‘द‍ृश्यले सिनेमा बोल्नुपर्छ’

‘द‍ृश्यले सिनेमा बोल्नुपर्छ’

निर्देशक विनोद पौडेल फिल्म ‘बुलबुल’ लिएर दर्शकमाझ आएका छन्। महिला टेम्पोचालकको कथा बुनिएको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा देख्न सकिन्छ। ‘साँघुरो’, ‘अ वेकन आइज’ जस्ता फिल्ममा आफ्नो लेखन क्षमता दर्शाएका पौडेलले बुलबुलमा महिला टेम्पोचालकको कथालाई अगाडि सारेका छन्।

अभिनयसमेत सिकाउँदै आएका पौडेल महिलाकेन्द्रित चलचित्र बनाउनुको कारण बताउँछन्, ‘म आफ्नी आमाबाट प्रभावित छु।’ सबै महिलामा असीम समर्पण, त्याग र धैर्य देख्दा पौडेललाई आश्चर्य लाग्दो रहेछ। उनी भन्छन्, ‘महिलाहरू जस्तोसुकै परिस्थिति हाँसीहाँसी सहन सक्छन्।’ फिल्म बुलबुलकी ‘रनकला’ पात्रलाई आफूले यही स्वभावमा ढालेको उनले बताए।

टेम्पोचालक रनकला पात्र निर्माण गर्न पौडेल थुप्रैपटक टेम्पोमा यात्रा गरेको सुनाउँछन्। ‘यो फिल्मका लागि तीन महिनासम्म बाइक घरमा थन्क्याएर टेम्पो चढेँ’, उनले भने, ‘टेम्पोको आवाज, त्यहाँभित्र हुने गसिप र महिला चालकको कथाले मलाई निकै प्रभावित बनायो।’ कत्तिपटक जाने ठाउँको टुंगो नलगाईकनै पौडेल टेम्पोमा यात्रा गरेको अनुभव सुनाउँछन्।

हाम्रोजस्तो ‘मेल डोमिनेन्ट’ समाजमा महिलाहरू टेम्पो चलाएरै आत्मनिर्भर छन्। उनीहरू सक्षम छन्। आफ्नो जीवनमा आफ्नै नियमहरू लागू गरेका छन्। यी सबै देख्दा पौडेललाई यसमा फिल्म बनाउनुपर्ने लागेछ। महिला चालक सँगको कुराकानीमा उनीहरूको जीवनका विविध पक्षले पौडेललाई छोएछ। भन्छन्, ‘कतिपयका कथा निकै दुःखदायी थिए र रमाइला पनि।’

टेम्पोचालक महिलाका बारेमा अध्ययनपश्चात् पौडेलले स्वस्तिमालाई क्यारेक्टरमा फिट देखेको बताउँछन्। ‘मलाई रफटप क्यारेक्टर चाहिएको थियो। त्यो स्वस्तिमामा पाएँ’, उनले भने। स्क्रिप्ट सुनाउँदा स्वस्तिमाले फिल्मको पात्रलाई न्याय गर्ने कुरामा उनका  श्रीमान् निश्चलले समेत पत्याएका थिएनन्। भन्छन्, ‘धेरैले पत्याएका थिएनन्। निश्चलले पनि पत्याएन तर मलाई पूर्ण विश्वास थियो।’

फिल्ममा केही अशिष्ट शब्दको प्रयोग भएको छ। यसलाई उनी हाम्रो समाज भित्रको मिठासका रूपमा लिन्छन्। साथीभाइसँग होस् या आफ्नो सर्कलमा, ती शब्दहरू दिनहुँ प्रयोगमा आउँछन्। शब्दले अशिष्टता झल्काउनेमा विश्वास नगर्ने उनी बताउँछन्।

चलिरहेको फिल्मभन्दा बुलबुल केही भिन्न देखिन्छ। अहिले ‘डाइलग ओरेन्टेड’ फिल्म बनिरहेका छन्। तिनले हेरुन्जेल रमाइलो र हँसाउने काम मात्र गरेको छ। दर्शकको मन छुने कथा सिर्जना हुन सकेकै छैनन्। पौडेल सिनेमा मेकिङ पढेको व्यक्ति भएकाले फिल्म फिल्मजस्तै बन्नुपर्ने मान्यता राख्छन्। भन्छन्, ‘डाइलगबाजीले होइन, दृश्यले सिनेमा बोल्नुपर्छ।’ चलचित्र बुलबुलले यही मान्यतालाई अगाडि ल्याउन खोजेको पौडेलले बताए।

यो फिल्म बनाएर निर्देशक पौडेलले एक किसिमको रिस्क लिएका छन्। त्यसमाथि महिला कलाकारलाई मुख्य पात्रका रूपमा उभ्याउनु नेपाली फिल्म उद्योगमा चुनौतीकै रूपमा हेरिन्छ। यसमा पौडेल भन्छन्, ‘नयाँ फिल्म मेकरहरूमा हामीले अहिलेदेखि नै सम्भावनाका ढोकाहरू खोल्न आवश्यक छ। आफू पनि चलिरहेकै ट्रेन्डको भीडमा उभिन जाने हो भने सिनेमा मेकिङ पढ्नु र नपढ्नुको मतलब हुँदैन’, उनी भन्छन्।

नेपाली सिनेमा बलिउडबाट धेरै प्रभावित भएकोमा उनी चिन्तित छन्। कथावस्तुभन्दा झकिझकाउ मात्र सिनेमाको पर्दामा देखिन थालेको छ। यसबाट बच्न नयाँ बाटो बनाउनैपर्ने उनी ठान्छन्। चलचित्रबारे थप्दै उनी भन्छन्, ‘बुलबुलजस्ता चलचित्र सफल हुनैपर्छ। भएन भने नयाँ जेनेरेसनमा समाजका कथामा फिल्म बनाउने उत्साह मर्छ।’

बुलबुल टेम्पोचालककै कथा नभए पनि टेम्पो ‘मेटाफोर’को रूपमा चलचित्रमा आउँछ। यसमा एक महिला पात्र छिन् जो समाज, जिम्मेवारी र आफ्नो व्यक्तिगत आकांक्षाका बीच पिल्सिएकी छन्। फिल्मले कुनै आइडोलोजी नबोकेको पनि उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.