धर्मशालाबाट सीमा सुरक्षा
काँकडभिट्टा : सीमा क्षेत्र संवेदनशील हुन्छ नै। त्यहाँ हुने गतिविधि, अपराध, अनेकखाले अवैध चलखेल तथा मानवीय चहलपहलका कारण पनि सीमाक्षेत्रलाई संवेदनशील मानिन्छ। त्यसमाथि नेपाल-भारत सीमा क्षेत्रमा भने दशगजा मिचेर भारतीय पक्षले नेपालीलाई रातदिन सताइरहने घटनाले तनाव थपिदिने गर्छ।
सीमा क्षेत्रमा भारतीय पक्षले निरन्तर गरिरहने अतिक्रम, नेपालीमाथि हुने अत्याचार, सीमास्तम्भ गायब बनाउने घटना आदिले नेपाल-भारत सीमा क्षेत्र झन् बढी संवेदनशील मानिन्छ। त्यही भएर नेपाल सरकारले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षाको विशेष एवं महत्वपूर्ण जिम्मेवारी दिएर छुट्टै फोर्स सशस्त्र प्रहरी खटाएको छ। सीमा सुरक्षासँगै सीमाक्षेत्रमा हुने चोरीतस्करीलगायत अवैध गतिविधि नियन्त्रणको अर्को जिम्मेवारी पनि सशस्त्र प्रहरीलाई छ।
तर त्यही सीमा क्षेत्रको सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मीको वास भने धर्मशालामा छ भन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ। आफ्नो जग्गा र भवन नहुँदा सशस्त्र प्रहरीले धर्मशालाबाटै सीमाक्षेत्रको सुरक्षा गरिरहनुपरेको छ।
नेपालको पूर्वी नाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयको सहयोग र नेपाल-भारत सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वार्टर (राजस्व तथा भन्सार सुरक्षा गुल्म) ८ नम्बर झापाको कार्यालय धर्मशालाबाटै सञ्चालित छ।
यहाँ रहेका सुरक्षाकर्मीले रातदिन धर्मशालामै बिताउनुपर्छ। गुल्ममा प्रहरी नायव उपरीक्षक र एक जना प्रहरी निरीक्षकसहित एक सय ६० जना सशस्त्र प्रहरीको दरबन्दी छ। हाल एक सय ३२ जना सशस्त्र प्रहरी कार्यरत छन्। लामो समयदेखि उनीहरू मेचीनगर नगरपालिका-१० स्थित मेची भन्सारको पछाडि र पश्चिमपट्टि अलि अग्लो डाँडास्थित एउटा शिवालय मन्दिरको स्वामित्वमा रहेको धर्मशालामा बस्दै आएका छन्। यहाँबाट नै भन्सार र सिमानाकाको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गर्ने गरिएको छ।
धर्मशालामा सुरक्षाकर्मीका लागि पर्याप्त कोठा छैनन्। त्यसैले प्रहरी विपन्न बस्तीझैं बाँसका छाप्रा बनाएर बस्न बाध्य छन्। अति संवेदनशील मानिने नेपाल-भारत सीमाक्षेत्रको सुरक्षा धर्मशाला र बाँसका टहरामा बसेर गर्नुपर्ने बाध्यता लामो समयदेखि रहिरहनु नेपालकै लागि दुर्भाग्यपूर्ण रहेको स्थानीय कृष्णप्रसाद उप्रेतीले बताए। ‘बर्सौंदेखि सीमाक्षेत्रको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई भौतिक रूपमा सुविधासम्पन्न बनाउन सकिएको छैन। यस्ता विषयमा सरकारले पनि चासो दिनुपर्ने हो’, उनले भने, ‘यो नेपालका लागि पनि लाजमर्दो विषय हो। सबै कुराको असुविधा तथा अभावबीच कहाँबाट भरपर्दो सुरक्षा दिन सकिन्छ ? ’
