ध उभिन लायक छौं/छैनौं; ऐनामा हेरेर उत्तर हरेकले आफैंसँग लिने हो। बेइमान काठमाडौंको सत्ता मात्र छैन। यो त जमिनमाथि देखिएको विषालु रूख हो। यसको जरा स्थानीय तहतहमा फैलिएको छ। यसलाई नागरिकको दोषपूर्ण सोच र जीवनशैलीले मलजल गरिरहेको छ। जिल्लाहरू भ्रष्टाचारमुक्त थिएनन्। प्रदेशहरूमा फैलिएको हाँगो त्यही हो। विष त्यहाँ पनि सरिसकेको छ। युवाहरूले आफ्नो सक्रियता बढाउने ठाउँ स्थानीय तह नै हो।

तीन वर्षअघि डोल्पाको दुनैमा थिएँ। गाइँगुइँ चल्यो होटेलमा। सातो उडेको थियो, मानिसको मुहारमा। मेरो आँखामा प्रश्न भरिए। मैले स्थानीयलाई पास गरेँ। बतासले पनि सुन्ला कि जस्तो गरी उनीहरूले साउती मारे, ‘जिविसमा लफडा भयाको छ। विकासको रकमबारे विवाद चल्याको थियो। भ्रष्टाचार भयो भनी लडाइँ पर्‍यो। एक युवाले यसको अगुवाइ गरेका थिए। उनी मारिए। लास भेरीकै किनारमा छ।’ किनारमै थियो होटल पनि। त्यही किनारबाट आएको बतासले हान्यो हामीलाई। के भन्दै थियो होला त्यो २३ वर्षे युवकको आत्माले। लामो सास निस्कन्छ, घटना सम्झिँदा पनि।

लोकमानसिंह कार्कीले कानुन हातमा लिएर ताण्डव गर्नु र ती युवा किनारमा लड्नु एकै समयको कुरा हो। सबैथरी अधिकारको लडाइँ लड्न पोख्त मानिस लोकमानको ज्यादतीमा चुप थिए। टिसर्ट लगाएको र्‍यालीले लोकमान हल्लिँदैनथे। स्पष्ट राजनीतिक दृष्टिकोण र साहससहितको युवा जमात निकै न्यून देखियो।

पहाडमा मात्र होइन, मधेसमा पनि हालत उस्तै खराब थियो। स्थानीय सरकार नभएको सममयमा सर्वदलीय संयन्त्रमा बसेर बजेट लुट्नेको बिगबिगी रह्यो, निकै वर्ष। तेस्रो मधेस आन्दोलनपछि जनकपुरको भानुचोकमा उभिएकी थिएँ। पारिपट्टि रोड पिच हँुदै थियो। पान पसलमा बसेका मानिसले भने, ‘रोडमा अलकत्रा कति पातलो बिछ्याएको छ। जो आउँछ किन कमसल काम मात्र गर्छ।’

नेताहरू आफ्नो नामको आगोमा राजनीतिको कुन रोटी सेक्दै छन् भन्ने कुरामा उनीहरूलाई कम चासो थियो। पहिलो मधेस आन्दोलनपछि फेरिएको स्थानीय सत्ताको मुहार र नफेरिएको नियत। यसैमा चिन्ता बढी देखिन्थ्यो। बरमजियाँ गाउँमा पुग्दा पनि गुनासो भ्रष्टाचारकै थियो। एउटा घरको आँगनमा भएको भेलामा एक महिलाले भनिन्, ‘हामीले यो सब संघर्ष जात र थर फेर्नका लागि गरेको होइन। नियति फेर्नको लागि गरेको हो।’

बाँकी मानिसले उस्तै मलिन स्वरमा बोले, ‘पहिलाभन्दा अहिले हालत खराब छ। पहिला काम गरेपछि रिसबत दिनुपथ्र्यो। अहिले काम हुुनुअघि नै बुझाउनुपर्छ।’ वाक्क छन्, नागरिक। तर सत्य यो हो जो मानिस हामीलाई शासन गरिरहेछन्, उनीहरू हाम्रै संस्कारका उत्पादन हुन्। के देखेर र सुनेर हामी हुर्कन्छौं, कस्तो संस्कार अवलम्बन गर्दै जान्छौं, यही कुराले सामूहिक संस्कार निर्माण हुन थाल्छ। त्यहीँभित्रबाटै सत्ता हाँक्ने मानिस तयार हुन्छ।

केदारनाथ सिनेमाबाट दृश्यमा आएकी भारतीय नायिका सारा अलि खानले भनिन्, ‘म एकल आमाले हुर्काएकी बच्चा हुँ। मलाई मेरो आमाले जीवन सरलतासँग बाँचेर उच्चतम मानवीय गुणहरू अवलम्बन गर्न सिकाउनुभयो। ब्रान्डेड सामान र भीआईपी ठाउँहरूमा सपिङ गर्न जान्नँ। दिल्लीका गल्लीहरूमा सामान किन्छु।’

