वान्स मोर ‘भुन्टी’
सौराहा : भ्यालेन्टाइन डे मनाउन सौराहा सिसुवार मैदानमा दर्शकको भीड बढ्दै थियो। रातको चिसो सिरेटोको वास्ता थिएन। गायक निशान भट्टराई राति साढे १० बजे स्टेजमा उक्लिए। दर्शकको हुटिङ बढ्यो। पहिलो पटक चितवन टेकेका निशानलाई देखेपछि सबै रमाउन थाले। उनले ‘उकाली ओराली’ गीत गाएर दर्शकको ध्यान ताने। आफ्नो पर्खाइमा रहेका समर्थकलाई उनले ‘भुन्टी’ गीत गाएर नचाए।
सुरुमा उनले कन्दरा ब्यान्डको ‘लेककी हे माया’ बोलको गीत गाए। ‘छक्कापञ्जा ३’ को ‘उमेर ढल्किन्छ’ भन्ने गीत गाउँदा माहोल झनै तातियो। चिसो मौसममा निशानको प्रस्तुतिले दर्शकलाई ततायो। ‘भुन्टी’ गीत उनले दुईपटक गाए। रातको ११ बज्दा पनि दर्शक थाकेनन्। ‘मंसिर महिना’ले पनि दर्शकको मन जित्यो। ‘नेपाल आइडल’बाट चर्चामा आएका उनले ‘धर्ती डगमगायो’ गीत गाए। दर्शकलाई आफ्नो प्रस्तुतिमा झुमाउन सफल देखिन्थे उनी। उनले दर्शकलाई समय गएको महसुस हुन दिएनन्। पछिल्लो समय चर्चित ‘भिजिट भिसामा’ बोल गीत उनले बिनाट्र्याक गाए।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) सौराहाले आयोजना गरेको फुड फेस्टिभलका क्रममा प्रस्तुति दिन निशान चितवन आएका हुन्। युवादेखि वृद्धासम्म उनको प्रस्तुतिमा रमाए। फुड फेस्टिभलमा ख्यातिप्राप्त कलाकारका साथमा सौराहा झुमेकोे थियो। सांगीतिक माहोलले दर्शकको ध्यान सौराहामा तानिएको सांस्कृतिक संयोजक विनोद लोप्चनले बताए। ‘हामीले स्वाद र संगीतको माहोल बनाएका हौं’, उनले भने, ‘कलाकारको प्रस्तुतिबाटै सौराहा भुमेको छ।’
लोकदोहोरी गायक प्रकाश सपूतले फरक स्वाद पस्किए। उनले सुरुमा ‘चरर’ गीत गाए। उनले ‘बोल माया’ गीत गाउँदा सबै स्तब्ध भए। त्यसपछिका गीतले लगातार दर्शकलाई उफा¥यो। उनले ‘मायाको मुखैमा चिनी’, ‘मीठो बोलीले’ गाएर सबैलाई जाग्राम बनाए। उनको दोहोरी ब्याटलले टेबलमा बसेकाहरूलाई नाच्न बाध्य बनायो।
गायिका सम्झना भण्डारीले ‘छिनछिन बज्ने चुरा’, ‘कति राम्रो काले’, ‘पञ्चै बाजामा, मेरो माया बसेको’ गीत गाएर दर्शकलाई नचाइन्। कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले दर्शकलाई हँसाए। गायिका दुर्गा सापकोटाले माहोल तताउने काम गरिन्।
शुक्रबार गायक रमेशराज भट्टराईले प्रस्तुति दिए। उनको प्रस्तुतिमा दर्शक रमाए। पर्यटक आगमन कम हुने समयमा रेबानले बर्सेनि फुड फेस्टिभल आयोजना गर्दै आएको छ। माघ २८ मा सुरु फेस्टिभल शुक्रबार सकिएको छ। फेस्टिभल सौराहाको ब्रान्ड भएको रेबान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए। यसबाट बचेको रकम सामाजिक काममा लगानी गर्ने उनले बताए।