च्यासल तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा
बुटवल : च्यासल युथ क्लब रूपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा च्यासलले संकटा क्लबलाई २–० गोलले हरायो।
च्यासलले दुवै गोल दोस्रो हाफमा गर्यो। ४९ औं मिनेटमा डीबक्स नजिकैबाट कप्तान अमित श्रेष्ठको पासमा विदेशी खेलाडी अर्मान्ड बेडियमले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसको चार मिनेटलगत्तै सजिन थापामगरले बललाई जाली चुमाउँदै च्यासलको अग्रता दोब्बर बनाए।
संकटाका गोलरक्षक राजाबाबु थापा अघि बढेको मौकामा विदेशी खेलाडी इल्भिस अप्पिनको पासलाई सजिनले पोस्टको दिशा दिएका हुन्। सजिनको गोल नै जितका लागि निर्णायक बन्यो।
खेलको सुरुआतदेखि नै रक्षात्मक देखिएको संकटाले राम्रा अवसर बनाउन सकेन। खेलभर तीनवटा फितला गोल गर्ने मौका बनाएको संकटाका जय गुरुङले २९ औं मिनेटमा गरेको प्रहार पोस्ट माथिबाट बाहिरियो। ३९ औं मिनेटमा दीपेश आलेमगर खाली पोस्टमा चुकेका थिए। च्यासलले पनि लगातार गोलको अवसर खेर फालेको थियो।
च्यासलले अब मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। च्यासलका अर्मान्ड म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।
खेलपछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भए पनि जित्नैपर्ने खेल राम्रो भएको प्रतिक्रिया दिए। संकटाका क्याप्टेन रवि सिलवालले लगातारको खेलले थकित र नयाँ खेलाडी मैदानमा उत्रिएका कारण सोचे अनुरूप खेल्न नसकेको बनाए।
मंगलबार नेपाल पुलिस र भारतको दार्जिलिङ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टोलीले आठ लाख ८० हजार र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।