चौथो भोजपुर ट्रेलमा उमेश र प्रियाले मारे बाजी
भोजपुर : भोजपुर वासिङथर्पुका उमेश राई र प्रिया राईले चौथो भोजपुर ट्रेल दौडमा बाजी मारेका छन्। शनिबार विश्व अल्ट्राधावक मिरा राईको अगुवाईमा भएको दौडमा पुरुषतर्फ उमेश राईले ३६ किलोमिटरको दौड ३ घण्टा ३१ मिनेट ३२ सेकेण्डमा पार गर्दै प्रथम भएका हुन्।उनले अन्र्तराष्ट्रिय ट्रेल रेसमा भाग लिने अवसर प्राप्त गरेका छन् ।
त्यस्तै महिलातर्फ पहिलो प्रिया राईले ३६ किलोमिटरकै दुरी ५ घण्टा १९ मिनेट ४ सेकेण्डमा पार गर्दै हङकङमा हुने गोर्खा ट्रेल ब्रेजर रेसका लागि सहभागिता जनाउने अवसर प्राप्त गरेकी छन्। ३६ किलोमिटरकै दौडमा पुरुषतर्फ नै सविन तामाङले ३ घण्टा ४३ मिनेट ४ सेकेण्ड र सुमन कुलुङ ४ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दै दोश्रो र तेश्रो भए। यस्तै महिलातर्फ प्रतिभा श्रेष्ठले ५ घण्टा ३६ मिनेट ३० सेकेण्ड र प्रिया तामाङले ६ घण्टा ४८ सेकेण्डमा पुरा गर्दै दोश्रो र तेश्रो बने।
मिरा राईको जन्मघर पौवादुङ्मा गाउँपालिका सानोदुङ्माको सानोदुङ्मा माविबाट दिर्घेभञ्ज्याङ, तिवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, बोखिम दाम्सिङको पाँचधारे, देउरालीचोक हुँदै सदरमुकामको सहिदपार्कसम्मको ३६ किलोमिटरको दुरी रहेको थियो।
रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमीको सहआयोजना र व्यवस्थापनमा सम्पन्न दौडमा जिल्लाबाहिरका प्रोफेशनल र जिल्लाभित्रका धावक गरी एकसय ४६ जना धावकको सहभागिता रहेको थियो।
३६ किलोमिटरको दौडबाहेक दौडमा प्रोत्साहन गर्न १२ वर्ष उमेर मुनिका ईच्छुक बालबालिकालाई सानोदुङ्मा माविबाट अल्ट्राधावक मीरा राईको घर सानोदुङ्मासम्म ३ किलोमिटर, ३६ किलोमिटर दौड लगाउन नसक्नेका लागि पौवादुङ्मा गाउँपालिकाको च्याङ्ग्रे मानेडाँडाबाट सानोदुङमासम्म ८ किलोमिटरको दौड राखिएको एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए। उक्त दौडका लागि पौवादुङ्मा गाउँपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ।