भरिया समातिन्छन्, तस्कर उम्किन्छन्

भरिया समातिन्छन्, तस्कर उम्किन्छन्

धादिङ : पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडकअन्तर्गत गजुरी–१ घाटबेंसीबाट ३ सय ६० किलो चरेससहित तीन भारतीय माघ २७ मा पक्राउ परे। काठमाडौंबाट भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चरेस बरामद गरेको हो। पक्राउ पर्नेमा चालक ओमप्रकाश, सहचालक मोरपाल बर्मा र गुलाव खान छन्।

० २ सय ३५ किलो चरेससहित पुस १९ मा दुई भारतीय नै गजुरी बजारबाट पक्राउ परे। काठमाठौंबाट भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरका चालक सत्यन्द्रसिंह वेघल र सहचालक मोहम्मद गद्दी पक्राउ परेका हुन्।

०बेनीघाट रोराङ गाउँपालिका–२ स्थित ओवाङ गाउँबाट ५ सय ७० किलो गाँजा र पाँच नाल बन्दुकसहित मंसिर २९ मा तीन पक्राउ परे। पक्राउ पर्नेमा स्थानीय गुञ्जबहादुर घलान, ठूलो कान्छा तामाङ र सानो कान्छा तामाङ छन्। उनीहरू भरिया मात्र हुन् कि तस्करीका मालिक हुन् भनेर प्रहरीले पत्ता लगाउन सकेन।

यी तीनै घटनामा केही स्थानीय र तस्करी हुँदै गरेको सवारी साधनका चालक र सहचालक मात्र पक्राउ परेका छन्। खान भने लामो समयदेखि चरेस ओसारपसारमा संलग्न देखिएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले बताए। उनका अनुसार चरेस र गाँजासँग भरिया मात्र पक्राउ परिरहेका छन्।

राजमार्ग आसपासबाट तीन वर्षमा ८ सय १२ किलो गाँजा, १ हजार ४६ किलो चरेस र ५ सय ४७ एम्पुल नुर्फिन, डाइजेपामलगायत बरामद भयो। ९२ जनालाई प्रहरीले पक्राउ गर्‍यो। तर, भरिया र प्रयोगकर्ता मात्र पक्राउ पर्ने र मुख्य कारोबारी उम्कने गरेकाले लागुऔषध तस्करी रोकिएको छैन।

चरेसको मुख्य कारोबारी पक्राउ गर्न भरियाबाटै अनुसन्धान गरिरहेको प्रहरी अधिकारीको भनाइ छ। ‘गाँजा खेती हुने ठाउँ पहिचान गरी जनचेतनामूलक कार्यक्रम गर्नेछौं’, एसपी बैदवारले भने, ‘उनीहरूलाई विकल्प दिन स्थानीय तहसँग समन्वय गर्ने योजना छ।’ नचिनेका व्यक्तिका सामान बोकिदिँदा ठूलै रकम पाउने प्रलोभनमा फसेको अभियुक्त बताउँछन्।

धादिङका किरान चोक, पीडा, महादेवस्थान, तसर्पुसहित महाभारत र चुरे क्षेत्रका गाउँमा गाँजा खेती हुने गरेको छ। गाँजाबाट बनाइने चरेस तस्करी रोक्न प्रहरीले खेती नष्ट गर्ने अभियान पनि चलाएको छ। पाँच वर्षमा ३ हजार १ सय रोपनीभन्दा बढी क्षेत्रफलमा गाँजाका बोट नष्ट गरिएको छ। तापनि, तस्करीमा कमी आएको छैन। खाद्य अधिकार जिल्ला सञ्जालका राजेन्द्र बस्नेतले स्थानीय तहले गाँजा खेती गर्नेलाई राम्रो विकल्प दिनुपर्ने बताए। ‘अवैध हो, कुनै दिन पक्राउ परिन्छ भन्ने थाहा छ’, उनले भने, ‘तर, गाँजा खेतीको विकल्प स्थानीयले पाएका छैनन्।’

सञ्जालका अनुसार धादिङ र मकवारपुरको सीमा क्षेत्रमा १० हजारभन्दा बढी रोपनीमा यसको खेती हुन्छ। त्यसमा ५ हजार परिवार आबद्ध छन्। २०७३ पुस २७ मा ४० किलो चरेससहित चार जना पक्राउ परेका थिए। यस्तै, २०७४ जेठ २३ मा ७० किलो, त्यही वर्ष माघ २१ मा १ सय ६० किलो र चैत २३ मा १ सय ६० किलो चरेस बरामद भएको थियो। यी घटनामा एक–एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

विगत २ वर्षको गाँजा–चरेश तस्करी श्रृंखला
२०७३ पुस २७ मा ४० किलो चरेश सहित ४ जना पक्राउ
२०७४ जेठ २३ मा ७० किलो चरेश सहित १ पक्राउ
२०७४ माघ २१ मा १ सय ६० किलो चरेश सहित १ पक्राउ
२०७४ चैत २३ मा १ सय ६० किलो ६ सय ग्राम चरेश सहित १ पक्राउ
२०७५ मंसिर २९ गते ५ सय ७० केजी गाँजा सहित ३ पक्राउ
२०७५ पुस १९ गते २ सय ३५ केजी चरेश सहित २ भारतिय नागरिक पक्राउ
२०७५ माघ २७ गते ३ सय ६० केजी चरेश सहित ३ भारतिय नागरिक पक्राउ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.