तीन मात्र कोठा रहेको एउटा भवनका दुई कोठामा डीएसपी र इन्स्पेक्टर बस्छन्। हलमा सशस्त्रका जुनियर अधिकृतदेखि जवानसम्मले सुत्ने र बस्ने गर्नुपर्छ। हलमा नअट्ने प्रहरीचाहिँ बाँसको प्रयोग गरेर अस्थायी रूपमा आफैंले बनाएका टहरा र छाप्रामा सुत्नुपर्ने बाध्यता छ। ‘ड्युटी गएका बेला त केही छैन,’ सशस्त्रका एक जवानले भने, ‘ड्युटी सकेर आराम गर्न आउँदा सुत्ने ठाउँ नै हुँदैन।’ सुत्ने, बस्ने र आराम गर्ने ठाउँको अभाव हुँदा कति रात त नसुतीकनै बिताउनुपरेको उनको गुनासो छ। दिनभर ड्युटी गर्दा थाकेर आउँदा पनि सुत्न र आराम गर्न ठाउँको अभाव हुँदा धेरै पीडा खेप्नुपरेको ती जवानको भनाइ छ।
सुत्ने र बस्ने स्थान मात्रै होइन, सशस्त्रका लागि त्यहाँ एउटा क्यान्टिनसमेत छैन। उनीहरूले बनाएका छाप्रालाई नै क्यान्टिनका रूपमा प्रयोग गरिँदै आएको छ। यहाँको गुल्मले बाहुनडाँगीदेखि चन्द्रगढी छेउको सिमाना ज्यामिरगढीसम्म करिब १८ किलोमिटर सीमाक्षेत्रको पहरेदारी गर्नुपर्छ। भन्सार आसपासमा हुने गतिविधि र विभिन्न खाले क्रियाकलापलाई निगरानी गर्नुपर्ने दायित्व पनि सशस्त्र प्रहरीकै हो।
महत्वपूर्ण जिम्मेवारी पाए पनि सीमा सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीकै सुरक्षाका लागि भने सरकारले बेवास्ता गरेको प्रस्ट देखिने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए। ‘हाम्रो सुरक्षाका लागि सशस्त्र प्रहरी खटिन्छ। अन्य सरकारी निकायको भवन पनि पर्याप्त छ’, उनले भने, ‘तर सीमाक्षेत्रको यत्रो महत्वपूर्ण जिम्मेवारी सम्हालेर बस्ने सुरक्षाकर्मी नै असुरक्षित भएर बस्नुपरेको छ। हामीले दिने सक्ने कुनै स्थान पनि छैन।’
‘वारि (नेपालतिर) सुरक्षामा खटिने सशस्त्र प्रहरीको यस्तो अवस्था छ। सरकारले चासो कहिले दिन्छ, ? ’ उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशवराज पाण्डेले प्रश्न गरे, ‘भारतको सुरक्षामा भारतीय भूमिमा खटिने सीमा सुरक्षा बल (एसएसबी) लगायत त्यहाँका सुरक्षाकर्मीका भने १४ अड्डा छन्। अनि भवन र बस्ने ठाउँकै अभाव झेलिरहेका हाम्रा सुरक्षाकर्मीले कहाँबाट उच्च मनोबलका साथ काम गर्न सक्छन् ? ’ भौतिक सुविधालगायत समस्याका कारण सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको शिर उचो हुन नसकेको उनले बताए।
शिवालय मन्दिरको करिब छ कठ्ठा जग्गामध्ये दुई कठ्ठामा सशस्त्र प्रहरी बसेको छ। सो जग्गा र धर्मशाला काँकडभिट्टाको शिवालय मन्दिरले खर्च अभाव भएका व्यक्ति तथा असहायका लागि राख्ने उद्देश्यले निर्माण गरेको थियो। पहिले संकटकालको समयमा तत्कालीन शाही नेपाली सेना यही धर्मशालामा बसेको र पछि सशस्त्र प्रहरी यो स्थानमा आएको हो।
सीमाक्षेत्रमा अहोरात्र खटिनुपर्ने सशस्त्र प्रहरीका लागि पूर्वाधार सन्तोषजनक नरहेको सशस्त्र प्रहरी बल मुख्यालय नम्बर १ बराह वाहिनी इटहरीका प्रमुख डीआईजी मन्दिप श्रेष्ठले बताए। ‘सबै ठाउँमा जग्गा अभाव छ। यसले भौतिक संरचना निर्माण सक्ने कुरै भएन’, उनले भने, ‘सीमा क्षेत्रका अधिकांश युनिटले अरूसँगै आ श्रय लिएर काम गरिरहेका छन्। सरकारले बिस्तारै व्यवस्थित गर्ला भन्ने आसा भने छ।’