साइकल सपना

साइकल सपना

राजविराज : हतारहतार हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता खेपिरहेका बलान बिहुल गाउँपालिकास्थित जागेश्वर गरहाई जनता मावि सेहरा रौतहटका छात्रा साइकल पाएपछि दंग परेका छन्।विद्यालय प्रांगणमा आयोजित साइकल वितरण कार्यक्रमको औपचारिक उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले साइकल हस्तान्तरण गरेपछि उनीहरू दंग परेका हुन्।

घरबाट हिँडरै विद्यालयसम्म पुग्दा उनीहरूलाई निकै समस्या भइरहेको थियो। यस्तो बेलामा सरकारले साइकल दिएपछि पढाइप्रति आफ्नो हौसला बढेको विद्यालयको कक्षा ९ की छात्रा सीता साहले बताइन्।

उनकी साथी आरतीकुमारी पासवानले पनि खुसी हुँदै थपिन्, ‘आर्थिक अवस्था कमजोर भएकाले बुवाआमासँग साइकल किनी माग्ने हिम्मत थिएन। तर मनको इच्छा सरकारले पूरा गरिदियो।’

भौगोलिक दृष्टिकोणले आफ्नो विद्यालय निकै टाढा भएकाले आउने जाने क्रममै धेरै समय खर्च हुने हुँदा अब चाँडै विद्यालय पुगिने र घर पनि चाँडै आउन पाइने भयो भन्छिन् बब्लीकुमारी मण्डल। बचेको समय पढाइमा लगाउन पाइने भयो भन्दै उषाकुमारी साह हर्षित भएकी छिन्। प्रदेश २ मा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्य मन्त्री राउतले उनीहरू जस्तै कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गरेका हुन्।

सामुदायिक विद्यालयका छात्रा सहज रूपमा विद्यालय आउन र घर फर्किन पाउन भन्ने उद्देश्यले साइकल उपलब्ध गराइएको अभियानका संयोजक प्रियंका यादवले बताइन्।

विद्यालयका प्रधानाध्यापक दिनेश्वर यादवले साइकल पाएपछि छात्रा समयमा विद्यालय आउन थालेको र यसले पढाइमा सकारात्मक प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे।

साइकल पाएपछि आफ्ना छोरीहरू विद्यालय जान निकै हौसिएका अभिभावक सूर्यकुमार दासले बताए। ‘टाढाबाट स्कुल जाँदा समयमा नपुगिएला कि भन्ने उनीहरूको डर अब हराएको छ ’, उनले भने। विद्यालयमा नियमित उपस्थित हुने छात्रालाई साइकल वितरण गरेपछि मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए। मुख्यमन्त्री राउतले महिला सशक्तीकरणका लागि प्रदेश २ मा माघदेखि जन्मिने छोरीहरूका लागि एक लाख रुपैयाँको शिक्षा बीमाको नीति सुरु गरिएको जानकारी दिए। उनले भने, ‘छोरीहरू जन्मिनेबित्तिकै अब लखपति भएर जन्मिनेछन्।’ बिमा कम्पनीहरूसँगको साझेदारीमा छोरीहरूको शिक्षा बिमा नीतिसमेत ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.