आमाहरूको अग्रसरतामा होमस्टे
तोयानाथ भट्टराई/सीताराम गुरागाईं
इलाम : अन्तर्राष्ट्रिय महत्वकाे पर्वतीय सिमसार माइपोखरी रामसार क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई स्वागत गर्न माइपोखरी देउराली सामुदायिक होमस्टेका महिला तम्सिहाल्छन् ।
दुई वर्षअघि इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीका नौ जना स्थानीय मिलेर सुरु गरेको होमस्टेमा माइपोखरी र आसपासका क्षेत्र घुम्न आउने पर्यटक बास बस्ने गर्छन् । माइपोखरी नजिकैको देउराली गाउँका स्थानीयले होटेलभन्दा सस्तो पारिवारिक वातावरणमा पर्यटकलाई सेवा दिन होमस्टे सुरु गरेको होमस्टे सञ्चालक समितिकी सचिव लीला भट्टराईले बताइन् ।
उनले भनिन्, ‘व्यवस्थापनका धेरै काम महिलाले नै गर्ने गरेका छौं ।’ कञ्चनजंघा भूपरिधी संरक्षण तथा विकास पहल कार्यक्रमको सहयोगमा सुरु भएको होमस्टेमा पर्यटकलाई स्वागत गर्ने, परिकार बनाउनेलगायत काममा महिलाको सक्रियता बढी छ । स्थानीय होमस्टे सञ्चालिका लीला शिवाका अनुसार पुरुषको सहयोगमा महिलाकै सक्रियतामा न्यानो आतिथ्यता पाएर पर्यटक फर्कन्छन् ।
जनजाति समुदायको सघन बसोबास रहेको क्षेत्रमा जातीय पहिचानका भाँकीले स्वागत गर्न सञ्चालक समितिले काम गरिरहेको अध्यक्ष ठाकुरप्रसाद राईले बताए । राई, लिम्बू, ब्राह्मणलगायत जातजातीका पहिरनसहित पाहुनालाई स्वागत गर्ने काम भइरहेको उनले बताए ।
सचिव भट्टराईका अनुसार पर्यटक माइपोखरी डुलेर हामस्टेमा बास बस्ने गर्छन् । उनले भनिन्, ‘पाहुनाले चाहेजस्तो स्थानीय उत्पादनका परिकार बनाएर खुवाउने गरेका छौं ।’ इलामको सो क्षेत्रमा कृषकले अर्गानिक तरकारी उत्पादन गर्छन् । होमस्टे सञ्चालक समितिका उपाध्यक्ष सोमबहादुर राईका अनुसार चिसो मौसम भएकाले रोगकीराको प्रकोप कम छ । उनले भने, ‘रासायनिक मल बारीमा हालेकै छैन । कम्पोस्ट मल नै प्रयोग हुन्छ ।’
प्रत्येक होमस्टेका भान्सामा आमाको सक्रियता देखिन्छ । निमलमु शेर्पा, सन्तकुमारी धमला, लीला शिवा, लिलादेवी भट्टराई होमस्टे सञ्चालक बोर्डमै बसेर काम गरिरहेका छन् । कतिपयले नेपाल र भारतका विभिन्न स्थानमा पुगेर तालिम लिएको सचिव भट्टराईले बताइन् ।
२०६५ साल कात्तिक १२ मा दक्षिण कोरियामा भएको रामसार महासन्धी पक्ष राष्ट्रको सम्मेलनद्वारा माइपोखरी सिमसारको ९० हेक्टर क्षेत्रफललार्ई माइपोखरी रामसार क्षेत्रमा राखिएको हो ।
जैविक विविधताले भरिएको माइपोखरी समुद्र सतहदेखि दुई हजार एक सय मिटर उचाइमा छ । माइपोखरी सिमसार क्षेत्रमा अन्यत्र नपाइएको रैथाने गलैंचे झ्याउ, दुर्लभ ठकठके वनस्पति र उभयचरलगायत पाइन्छन् । २०६५ साल कात्तिक १२ मा दक्षिण कोरियामा भएको रामसार महासन्धी पक्ष राष्ट्रको सम्मेलनद्वारा माइपोखरी सिमसारको ९० हेक्टर क्षेत्रफललार्ई माइपोखरी रामसार क्षेत्रको रूपमा विश्वको १,८५०औं स्थानमा राखिएपछि विश्वका धेरै जिज्ञासुले माइपोखरीको भ्रमण गरेका छन् ।
हामस्टेका संस्थापक अध्यक्ष जीवन शिवा माइपोखरीमा आएर बास नपाउने समस्या समाधान गर्न होमस्टे सुरु गरेको बताउँछन् । माइपोखरीमा नेपाल सरकारले पनि आफ्नो संरक्षण सूचीमा राखेका लोठसल्ला, चाँप, गुराँस, सुनाखरी, पीतमुहार चिचिल्कोटे, सानो सियिबा, ढाडे गिद्ध, काकाकुल, ओत, मालिंगे पाहा, ट्यांगट्यांग पाहा, हरियो छेपारो आदि पाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत रामएक्वाल दास बताउँछन् । उनका अनुसार माइपोखरीको प्रचारप्रसार गर्न सके यस क्षेत्रकै विकासमा सहयोग सक्नेछ । उनले देउरालीमा सुरु भएको होमस्टेले माइपोखरीमा आउने पर्यटकको चापलाई पनि वृद्धि गर्ने बताए ।
कञ्चनजंघा भूपरिधी संरक्षण तथा विकास पहल कार्यक्रमका संयोजक डा.यादव उप्रेतीले प्रारम्भिक चरणमा होमस्टे स्थापनामा सहयोग गरे पनि समुदाय आफैं कम गर्ने चरणमा पुगेको बताए । उनले भने, ‘हामस्टे सुरु भएपछि माइपोखरी आउने पर्यटकलाई सजिलो भएको छ ।’ माइपोखरी क्षेत्रबाहेक २०१९ कात्तिक २४ गते सात जना प्रजातन्त्र सेनानीको सामूहिक हत्या गरिएको सात खाल्डे, तत्कालीन सत्ताको बमको छर्राले लागेर दुई सन्तान गुमाएपछि आफ्नै सन्तानको तस्बिर कुदेर जीवनको अन्तिम दिन बिताइरहेका डम्बरसिंह मुखियाले बनाएको पार्क, टोड्के झरना, वडा नम्बर ५ मा रहेको धाप पोखरी, काल पोखरी, रेडपान्डा हेर्न सकिने चोयाटार सामुदायिक वन, गुराँसको जंगल छिन्टापुलगायत बाटोमा पर्ने होमस्टे पर्यापर्यटनको विकास र जीविकोपार्जनका लागि आधार बन्दै गएको कार्यक्रम संयोजक उप्रेतीले बताए ।
उनका अनुसार इलाम, पाँचथर र झापामा सन २०१६ देखि पाँच वर्षे कार्यक्रम सुरु भएसँगै स्थानीयको जिवनस्तर उठाउने र भूपरिधीको संरक्षण गर्ने काम भइरहेको छ । करिब २५ हजार वर्ग किलोमिटरमा फैलिएको कञ्चनजंघा भूपरिधी क्षेत्रको संरक्षण गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आर्थिक तथा व्यवस्थापकीय प्रबन्ध गरेको छ । नेपालमा वन तथा वातावरण मन्त्रालयको मार्गदर्शनमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको मन्त्रालयका सहायक योजना अधिकृत रविनकुमार ग्यालनले जानकारी दिए ।