जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो
काठमाडौं : जैस ए मोहम्मद मूख्यत: मुस्लिम अतिवादी धार्मिक समुह हो । यो समुहका सदस्यले आफूलाई मोहम्मदका सेना दावी गर्छन् । अफगानिस्तान, पाकिस्तान र भारतमा सक्रिय यो समुह विवादित क्षेत्र कश्मीरलाई भारतबाट अलग्याउने उद्देश्य रहेको बताउँछ ।
मुस्लिम धर्म अन्तर्गत सुन्नी समुदायसँग जोडिएको जैस ए मोहम्मदले यसअघि पटक पटक भारतमा विस्फोटक हमला गरिसकेको छ । पाकिस्तान, भारत, अफगानिस्तान, युएई, बेलायत र अष्ट्रेलियासम्म यसको सञ्जाल रहेको बताइन्छ ।
अफगानिस्ता र पाकिस्तानमा सक्रिय तालिबान र अलकायदानिकट मानिने यो समुहले केही हमलामा गठबन्धन नै गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलले बताउँदै आएका छन् ।
आतंकको सुरुवात
सन् २००० अप्रिल २० मा पहिलो पटक कश्मीरस्थित भारतीय सेनाको ब्यारेकमाथि आत्मघाती हमलासँगै यो समूहले आफ्नो प्रभाव देखाएको थियो । यो हमलासँगै जैस ए ले पाक-भारतको विवादित क्षेत्र कश्मिरमा त्यही हमलासँगै आफ्नो उपस्थितिको सन्देश दिएको थियो । कश्मीरमा भएको पहिलो आक्रमणमा ५ जना भारतीय सैनिक मारिएका थिए ।
सन् २००१ अक्टोबरमा जम्मु-कश्मिरको विधानसभा भवनमा अर्को हमला गर्यो । जहाँ ३८ जनाले ज्यान गुमाएका थिए । यसको दुई महिनापछि डिसेम्बरमा लस्कर ए तैबाका लडाकुसँग मिलेर यसका लडाकुहरुले भारतको संसद भवनमै धावा बोले । त्यस हमलामा आठजना सुरक्षाकर्मी र बगैंचामा काम गरिरहेका एक कामदार मारिए । तर उक्त हमलापछि केही बेरमै सुरक्षाकर्मीले अवस्थालाई नियन्त्रणमा लिए ।
यो घटनामा पनि जैस ए मोहम्मदले तत्कालै जिम्मेवारी त त लियो तर भोलिपल्टै आईएसआईको दबाव भन्दै घोषणा फिर्ता पनि गर्यो । तत्कालिन भारत सरकारले लस्कर ए तैबा र जैस ए मोहम्मद नै यो घटनामा संलग्न भन्दै उनीहरुविरुद्ध कारवाही घोषणा गर्यो । भारत सरकारको आक्रमक कदमपछि जैस ए मोहम्मदका चार कार्यकर्ता तत्कालै पक्राउ परे । यही घटनामा संलग्न भन्दै भारत सरकारले अफजल गुरुलाई फाँसी पनि दियो ।भारतको संसद्मै भएको यस्तो हमलाबारे धेरै टिप्पणी भए । सुरक्षाविदले यस हमलालाई आधुनिक आतंकवादको नयाँ रुप बताउँदै यसलाई भयानक र विश्वमै फरक किसिमको भनी टिप्पणी गर्छन् ।
भारतले उक्त घटनालाई लोकतन्त्रमाथिकै हमला भन्दै ठूलो संख्यामा पाकिस्तानसँगको सीमाक्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्यो । त्यही ‘कारवाही’को श्रृंखला निरन्तर १५ वर्षसम्म चलिरहेको हो ।
पाकिस्तान कनेक्सन र प्रतिबन्ध
यस क्रममा तत्कालिन पाकिस्तानी प्रधानमन्त्री परवेज मुसर्रफले कश्मीरको नाममा कसैलाई पनि आतंकवादी गतिविधिमा संलग्न हुने छुट नहुने भन्दै जैस ए मोहम्मदसहित पाँच अतिवादी समुहलाई प्रतिबन्ध लगाए ।
मुसर्रफको घोषणापछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरबाट सयौं हतियारधारी कार्यकर्ता पनि समातिए । तर, सन् २००२ को मार्चसम्ममा उनीहरु सबै मुक्त भए ।
