व्यावसायिक बन्दै तेजपात खेती
गाईघाट : परम्परागत प्रविधिलाई छोडेर आधुनिक कृषि प्रणाली अपनाउन थालेसँगै उदयपुरका पहाडी क्षेत्रमा किसानले तेजपात (सिन्कौली) खेतीबाट मनग्गे आम्दानी लिन थालेका छन्।
प्रविधि परिवर्तन गर्नासाथ न्युन आर्थिकस्तर भएका किसानले तेजपात उत्पादन बढाएका छन्। उत्पादन र मूल्य बढेसँगै कृषकले राम्रो आम्दानी गर्न थालेका हुन्। जिल्लाको विकट क्षेत्र रौता, आँपटार, भलायडाँडा, पोखरी, भुट्टार, नामेटार, खाँबु, साउने, जाल्पा चिलाउने, तावा श्री, वर्रे, डुम्रेलगायत ठाउँका किसानले दश वर्षदेखि व्यावसायिक रूपमै यसको खेती गर्दै आएका थिए।
गत वर्षसम्म प्रतिकिलो २५ रुपैयाँमा बिक्री हुँदै आएको तेजपात यो वर्ष ३५ रुपैयाँ पुगेको आँपटारका किसान ललन विक बताउँछन्। राम्रो मूल्य पाएपछि कृषकले यसको खेती बढाउन थालेको उनले जानकारी दिए। यी क्षेत्रमा जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै सबैभन्दा उत्तम ‘सिनामन तमला’ जातको तेजपात खेती हुने गरेको सामुदायिक वन उपभोत्ता महासंघका पूर्व अध्यक्ष भरतबहादुर थापाले बताए।
जंगलमा प्राकृतिकरूपमा उम्रिएको तेजपातलाई व्यवसायीकरण गरी आफ्नो बारीमा बिरुवा रोपेको खाँबुका किसान कमल राई बताउँछन्। यसअघि परम्परागत रूपमा संकलन गरी बिक्री गर्दै आएका किसानले अघिल्लो वर्षदेखि पातको गुणस्तर निर्धारण गरी बिक्री गर्न थालेको उनी बताउँछन्। पात संकलन गर्न, हाँगा काट्न र बोक्रा निकाल्ने प्रविधिबारे जानकारी पाएपछि तेब्बर बढी आम्दानी हात पार्न सफल भएको आँपटारका तेजपात किसान बालाजित राई बताउँछन्।
तेजपातको हुर्किएको बिरुवाबाट वर्षमा दुई पटकसम्म आम्दानी लिन सकिन्छ। यसलाई प्रमुख नगदेबालीको रूपमा लिएको पूर्व अध्यक्ष थापाको भनाइ छ। तेजपात संकलन केन्द्र मुर्कुचीका प्रमुखसमेत रहेका थापाले भनेजस्तो आम्दानी भएपछि खेती बढाउन गाउँगाउँमा समूह निर्माण गरेको जानकारी दिए। कृषकले गठन गरेको खमारे मसला उत्पादक सहकारी संस्थाले आफ्नो क्षेत्रमा उत्पादित तेजापात खरिद गरेर बजारसम्म पुर्याउने गरेको छ।
उदयपुरमा जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै उत्कृष्ट ‘सिनामन तमला’ जातको तेजपात खेती हुने गरेको छ।
सहकारी गठनसँगै बिक्रीको समस्या नभएको रौताका किसान जितुहर्क तामाङ बताउँछन्। उनले भने, ‘बिक्रीको चिन्ता छैन। कतिपय व्यवसायी घरमै आएर पलाउँदै गरेको पातमै ठेगछन् (ठेक्का)। यदी त्यसो नभए सहकारीले लिने गर्छ। ’ तामाङले आफ्नो बारीमा लगाएको एक सय बोट तेजपातबाट वर्षमा तीन लाख रुपैयाँ आम्दानी लिने गरेको सुनाए। हुर्काउन अलिक समस्या भए पनि त्यसपछि भने यसमा कुनै झन्झट नहुने उनको भनाइ छ। पानी, गोडेमेलमा त्यति धेरै ध्यान दिई राख्नु नपर्ने भएकाले व्यवसाय निकै सहज भएको तामाङ बताउँछन्।
उनीजस्तै आँपटारका बालाजित राईका पनि ५० वटा तेजपातका बोट छन्। यसबाट उनले वार्षिक डेढ लाखभन्दा बढी आम्दानी लिने गरेको बताए। आफूले लगाएको देखेर वरपरका ५० परिवारले तेजपातको व्यावसायिक खेती सुरु गरेको उनी बताउँछन्। तेजपातको बिक्रीबाट आएको पैसाले घरखर्च चलाउन, छोराछोरी पढाउन, औषधि उपचार गर्नुकासाथै कतिपयले सुन र घरजग्गा जोडेको पूर्वअध्यक्ष थापा बताउँछन्।
वार्षिक करिब पाँच सय मेट्रिक टन उत्पादन हुने उदयपुरको तेजपात काठमाडौं, विराटनगर र भारतका विभिन्न क्षेत्रमा बिक्री हुने गरेको थापाको भनाइ छ। तर, भौगोलिक विकटता र ढुवानी अभावले बजारसम्म पुर्याउन नसक्दा कतिपय तेजपात सडेर खेर जाने गरेको किसानको भनाइ छ।
तेजपातको बजार राम्रो भएकाले अधिकांश व्यवासायीले किसानका घरघरमा पुगेर लिने गरेका छन्। ढुवानी कटाएर बजार मूल्यमै व्यापारीले घरमै खरिद गरेपछि अन्य बाली लगाउँदै आएका किसानसमेत यसमा आकर्षित हुन थालेका छन्। वर्षभरी काम गर्दा पनि धान खेतीबाट खानलाउन नपुगेपछि विकट क्षेत्रका अधिकांश किसान व्यावसायिक रूपमा तेजपात खेतीमा व्यस्त हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारी बताउँछन्।
तेजपातमा किसान आकर्षित भएपछि रौतामाई गाउँपालिकाले पकेट क्षेत्रकै रूपमा अघि बढाउने गरी योजना अघि सारेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। उनले तेजपातमा किसानलाई आकर्षित र आत्मनिर्भर बनाउन गाउँपालिकाकाले कृषि कार्यक्रममार्फत योजना अघि सारी पकेट क्षेत्र बनाउने तयारी गरेको बताए। व्यावसायिक रूपमा तेजपात उत्पादन र बिक्री गरेका कारण किसानको दैनिक जीवनयापनमा यसले ठूलो सहयोग पुगेको उनको भनाइ छ।