एक अर्ब लगानीमा चारतारे होटल
वीरगन्ज : मुलुकको आर्थिक राजधानीका रूपमा चिनिएको वीरगन्जमा एक अर्ब रुपैयाँको लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित पुरानो बसपार्कछेउमै होटल दियालो एन्ड लर्ड्स प्लाजा सञ्चालनमा आएको हो।
कांग्रेस नेता एवं पूर्वसांसद तथा उद्योगपति अनिल रुंगटा, विशाल पटवारी र निर्मल गुप्ताको लगानीमा खोलिएको चारतारे होटलको बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। वीरगन्ज महानगरकै मुख्य केन्द्र आदर्शनगरमा खुलेको चारतारे होटल भारतमा मुख्यालय रहेको लर्ड्स ग्रुपको फ्रेन्चाइजमा सञ्चालनमा ल्याएका हुन्।
१० तले भवनमा सञ्चालनमा ल्याइएको होटल दियालो एन्ड लर्ड्स प्लाजामा पूर्ण वातानुकूलित ६० वटा कोठामध्ये चार स्विट र ५६ वटा डिलक्स रुम छन्। यसैगरि होटलमा दुइटा रेस्टुरेन्ट, एउटा बार, दुइटा ब्याङ्केट हल, स्विमिङ पुल, जिम हल पनि रहेको होटलका सञ्चालक अनिल रुंगटाले जानकारी दिए।
वीरगन्ज आर्थिक एवं औद्योगिक नगरीका साथै मुलुककै मुख्य प्रवेशद्वार पनि रहेकाले उद्योगी व्यापारी तथा पर्यटककका लागि लक्ष्य गरी होटल सञ्चालनमा ल्याइएको सञ्चालक विशाल पटवारीले बताए।
‘वीरगन्ज देशकै आर्थिक राजधानी हो। यो प्रदेश २ को एक मात्र महानगर पनि हो। तर, यहाँ तीनतारेभन्दा सुविधासम्पन्न ठूला होटल नभएकाले हामीले चारतारे होटल सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘यो होटल निर्माणमा मात्रै करिब चार वर्षको समय लाग्यो, अझैं पनि अन्य भौतिक संरचना थपिरहेका छौं।’
उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीले नेपालकै मुख्य प्रवेशद्वारमा रहेको वीरगन्जमा सञ्चालनमा ल्याइएको होटल दियालो एन्ड लर्ड्स प्लाजाले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने बताए।
वीरगन्जमै अर्का उद्योगपति सुनिल खेतानको लगानीमा अर्को चारतारे होटल निर्माण कार्य जारी छ। भारतमा मुख्यालय रहेको क्र्लाक्स ग्रुपको फ्रेन्चाइजमा गण्डकमा अर्को चारतारे होटल निर्माणाधीन छ।
उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धी, पूर्वपरराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत, पूर्वमन्त्रीहरू फर्मुल्लाह मन्सुर,एनपी साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया, सांसद प्रदीप गिरी, विनोद चौधरी र उमेश श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाललगायत उपस्थित थिए।