सरल जीवनमा सानदार महसुस गर्न उनको यो भनाइले धेरै युवाहरूलाई मद्दत गर्दछ। आफ्नो शरीरमा टाँसिएको ब्रान्डले होइन, व्यक्तित्वको चमक र खुबीले उसको मूल्यनिर्धारण गर्न सिकाउँछ। सबै किसिमका भ्रष्टआचारहरू नै भ्रष्टाचार हो। अरू खराब आचारहरूले मानिसलाई आर्थिक भ्रष्टाचारका लागि तयार गर्दै लैजान्छन्। यही कारण पनि मानिसको आचरण र जीवनशैली निकै महŒवको कुरा हो।

महँगो कारले होइन, जेब्रा क्रसिङमा पैदलयात्रीसँग गर्ने चालकको व्यवहारले उसको ओजन बताउँछ। कारको ढोका कसरी खोल्छ वा रेस्टुराँमा काँटाचम्चा कसरी चलाँउछ भन्ने कुरा प्राविधिक हुन्। महŒवपूर्ण कुरा आफूलाई खाना सर्भ गरिरहेको श्रमिकसँग कति इज्जतले बोल्छ भन्ने हो। हातमा बाँधेको महँगो घडीले होइन, समयप्रतिको बफादारिताले मानिसको मूल्य बोलिरहेको हुन्छ।

सादा जीवन उच्च विचार भन्ने पुरातन आदर्श पनि चाहिँदैन। आफ्नो पेसाले दिने कमाइअनुसारको क्वालिटी लाइफ बिताउन सकिन्छ। डाक्टर, व्यापारी, राजनीतिज्ञ, पत्रकार, कलाकार आदिको जीवनशैली एकै हुनुपर्दैन। तुलनात्मक रूपमा कम कमाउने मानिसले पनि जानेर बाँच्यो भने समृद्ध जीवन जिउन सक्छ। हाम्रो पैसा केमा खर्च गर्दै छौं, यो थाहा पाउन जरूरी छ।

दुईचार पटक लगाएपछि नलगाउने कपडा, देखावटीका लागि गहना, टलक्क टल्किने तर एस्थेटिक सेन्स नदिने महँगा फर्निचर आदिमै हो पैसा जाने। कारखानाबाट निकालिएका एकैनासका सामान जस्तो होइन, मानिसको जीवनशैली। व्यक्तिवअनुसारको झलक दिने मोलिक जीवनशैलीको चमक अलग हुन्छ। ढंग पुर्‍याएर बाँच्ने कलासहितको समृद्ध मानसिकताले यो सबै हासिल हुन सक्छ।

आफ्ना सन्तानको मेहनत र सिर्जनात्मक कामको कमाइले सन्तुष्ट नहुने अभिभावक पनि हुन्, भ्रष्टाचारका कारण। त्यसैले परिवार पनि मेहनतको आयमा लाग्न प्रेरणा दिने खालको हुनुपर्छ।

पोहोर साल दार्जीलिङ जाँदै गर्दा बाटैभरि नबिराई देखेको एउटा कुरा थियो— फूलले ढाकिएका घर। साना हुन् वा ठूला, ढकमक्क फूल नमुस्कुराएको घर भेट्न मुस्किल हुन्थ्यो। दार्जीलिङ हँुदै सिक्किम जाने बाटोको दृश्य पनि उस्तै थियो। एक ठाउँमा जिप रोकियो। मैले एउटा घर नियालेर कल्पना गरें। यो घरबाट फूलका बोटहरू निकालिए कस्तो देखिएला। चित्र आयो।

त्यस्तै देखियो, जस्तो देखिन्छन् हाम्रो नेपालका बाटोहरूमा। दार्जीलिङको जुन घरमा म बसें, मध्यमवर्ग परिवारकै थियो। घरको आउटलुक हामीकहाँ सम्भ्रान्त वर्ग भनिने मानिसको भन्दा राम्रो थियो। साधारण सामानहरूमा देखिन्थ्यो, असाधारण एस्थेटिक सेन्स। थोरै पैसामा क्वालिटी लाइफ हुन सक्छ भन्ने दृष्टिकोण र प्रयोग प्रशस्त देखियो। पैसाको बिटाले र महँगा सामानले मात्र यो सबै दिँदैन।

एयरपोर्टबाट नेपाल आँउदै गर्दा देखिने बाटाका घरहरूको दृश्य, काठमाडौंका चारै नाकाबाट भित्र छिर्दा देखिने दृश्यको कल्पना गर्दा नै भारी लाग्छ— मैला घरहरू, फोहोर पर्दाहरू। विदेशबाट हजार हन्डर खाएर नेपाल आउने आफन्तहरू नछुटाई भन्छन् एक कुरा, ‘विदेशमा कति सफा, तरकारी पनि धुनैपर्दैन जस्तो।’ जस्तो दृश्य देखिन्छ, उज्यालो त्यसले समृद्धि बोल्छ र निम्त्याउँछ। बाटैमा बसेर पैसा टिप्नेहरूको धनको थुप्रो पनि होला।

