टाउकोजत्रै ट्युमर !

टाउकोजत्रै ट्युमर !

नरैनापुर (बाँके) : बायाँ गालामा टाउकोजत्रै मासुको डल्लो झुन्डिएको छ। झट्ट हेर्दा दुई वटा टाउको जस्तै देखिन्छ। नरैनापुर गाउँपालिका–६ दोन्द्राका मुलायमले ट्युमरकै कारण समाजबाट अपहेलित हुनुपरेको छ। ‘बाटोमा हिँड्दा कनवा (आँखा नदेख्ने मानिस) आयो भनेर जिस्क्याउँछन्। सुन्दा मन दुख्छ’, उनले दुखेसो पोखे, ‘सबैले जिस्क्याउँदा बाटोमा हिँड्न पनि लाज लाग्छ।’

पाँच वर्षको उमेरमा बाआमा गुमाएका यादव १० वर्षको उमेरदेखि गालामा मासुको डल्लो पलाउन सुरु भएको बताउँछन्। सम्पत्तिको नाममा उनीसँग ६ कठ्ठा जग्गा (कच्चा) मात्र छ। त्यो बेचेर उपचार सम्भव छैन। पैसा अभावमा उनले उपचार गर्न सकेनन्। नेपालगन्ज र लखनउसम्म पुगेर तीन पटक चिकित्सकलाई देखाए। सबैले अप्रेसन गर्न भने। उनी पैसा अभावमा रोग पालेरै बसे। पहिले सानो रहेको ट्युमर बढेर ठूलो भइसकेको छ। सामान्य अवस्थामा त ट्युमर दुख्दैन। राति सुत्ने बेला भने बायाँ कोल्टे फेर्न नपाउँदा उनलाई सास्ती हुन्छ। कोल्टे फेर्दा दुख्ने गरेको उनले अनुभव सुनाए।

‘गालामा मासुको डल्लो देखेर कसैले बिहे गर्न मानेन। जीवनभर एक्लै भएँ’, जीवनको उत्तराद्र्ध (७२ वर्ष) का यादवले शुक्रबार गंगापुर स्वास्थ्य चौकीमा अन्नपूर्ण पोस्ट्सँग भने, ‘मेरो शरीरमा केही गडबडी नगरेर कसैले उपचार गरिदिए हुन्थ्यो। मसँग उपचार गर्ने पैसा नै छैन।’

अहिले त उनी दृष्टिविहीन पनि भएका छन्। बायाँ आँखाको ज्योति यही ट्युमरकै कारण गुमेको उनको बुझाइ छ। दायाँ आँखाको मोतीविन्दुको उनले अप्रेसन त गरे तर धमिलो मात्र देख्छन्। कतै जाँदा अरूकै सहारा चाहिन्छ। उनका भतिजा शिवकुमारले जिज्ञासा राखे, ‘कसैले सित्तैमा आँखा र ट्युमरको उपचार गरिदिन्छ र सर ? ठूलोबाले नयाँ जीवन पाउनुहुन्थ्यो।’

प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय प्रदेश स्थापना दिवसको अवसरमा शुक्रबार स्वास्थ्य चौकीमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा उपचारका लागि भतिजासँगै आएका थिए, उनी। प्रदेश सरकारले विकट गाउँमा स्वास्थ्य शिविर गर्ने योजनाअनुरूप ‘बाँकेको कर्णाली’ को उपमा पाएको नरैनापुर गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरेको बाँके क्षेत्र १ को प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ ले जानकारी दिइन्, ‘विकास निर्माणमा पछाडि परेको नरैनापुरमा स्वास्थ्यको अवस्था दयनीय छ। गरिबी र पछौटेपनका कारण अस्पताल गएर उपचार गर्दा पैसा खर्च हुने भन्दै रोग लुकाएर बस्ने प्रवृत्ति बढी भएकाले घरदैलोमा निःशुल्क सेवा दिएका हौं।’

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले धेरै पुरुषमा हाइड्रोसिलको समस्या भएकाले अर्को शिविर आयोजना गर्न आग्रह गरेका थिए। उनले भने, ‘धेरै गरिबी छ। कोही आफैंले उपचार गर्नै सक्दैनन्। हरेक महिना निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दा राम्रो हुने थियो।’

स्वास्थ्य शिविरबाट चार सय ८८ जनाले स्वास्थ्य सेवा पाएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालउले जनाएको छ। निर्देशनालयका ल्याब अधिकृत गोपालप्रसाद गौतमका अनुसार दुई सय ८५ महिला र दुई सय तीन पुरुषले उपचार पाएका थिए। ‘धेरै जनामा छाला, शरीर दुख्ने, ग्यास्टिक र कानको समस्या पाइयो’, गौतमले भने, ‘दुई जना पाठेघर मुखको क्यान्सर भएका दुई जना महिला भेटिए। १० जना महिलाको पाठेघरको क्यान्सरको परीक्षण गरिएको थियो। उनीहरूलाई नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा रेफर गरेर निःशुल्क उपचार हुनेछ।’

स्वास्थ्य शिविरमा तीन जना विशेषज्ञ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी उपचारमा संलग्न थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.