सुस्त स्थानीय सरकार

सुस्त स्थानीय सरकार

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिकाले चीनसँग जोड्ने सडक स्तरोन्नतिका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। वडा नम्बर ७ ओलाङचुङगोलामा ४८ लाखका विकास योजना छन्। तर, काम सुरु भएको छैन। विवादका बीच सिँवा–छिरुवा मोटरबाटोको उपभोक्ता समिति गठन भएको छ। तर, ५० लाखको उक्त योजना पनि अघि बढेको छैन।

यी योजनामा उपभोक्ता समिति गठन भए पनि सम्झौता नभएको गाउँपालिकाले जनाएको छ। हिमाली भेग र भौगोलिक विकटताका कारण काम गर्न कठिनाइ रहेको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन वालुङले बताए। जिल्लाका अन्य स्थानीय तहको काम गराइ सुस्त देखिएको छ। विकास बजेट कुनैले पनि ५० प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छैनन्। ‘हिउँ पर्ने र बढी चिसो हुने हुँदा काम गर्न नसकिएको हो’, उनले भने, ‘अब चिसो घट्दै गयो सम्झौता गरेर काम सुरु गर्छौं।’

अन्य वडामा अलि बढी काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले सुनाए। ‘ठूलो भूगोल छ, यातायातको पहुँच छैन’, उनले भने, ‘बैंक खाता खोल्न दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्छ।’ ३ करोड ८० लाख पुँजीगत बजेट छ। ५० लाखको मात्र योजना सम्पन्न भएर भुक्तानी भएको उनले बताए।

मेरिङ्देन गाउँपालिकामा ३ करोड ४८ लाख विकास बजेट छ। २ सयभन्दा बढी योजना छन्। ४० वटा मात्र सम्पन्न भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। ‘दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन्। ६ वडामा एक जना मात्र वडासचिव छन्’, उनले भने, ‘त्यसैले सोचेअनुरूप काम गर्न सकिएन।’ स्वास्थ्य हेर्ने कर्मचारीलाई निमित्त तोकी मन्त्रालयबाट उनका नाममा आर्थिक अख्तियारी ल्याएर काम सुरु गरेको उनले बताए।

फुङलिङ नगरपालिकामा २ सय ३ वटा योजना छन्। पुससम्म १ सय २७ योजनामा उपभोक्ता समिति गठन भयो। ८९ योजनाको सम्झौता र २८ वटाको मात्र काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ। १७ करोड १८ लाख पुँजीगत बजेट छ। आधा समय सकिँदा १३ प्रतिशत मात्र प्रगति भएको छ।

पाथीभरा याङ्वरकमा ३३ प्रतिशत मात्र काम भएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए। ‘हाम्रो मेसिन खरिद गर्ने योजना असफल भएकाले पनि काममा केही ढिलाइ भयो’, उनले भने, ‘अर्कातिर लागत साझेदारी प्रत्येक योजनाबाट ५ प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नुपर्ने नियम बनाएका छौं। त्यसले गर्दा उपभोक्ता सम्झौताका लागि ढिलाइ गरिरहेका छन्।’

सिरिजंघा गाउँपालिकामा योजनाको लागत स्टिमेट सकिएको छ। ५० प्रतिशत भुक्तानी भइसकेको प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईले बताए। १० करोड ४५ लाख पुँजीगत बजेट रहेको मैवाखोला गाउँपालिकामा २ सय ३५ विकास योजना छन्। ३० प्रतिशत खर्च मात्र भएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए। मंगलबारसम्म ७० प्रतिशत योजनाको सम्झौता भएको छ।

स्थानीय सरकार क्रियाशील भएपछि विकासको गति बढे पनि अपेक्षाअनुसार काम हुन नसकेको स्थानीय बताउँछन्। स्थानीय तहले माघ १५ सम्ममा योजनाको सम्झौता सकेर वैशाखमै सम्पन्न गर्ने लक्ष्य राखेका थिए। जेठपछि भुक्तानी नदिने नियम बनाएका छन्। तर, सोअनुरूप काम भएको छैन। ‘जति अपेक्षा गरेका थियौं। सोअनुसार हुन सकेन’, मेरिङ्देन गाउँपालिकाका देउमान लंवाले भने, ‘धेरै ठाउँमा त पहिलेजस्तो असारमा मात्र खर्च गर्ने प्रवृत्ति दोहोरिने देखिन्छ। यसले गाउँमा विकासको अनुभूति गर्न पाइएन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.