अन्नपूर्णकर्मी पोखरेललाई शिक्षा पुरस्कार
बुटवल : अन्नपूर्ण पोस्ट्का प्रदेश ५ ब्यूरो संयोजक लक्ष्मण पोखरेल शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको पुरस्कारबाट पोखरेल पुरस्कृत भएका हुन्।
पत्रकार महासंघ रुपन्देहीको साधारणसभाका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगद १० हजार सहित उनलाई सम्मानपत्रबाट सम्मानित गरे। शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई महासंघले हरेक वर्ष सम्मान गर्दै आएको छ।
साधारणसभाकै अवसरमा पत्रकार डायलसन अधिकारी र भगवती पाण्डे समेत सम्मानित भएका छन्। बुटवल उपमहानगरबाट स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार पाण्डे र अधिकारीलाई प्रदान गरिएको हो। पुरस्कारको राशी जनही ५० हजार रहेको छ।
सञ्चारमन्त्री बास्कोटाले पत्रकारको पारिश्रमिक कार्यान्वयनमा लगेरै छाडिने बताए। मिडिया उद्योगको अवस्था सुधार समेत सरकारको दायित्व भएको भन्दै श्रमजीवीको हितमा सरकारले काम गरिरहेको उनले बताए।
उनले निष्पक्ष र सत्य कुरामा रहेर समाचार लेख्न समेत सुझाव दिए। ९० प्रतिशत सकारात्मक कुरालाई लुकाएर १० प्रतिशत नकारात्मक कुराको पछि लाग्न छाड्न उनले आग्रह गरे। सरकारविरुद्ध अनेक टिप्पणी भए पनि सुखी नेपाली र समृद्ध नेपालको यात्राबाट सरकार विचलित नहुने उनले दावी गरे।