जीर्ण भवनभित्र पठनपाठन

जीर्ण भवनभित्र पठनपाठन

ताप्लेजुङ : सिदिङ्वा गाउँपालिका–४ मिश्रटारस्थित लुङसुङ पौवा प्राथमिक विद्यालय भवन जीर्ण बनेको लामो समय भइसक्दासमेत पुनर्निर्माणमा कसैले चासो देखाएका छैनन्। जीर्ण भवनमै पठनपाठन हुने गरेको छ।

१० वर्षअघि भाँचिएको भवनको तेस्रो तला थाम्न राखिएको निदाललाई टेको दिएर अड्याइएको छ। ‘निदाल भाँचिएर किच्छ कि भन्ने डर लागिरहन्छ,’ कक्षा ५ की विनिता लिम्बूले भनिन्, ‘कक्षामा प्रवेश गरेपछि कतिबेला छुट्टी हुन्छ र बाहिर जाऊँ जस्तो हुन्छ।’ भूकम्पले दुईवटा कोठा चर्किएका छन्। त्यही जीर्ण भवनको धराप कोठामा बसेर बालबालिका पढ्न बाध्य छन्।

लिम्बूले भित्र बसेर पढ्न सक्ने अवस्था नहुँदानहुँदै पनि डराइ–डराइ पढ्नुपर्ने बाध्यता रहेको गुनासो गरिन्। ०२५ सालमा स्थापित विद्यालयमा ५० जना विद्यार्थी छन्। एउटा भवन छ। जसमा ६ वटा कोठा छन्। भवन राम्रो नभएको र प्रतिदिन जीर्ण बन्दै गइरहेका कारण पठनपाठनमा समेत समस्या हुने गरेको प्रधानाध्यापक कमला निरौलाले बताइन्। निरौला उक्त विद्यालयमा ०७० सालदेखि कार्यरत छिन्।

‘विद्यालयको भौतिक पूर्वाधार राम्रो छैन। ०७० सालअघि नै निदाल भाँचिएको रहेछ। भूकम्पले समेत धेरै ठाउँमा चर्काएको छ,’ निरौलाले भनिन्, ‘यस्तो हालतमा विद्यार्थी र शिक्षक दुवैले कक्षाकोठामा बसेर पठनपाठन गर्नुपर्ने अवस्था छ।’ उनले अधिकांश समय चउरमा पढाउने गर्दा विद्यार्थीलाई चिसोले समस्या पारिरहेको बताइन्। ठूलो हावाहुरी र वर्षा हुँदा भवन पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको निरौलाको भनाइ छ। भवनबारे सम्बन्धित निकायमा बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको प्रधानाध्यापक निरौलाको गुनासो छ। ‘पहिले जिल्ला शिक्षा कार्यालय हुँदा धेरै पटक भवनको माग ग¥यौं,’ उनले भनिन्, ‘गाउँपालिका भएपछि त्यहाँ पनि माग ग¥यौं तर सुनुवाइ भएको छैन।’

यता, वडाध्यक्ष नन्दलाल गौतमले भने विद्यालयको विषयमा आफूलाई खासै जानकारी नभएको बताए। ‘मलाई यस विषयमा खासै जानकारी छैन। उहाँहरूले भवन जीर्ण छ पनि भन्नुभएको छैन,’ गौतमले भने, ‘गाउँपालिकामा माग गर्नुभएको पनि छैन।’ अब विद्यालयमा गएर अनुगमन गर्ने र समस्या भए आगामी वर्ष नयाँ भवनका लागि बजेट विनियोजन गर्ने उनले बताए। गौतमले भवन अत्यन्तै जीर्ण भए ठूलो जोखिम रहने भएका कारण त्यस्ता भवनभित्र राखेर विद्यार्थीलाई पढाउन नहुने सुझाव दिए।

रेडक्रस ताप्लेजुङका पूर्वसभापति गणेश अधिकारीका अनुसार भूकम्पले जिल्लाका ४७ वटा विद्यालय भवनमा क्षति पु¥याएको थियो। अन्य विद्यालयका तीन सय ५४ वटा कक्षाकोठामा क्षति पुगेको उनले बताए। क्षति पुगेकामध्ये अधिकांश मर्मत–सम्भार मात्रै गरेर सञ्चालनमा ल्याइएको अधिकारीको भनाइ छ। ‘केही भवन र कक्षाकोठा मर्मत सम्भार गरेर त्यतिबेला सञ्चालनमा ल्याइएको थियो,’ उनले भने, ‘भूकम्पले क्षति पु¥याएका विद्यालय भवन पुनर्निर्माण भने हुन सकिरहेका छैनन्।’ अधिकारीले अधिकांश विद्यालय भवन मर्मत–सम्भार गरेर मात्रै सञ्चालन गरिँदा विद्यार्थी र शिक्षकका लागि जोखिम भने उच्च रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.