विमानस्थलमै रोकिए अखिलेश
नयाँदिल्ली : भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री एवं समाजवादी पार्टी (सपा) अध्यक्ष अखिलेश यादवलाई लखनउ विमानस्थलमै रोकिएको छ। इलाहाबाद विश्वविद्यालयको छात्रसंघको कार्यक्रममा भाग लिन जान थालेका यादवलाई उत्तर प्रदेश सरकारले रोकेको हो। विश्वविद्यालयका विद्यार्थीले यादवको उपस्थितिबाट हिंसा भड्कने चेतावनी दिएपछि उनलाई रोक्नुपरेको योगी आदित्यनाथको प्रशासनले बताएको छ।
उक्त घटनाको बहुजन समाजवादी पार्टी (बसपा) नेतृ मायावतीले विरोध गरेकी छन्। उनले यसलाई लोकतन्त्रको हत्या भन्दै राज्य सरकारको तानाशाही कदम भएको दाबी गरिन्। यादव विद्यार्थी नेताको शपथ समारोहमा जान थालेका थिए। यादव चार्टर्ड जहाजबाट यात्रा गर्दै थिए। यसै विषयमा विधानसभा र विधानपरिषद्मा हंगामा मचिचएको थियो।
सपा र बसपाको गठबन्धनबाट अत्तालिएर भाजपाले बर्बर काम गरेको उनीहरूको भनाइ छ। यसैबारे भारतमा विपक्षी दल एकजुट भएका छन्। आफ्ना नेतालाई विमानस्थलमा रोकेपछि सपाका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए। यसै क्रममा भएका भिडन्तमा सपा कार्यकर्ता एवं नेता घाइते भएका छन्।
योगीले भने हिंसात्मक घटनाको त्रासका कारण यादवलाई रोक्नुपरेको बताएर उम्कने प्रयास गरेका छन्। विश्लेषकले भने यसलाई राजनीतिक बदलाको रूपमा उल्लेख गरेका छन्। गत साता उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पश्चिम बंगालमा तृणमूल नेतृ एवं मुख्यमन्त्री ममता बनर्जीले हेलिकप्टर अवतरण गर्न दिएकी थिइन्। उनी झारखण्डमा उत्रिएर पश्चिम बंगाल पुगेका थिए। त्यति बेला भाजपाको विरोधमा उभिएका सबै दल र नेताले ममताको उचित कदम भएको बताउँदै समर्थन गरेका थिए। यसअघि उत्तर प्रदेशमा मुख्यमन्त्री हुँदा यादवले पनि योगीलाई इलाहाबाद विश्वविद्यालयमा विद्यार्थीकै कार्यक्रममा जान प्रतिबन्ध लगाएका थिए। त्यतिखेर योगी गोरखपुर क्षेत्रबाट सांसद थिए।
यसै विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी उठेका छन्। ‘२० नोभेम्बर २०१५ मा गरेको कदमको फल मिलेको’, ’सबैको पालो आउँछ’, ‘हिराबकिताब बराबर’, ‘बदलाको भावना’ जस्ता टिप्पणी सामाजिक सञ्जालमा हुन थालेका छन्।
प्रतिक्रिया दिनुहोस !