अरुणमा पुल बनाउने समझदारी

अरुणमा पुल बनाउने समझदारी

भोजपुर : अरुण नदीको लम्छुवा घाटमा पक्की पुल बनाउने प्रतिबद्धतापछि स्थानीयको आन्दोलन मंगलबार स्थगन भएको छ। ठेकेदार स्वच्छन्द निर्माण सेवाले भोजपुर षडानन्द र संखुवासभा खाँदबारी जोड्ने पुल अलपत्र छाडेको थियो। उक्त ठाउँमा पुल बनाउनुपर्ने मागसहित स्थानीय एक सातादेखि आन्दोलित थिए। उनीहरू अरुण नदी लम्छुवा घाट पक्की पुल बनाऔं संघर्ष समिति गठन गरेका थिए।

षडानन्द नगरपालिकाका जनप्रतिनिधिले तत्काल पुल निर्माण अघि बढाउने सहमति जनाएका छन्। २०७७÷७८ सम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी काम थालिने भएको छ। पुल निर्माणमा ढिलासुस्तीको जिम्मेवारी नगरपालिकाले लिएपछि आन्दोलन रोकिएको स्थानीय तारावल्लभ अधिकारीले बताए। उनका अनुसार आठ वर्षसम्म पुल अलपत्र छाडिएको थियो। उनीहरूले दिनहुँ नगरपालिका कार्यालय घेराउ गर्दा काम ठप्प बनेको थियो।

ठेकेदार कम्पनीसँग सम्पर्क गरी फागुनभित्र काम अघि बढाउने सहमति भएको संघर्ष समितिका संयोजक दिलकुमार राईले बताए। अलपत्र पुलको काम थाल्ने वातावरण बनाउन प्रदेश १ सरकार र संघीय सरकारसँग अनुरोध गरिएको उपमेयर मेरिका राईले सुनाइन्। ‘नगरपालिकाले पहल गरेन भनेर जनताले हामीलाई आरोप लगाएका छन्’, उनले भनिन्, ‘हामीले पटक–पटक प्रदेश र संघीय सरकारसमक्ष यो विषयमा कुरा राखेका छौं।’ समयमै पुल नबनेपछि स्थानीयवासी आक्रोशित भएको उनले बताइन्।

सडक विभागको बेवास्ता र ठेकेदारको लापरवाहीले पुल नबन्दा भोजपुरको उत्तरी क्षेत्रवासीले सास्ती भोग्दै आएका छन्। लम्छुवा पुल निर्माण सरोकार समितिका संयोजक सुरेश भण्डारीले पुल नबन्दा ७० हजार स्थानीयले सास्ती खेपिरहेको बताए। ‘अब पनि झारा टार्ने काम भए जस्तोसुकै आन्दोलन गर्न तयार छौं’, उनले भने, ‘यहाँका सर्वसाधारणले पुल अभावमा कहिलेसम्म जोखिम मोलेर यात्रा गरिरहून् ? ’ उनका अुनसार पुल नहुँदा सर्वसाधारणले जोखिम मोलेर डुंगाको यात्रा गर्नुपरिरहेको छ। सामान ढुवानीमा समस्या बेहोर्दै आउनुपरेको छ।

१ सय ६७ मिटरको पुल २०७२ असोजभित्र निर्माण सक्नुपथ्र्यो। तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले २०६७ मा शिलान्यास गरेका थिए। त्यसपछि चारवटा पिलर ठड्याउने काम मात्र भएको छ। पुलको काम ३० प्रतिशत भएको हो। स्वच्छन्द निर्माण सेवाले २०६७ असार २५ को सम्झौतापछि खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै काम छाडेको थियो।

चारवटा पिलर १६ मिटर गहिराइसम्म गाडिनुपर्ने डिजाइन छ। तर, आधा भागमा चट्टान भेटिएको र त्यसलाई फुटाउन नसकिएकाले डिजाइन परिवर्तन प्रक्रियामा रहेको सडक डिभिजन तुम्लिङटारले जनाएको छ। पुनः डिजाइनपछि निर्माण खर्च १६ करोड ६३ लाख पु¥याइएको छ। दुई प्रकारको डिजाइन रहेको पुलको ७७ मिटर स्टिल ट्रस्ट र ८० मिटर आरसीसी ढलान हुनुपर्नेछ। थप डिजाइनमा लम्बाइ २ सय ४७ मिटरको पुल बन्ने भए पनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.