सन् २००१ मा जब अमेरिकाले जैस ए मोहम्मदलाई अन्तर्राष्ट्रिय आतंकवादी समुहको सूचीमा राख्यो, तब यस समुहले आफ्नो नाम फेर्दै तेहरिक एल फुर्कानका रुपमा चिनाउन थाल्यो । जैस ए मोहम्मदलाई संयुक्त राष्ट्रसंघले सन् २००१ अक्टोबरमा र अमेरिकाले सन् २००१ डिसेम्बरमा अन्तर्राष्ट्रिय आतंकवादी संस्थाको सूचीमा राखेका थिए ।
पाकिस्तानले सन् २००२ जनवरीमा यसलाई प्रतिबन्ध लगाएपछि यसले आफ्नो नाम खुद्याम एल इस्लाम राखेको थियो । खुद्याम स्वयम् पनि सन् २००३ मा प्रतिबन्धित भयो । यसपछि उक्त समुहले आफूलाई अल रहमत ट्रस्टका रुपमा चिनाउन थाल्यो ।
विभाजन
राष्ट्रसंघ र अमेरिकासम्मको प्रतिबन्धमा परिरहेको अवस्थामा नेतृत्व र सदस्यहरुको विवादका कारण जैस ए मोहम्मद दुई समुहमा विभाजित भइसकेको थियो । केही मुख्य नेता नै यस समुहबाट अलग भए ।
सन् २००२ देखि यो समूहले आत्मघाती हमलालाई प्राथमिकता दिन थाल्यो । खासगरी पाकिस्तानकै ठूला सहरमा उनीहरुले आफ्नो मिसन लक्षित गर्न थाले ।
औपचारिक रुपमा २००४ देखि प्रतिबन्ध लगाइए पनि यसका नेता मसूद अजरलाई पाकिस्तानले नै संरक्षण दिएको आरोप भारतले लगाउँदै आएको छ ।
भारतीय मिडियाहरुले त पाकिस्तानको बहलपुरमा यसको भव्य भवन नै रहेको जिकिर गर्दै आएका छन् । जहाँ स्वीमिङ पुल, पार्क जस्ता विलाशी सुविधा पनि रहेको बताइन्छ । सहरको केन्द्रमै समुहले एउटा मद्रसा नै सञ्चालन गरेको छ । जहाँ हरेक वर्ष सयौँ बालबालिका पढ्छन् ।
मोदीलाई नै धम्की
सन् २००८ मा यस समुहले पाकिस्तानी सहरमा तीनदिने र्याली नै चलायो । यसका कमान्डर मसूद अजर सन् २०१४ सम्म भूमिगत शैलीमा सामान्य जीवनयापनमै थिए । बेलाबेला भारत र अमेरिकालाई भयानक हमला गर्ने धम्की भने उनले दिइरहन्थे ।
उनकै नेतृत्वमा ३ सय भन्दा बढी आत्मघाती हमला पनि भएको छ । अनौठो त के भने उनै मसूदले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्नुअघि ‘यदि मोदी भारतको प्रधानमन्त्री बनेको खण्डमा हत्या गर्ने’भन्दै सार्वजनिक धम्की दिएका थिए ।
उरीमा घातक हमला
सन् २०१६ मा यो समूहले भारतीय सेनामाथि घातक हमला गर्यो । जैस ए मोहम्मदले कश्मिरको उरीस्थित भारतीय सेनाको ब्रिगेड मुख्यालयमै हमला गरे । जहाँ दर्जन बढी सुरक्षाकर्मी मारिएका थिए । यस समुहको हमला यतिन्जेलसम्म यति बढिसकेको थियो कि, भारतीय तत्कालिन गृहमन्त्रीले पाकिस्तानलाई ‘आतंकवादी राज्य’ भनेर टिप्पणी गरे ।
ठुलो आक्रमण
यही समुहले बिहीबार ४२ जना भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी हमला गर्यो । यसबाट भारत र पाकिस्तानबीचको शीतयुद्ध थप तनावमय हुने आशंका गरिएको छ ।
भारतमा चुनावको मुखमै यस्तो हमला हुनुलाई चासोका साथ हेरिएको छ । भारत सरकारले हमलापछि हमला गर्नेले ठूलो मुल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित सम्बोधन गर्दै हमलाकर्ताले ठूलो गल्ती गरेको बताए । उनले अब उनीहरुले ठूलो मुल्य चुकाउनुपर्ने बताए । मोदीले आफूहरु सुरक्षामा केन्द्रित रहेको भन्दै आतंकवादी हमला निस्तेज पार्ने चेतावनी पनि दिएका छन् ।
(एजेन्सीको सहयोगमा)