इबोला क्वारेन्टिन केन्द्र बनाउने अमेरिकी योजनाले केन्यालीहरू किन छन् त्रसित ?
‘हामीसँग भागेर जाने अर्को देश छैन’
केन्या : अमेरिकाले आफ्ना नागरिकहरूका लागि इबोला क्वारेन्टिन केन्द्र स्थापना गर्न चाहेको केन्याको मध्यभागस्थित सहरका बासिन्दाहरूले उक्त योजनाको कडा आलोचना गरेका छन् । उनीहरूका अनुसार यसले आफूहरूलाई इबोला भाइरसको जोखिममा पार्न सक्छ र यो अमेरिकाको दोहोरो मापदण्डको उदाहरण हो ।
प्रस्तावित केन्द्रको स्थान मानिएको राजधानी नैरोबीबाट करिब १२० माइल टाढाको नान्युकीस्थित लाइकिपिया एयर बेस नजिक बस्ने ट्याक्सी चालक चाल्र्स माथेङ्गेले भने, ‘सबैलाई आफ्नै देशमा क्वारेन्टिन गरिनु पर्छ । विदेशीहरूले रोग ल्याएर हामीमाथि थोपर्नु हुँदैन । केन्या हाम्रो देश हो, यसको सुरक्षा गर्नुपर्छ ।’
पछिल्ला केही दिनयता देशभर यस विषयमा आक्रोश बढ्दो छ । सोमबार नान्युकीमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । डेभिड मुलिङ्गेले भने, ‘अचम्मको कुरा त के छ भने अमेरिकीहरू आफ्ना संक्रमित नागरिकलाई आफ्नै देशमा राख्न चाहँदैनन्, तर केन्या पठाउन चाहन्छन् । यसले हामीलाई कम दर्जाको मानिस ठानेको जस्तो देखाउँछ ।’
हाल युगाण्डा डेक्रोकेट रिपब्लिक अफ द कङ्गोमा स्वास्थ्य अधिकारीहरू इबोला प्रकोप नियन्त्रण गर्न संघर्षरत छन् । मे १५ मा प्रकोप घोषणा गरिएको भए पनि त्यसअघि केही सातादेखि भाइरस फैलिइरहेको अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको यो महामारी दुर्लभ बुण्डिबुग्यो भाइरसका कारण फैलिएको हो, जसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन ।
डब्लुएचओका अनुसार मङ्गलबारसम्म डिआरसीमा ६० जनाको मृत्यु र ३४४ पुष्टि भएका संक्रमित छन् भने युगाण्डामा एक जनाको मृत्यु र नौ संक्रमित पुष्टि भएका छन् । केन्यामा भने हालसम्म कुनै संक्रमण पुष्टि भएको छैन । अमेरिकी सरकारले नान्युकी केन्द्र सञ्चालनका लागि ३० जना स्वास्थ्यकर्मी पठाउने योजना बनाएको छ । निर्माण सम्पन्न भएमा केन्द्रमा ५० शैंया हुनेछन् ।
यसअघि भएका इबोला प्रकोपहरूमा अमेरिकाले प्रभावित आफ्ना नागरिकलाई उपचारका लागि स्वदेश फर्काउने गरेको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मे २८ मा भनेका थिए, ‘हामी सम्भावित इबोला बिरामीहरूलाई अमेरिकाभित्र प्रवेश गर्न दिन सक्दैनौँ र दिने पनि छैनौँ ।’ गत महिना डिआरसीमा इबोला संक्रमित एक अमेरिकी चिकित्सकलाई उपचारका लागि जर्मनी लगिएको थियो । उनकी पत्नी र चार सन्तान पनि सँगै थिए ।
यस प्रस्तावले केन्यामा व्यापक विरोध जन्माएको छ । केन्या मेडिकल प्राक्टिसनर्स, फार्मासिस्ट्स एन्ड डेन्टिस्ट्स युनियनका डा. दाभ्जी अतेल्लाहले भने, ‘केन्यालाई रोग नियन्त्रण उपनिवेश जस्तो व्यवहार गरिएको हामी चुप लागेर हेर्न सक्दैनौँ । यदि अमेरिका लागि धेरै जोखिमपूर्ण छ भने केन्याका लागि पनि त्यत्तिकै जोखिमपूर्ण हो ।’
केन्याली गैरनाफामूलक संस्था कबिता इन्स्टिच्युटले दायर गरेको निवेदनपछि नैरोबी उच्च अदालतले गत साता केन्द्र स्थापना र इबोलाको सम्पर्कमा आएका व्यक्तिहरूलाई देशभित्र प्रवेश गराउने प्रक्रिया अस्थायी रूपमा रोकेको थियो । संस्थाले केन्या र अमेरिका सरकारबीचको सम्झौताले सार्वजनिक स्वास्थ्य, सुशासन र राष्ट्रिय सार्वभौमिकतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । अमेरिकी विदेश सहायता, मानवीय मामिला तथा धार्मिक स्वतन्त्रतासम्बन्धी उपसचिव जेरेमी लेविनले अमेरिकी सरकार केन्याली अधिकारीहरूसँग सम्पर्कमा रहेको र समस्या समाधान हुनेमा आशावादी रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !