प्रेम उपहारमा पुस्तक

प्रेम उपहारमा पुस्तक

प्रेम गर्ने व्यक्तिले पुस्तकलाई उपहारका रूपमा प्रदान गर्दा सम्झनासँगै ज्ञानको क्षेत्र पनि बढ्न सक्छ।


काठमाडौं : आज १४ फेब्रुअरी। प्रेमको पर्व भ्यालेन्टाइन डेसँगै ‘अन्तर्राष्ट्रिय पुस्तक उपहार’ दिवस पनि मनाइँदै छ। प्रणय दिवसको सप्ताह चलिरहँदा यसको प्रभाव सहरबजारमा मज्जैले परेको छ। प्रेमको प्रतीक मानिने रातो गुलाब उत्साहजनक रूपमा बिक्री भएको व्यापारी बताउँछन्। यसकै अवसरमा विभिन्न मल र सुपर मार्केटमा उपहार किन्नेको घुइँचो पनि छ। सहर प्रेममय बनेको छ।

प्रेम दिवसकै दिन पर्ने पुस्तक उपहार दिवसका बारेमा भने धेरै व्यक्ति जानकार छैनन्। पछिल्लो समय पुस्तक अध्ययनमा युवापुस्ताको रुचि बढ्दै गए पनि पुस्तक उपहार दिने पर्व भने कमैले मनाउने गर्छन्। पुस्तकसँग आफ्नो प्लाटोनिक रूपको प्रेम बसेको बताउँदै लेखक अभय श्रेष्ठले पुस्तकप्रेमको दायरा फराकिलो भएको जानकारी दिए। बाल्यकालमा आफू अत्यन्तै अन्तर्मुखी स्वभावको भएकाले साथी खोज्ने क्रममा लालहीरा, मधुमालतीको कथा जस्ता दन्त्यकथालाई साथी बनाएको अनुभव उनले सुनाए।

यस्तै लेखक तथा स्तम्भकार युग पाठक भने पारिजातले कठिन शारीरिक अवस्थाका बीच लेखन र बौद्धिक आन्दोलनमा गरेको जुझारु योगदानबाट प्रभावित भएर पुस्तकको संगतमा आएको बताए। पढ्ने र लेख्ने कुरासँग आफूले जीवनको लय मिलाएको बताउँदै पाठकले पुस्तकको माध्यमबाटै हरेक समस्या र अप्ठ्यारो अवस्थामा जुध्न सक्ने साहस बटुलेको बताए।

पुस्तक बिनाको संसार आफ्नो कल्पना बाहिरको कुरा हो भन्छिन् कवि सरिता तिवारी। आफ्नो सोचाइ र विचार परिवर्तन गर्न सक्ने खालका पुस्तकमा आफ्नो रुचि भएको बताउँदै उनले बाल्यकालमै दाजुको संगतबाट पुस्तकप्रेम बसेको जानकारी दिइन्।

उनका दाजु कम्युनिस्ट आन्दोलनबाट प्रभावित भएकाले घरमा प्रशस्त मात्रामा वैचारिक आन्दोलनका किताब ल्याउँथे। सरिताले सानो उमेरमै रुसी र चिनियाँ साहित्यका धेरै किताब पढ्ने मौका पाइन्। आफूले धेरै साथीलाई पुस्तक उपहार दिएको सम्झना गर्दै आफूले पनि उपहारस्वरूप अनगिन्ती पुस्तक प्राप्त गरेको तिवारी बताउँछिन्।

युग पाठक साथीको जन्मदिन वा अन्य अकेजनमा पुस्तक नै उपहार दिन्छन्। साथी सर्कल, आफ्नो विचारबाट प्रभावित विभिन्न व्यक्तिले पुस्तक ल्याइदिने गरेको पाठकले सुनाए। प्रेम गर्ने व्यक्तिले पुस्तकलाई उपहारको रूपमा प्रदान गर्दा सम्झनासँगै ज्ञानको क्षेत्र पनि बढ्न सक्छ। त्यसैले पुस्तक उपहार दिने चलन अत्यन्तै राम्रो भएको तर्क गरे उनले।

एक्लोपनको सिकार भएको बेला होस् या निराश र दिक्दारीको बेला, पुस्तकले सान्त्वना दिने गरेको बताउँछन् अभय श्रेष्ठ। प्रेम दिवसकै दिन पर्ने पुस्तक उपहार दिवसमा आफूलाई महिला साथीले पुस्तकहरू दिएको सम्झना छ श्रेष्ठसँग। उनले पनि कसैलाई उपहार दिनुप¥यो भने पुस्तक नै पहिलो रोजाइमा पर्ने गरेको बताए।

मूर्त अक्षरमा पोखिएका अर्मूत भावना भएको अक्षरसँग आफ्नो वेहद प्रेम बसेको बताउने सगुना साह जीवन बुझ्न पुस्तक पढ्ने बताउँछिन्। कसैलाई प्रेम वा आत्मीयता दर्शाउन उनले पुस्तककै सहारा लिने गरेको अनुभव सुनाइन्। साहकी आमा पनि पुस्तकप्रेमी भएकीले हुर्कने क्रममै पुस्तकसँग गहिरो अट्याजमेन्ट भएको उनले बताइन्। फिक्सन, बायोग्राफी, मिथ तथा दर्शनका पुस्तकमा आफ्नो विशेष रुचि भएको जानकारी दिँदै उनले एकैपटक तीनचारवटा पुस्तक पढ्न सुरु गर्ने गरेको बताइन्।

पढ्नु आफ्नो प्यासन भएकाले पुस्तकको संगत गर्न मन पर्ने बताउँछन् लेखक सुजित मैनाली। उनले पुस्तकबाटै आफूले नदेखेको कुराको जानकारी पाइने, ६ वटा इन्द्रियले महसुस गर्न नसक्ने कुरा घरमै बसेर फिल गर्न पाइने हुँदा पनि पुस्तक पढ्ने रुचि बसेको मैनालीले बताए। उनले प्रेमिकालाई भने अहिलेसम्म कुनै पुस्तक उपहार नदिएको सुनाए।

पुस्तकले ज्ञानको दायरा फराकिलो बनाउन सहयोग गर्ने बताउँदै उनले हरेक अकेजनमा पुस्तक उपहार दिने चलन सुरु गर्नुपर्ने बताए। हेनरी किसिन्जरको पुस्तक डिप्लोमेसी आफूलाई गुरुले उपहार दिएको सुनाए। फेसन र सौन्दर्य क्षेत्रमा रुचि राख्ने प्रीति कार्कीको फुर्सद हुनासाथ पुस्तक पढ्ने बानी छ।

पुस्तकले मानिसको चेतनाको लेभल खुल्ने, कल्पनाशील र व्यावहारिक हुन सिकाउने बताउँदै उनले उत्प्रेरणामूलक नारीवादी पुस्तक पढ्न मन पर्ने जानकारी दिइन्। दुःख पर्दा पुस्तकका पात्रमा आफूलाई पाउने र पीडा भुलाउन पनि शब्दसँगै रुने बानी उनको छ। भन्छिन्, ‘पुस्तक मेरा लागि नजिकको प्रेमी हो।’ आफ्नो दराज, ब्याग, किचन जताततै पुस्तक रहने बताउँदै कार्कीले धेरै साथीबाट पुस्तक उपहार पाएको र आफूले पनि दिएको जानकारी दिइन्।

अभय श्रेष्ठका अनुसार प्रेम व्यक्त गर्न पुस्तक उपयुक्त हुन सक्छ। प्रेमलाई व्यापार हुनबाट जोगाउन, आफ्नो ऊप्रतिको फिलिङ्स बुझाउन पनि पुस्तक उपहार अत्यन्तै लाभदायक हुने उनको बुझाइ छ।

अन्ना करेनिना उपन्यासको अन्ना पात्रले गरेको अप्ठ्यारो निर्णय र प्रेमप्रतिको समर्पणबाट अत्यन्तै प्रभावित भएका युग पाठक आफ्नो लेखनमा पनि पढेका पुस्तकको प्रभाव पर्ने गरेको बताउँछन्। साथीको बिहेमा पुस्तक उपहार दिने चलनको सुरुआत आफूले गरेको उनले बताए। उनका अनुसार पुस्तकले हिम्मत दिन्छ, आफूले खोजेको विषयमा प्रशस्त ज्ञान दिन्छ। प्रेम गर्ने जोडीले पनि पुस्तक उपहार दिने बानीको सुरु गरे आधुनिक कृत्रिम सजावटका सामानभन्दा लाखौं गुणा उत्तम हुने उनको सुझाव छ।

पुस्तक उपहार दिन कुनै दिवस नपर्खने बताउँदै सरिता तिवारी भन्छिन्, ‘पढ्ने बानीले मेरो जीवनशैली नै बदलिदियो।’ पुस्तकलाई प्रेमउपहारको रूपमा दिँदा उपहारसँगै विचार पनि दिइने हुँदा यो लाभकर हुने उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.