भित्र तडकभडकयुक्त सामान पनि होलान्। तर आफ्नो मैलो घरले सहरकै रूप बिगारेर बस्ने दुःखी आत्माहरूले कमाएको धनको के अर्थ ? उनीहरूलाई धनी मानिस भन्न मिल्दैन। हामी कसरी बस्ने र कस्ता सामानमा पैसा खर्च गर्ने यही नजान्दा पैसा थुपार्ने होडमा समाज दौडिरहेको छ। एकैनासको तडकभडकपूर्ण जीवनशैली समृद्ध देखिँदैन। मौलिकता त परको कुरा भयो।

भर्खरै रिलिज भएको गोपी फिल्मको दृश्य छ— छोराले गाई पाल्न बाउसँग लगानी माग्छ। बाउले दिँदैनन्। अमेरिका जाने भए मात्र दिन्छु भन्छन्। यो दृश्य सिनेमाको होइन। अहिलेको घरघरको हो। आफ्ना सन्तानको मेहनत र सिर्जनात्मक कामको कमाइले सन्तुष्ट नहुने अभिभावक पनि हुन्, भ्रष्टाचारका कारण। त्यसैले परिवार पनि मेहनतको आयमा लाग्न प्रेरणा दिने खालको हुनुपर्छ। शरीरमा चम्किरहेको सुन र मुर्झाएको इमान रोज्ने कि इमानको तेजले चम्किरहेको जीवन ? यो ज्ञान युवामा भयो भने धेरै समस्या यहीँ टुंगिन्छ।

युवाहरूको जीवनशैलीले नै उनीहरूको चरित्र निर्माण गर्छ। चरित्रले नै भ्रष्टाचारविरुद्ध उभिने साहस पैदा गर्छ। सबैभन्दा ठूलो बाधक देखासिकी र लालच हो। परिवारमा आफ्नो पेसा र सोअनुसारको जीवनशैलीबारे स्पष्ट भनिदिनुपर्छ। हाम्रा चेतना लोभको तन्तुले गाँजेको हुन्छ भने निर्भयताको वृक्ष मौलाउन सक्दैन। भयसहितको मानिस खराब आचरणविरुद्ध एक मिनेट उभिन सक्दैन। हातमा नक्कली ब्रान्डकै घडी बाँधेर भए पनि सान देखाउने कि ऐनामा उभिएर अनुहार हेर्दा सानदार महसुस गर्ने ?

भ्रष्टाचारले मानिसको इमान र स्वाभिमानमा प्रहार गर्छ; यो त सामान्य हो। यसले उत्पादनशीलतामा विषको काम गर्छ। कृषि उत्पादन र बिक्रीदेखि कलकारखाना केही अघि बढ्न दिँदैन। किसानले बन्दाको मूल्य दुई रुपैयाँ नपाएर बारीमा डोजर चलाउँदै छन्। तर बिचौलियाले हामीसँग ४० रुपैयाँ लिँदै छन्।

कारखानाहरूमा काम गर्ने वातावरण रहरलाग्दो छैन। कतै केही उँभो लाग्न नदिने सलह भ्रष्टाचार नै हो। उत्पादनमूलक कामको गति धिमा छ, सिर्जनशीलता लगभग शून्य छ। जीवनशैली तडकभडकपूर्ण। सजिलो र सस्तो तरिकाबाट धेरै पैसा यही कारण चाहिएको छ।

स्थानीय तहदेखि राज्य तहसम्म फैलिएका राजनीतिक दलहरूको संस्थागत भ्रष्टाचार यसको मूल कारण हो। यसमा मलजल गरिरहको छ, हाम्रै जीवनशैलीले। अघि बढ्दै गरेका युवाहरूको जागरुकताले नै हो, त्यसलाई काबुमा ल्याउने। इमानी जनप्रतिनिधि छान्ने कामदेखि वडा तहका काममा खबरदारी गर्ने सबैमा उनीहरूको संलग्नता चाहिन्छ। दुई नम्बरी काम गर्ने व्यापारीको चन्दा होइन, नागरिकको मतले चल्ने पार्टीहरू चाहिन्छ। धेरै मत पाएको पार्टीलाई सरकारी सहयोग हुने सिस्टम चाहिन्छ। यसो हँुदा मन जित्ने नेतृत्व विकास हुन सक्छ।

डोल्पामा स्थानीय स्तरमा भ्रष्टाचारसँग जुधिरहेको एउटा युवा भेरीमा फालियो। उनी जस्तै धेरै भइदिएको भए ज्यान नजान सक्थ्यो। भ्रष्टाचारविरूद्ध बोल्नु आफैंमा जोखिमको काम हो। जोखिम उठाउने धेरै भइदिए त्यसको घनत्व कम हुन सक्छ। युवाहरूले समाजमा आफ्नो भूमिका खोज्ने भनेकै स्थानीय तहमा हो। यसका लागि बेलाबेलामा गरिने र्‍यालीको सहभागिताले पुग्दैन। जीवनशैलीमै निहित हुनुपर्छ भ्रष्टाचारविरोधी आचरण। ऐनामा हेरेर हामीले आफैंसँग आँखा जुधाउन सकेको दिन साहस त्यहीँबाट आउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.