अन्तर्राष्ट्रिय नाटक महोत्सवमा १० नाटक

अन्तर्राष्ट्रिय नाटक महोत्सवमा १० नाटक

विराटनगर : सुशीला कोइराला नाट्यघर आरोहण गुरुकुलले विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना गर्ने भएको छ।

महोत्सवमा ६ देशको सहभागिता रहनेछ। प्रदेश १ को अस्थायी राजधानीमा पहिलो पटक आयोजना हुने महोत्सवलाई सफल बनाउन विशेष प्राथमिकताका साथ तयारी तीव्र पारिएको छ। फागुन १५ गतेदेखि २४ गतेसम्म १० दिन आयोजना हुने महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान र इटालीसमेतका मुलुकले सहभागिता जनाउने भएका छन्। महोत्सवका क्रममा विदेशी पाँच र नेपालका पाँचवटा नाटक दैनिक एक/एकवटा मञ्चन गरिनेछ।

नेपालको नेतृत्व विराटनगरकै आरोहण गुरुकुलले गर्नेछ। गुरुकुलले महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न र सफल बनाउनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ। नाट्य क्षेत्रलाई जीवित राख्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई प्रोत्साहन गर्न नयाँ थालनी गरिएको गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।

‘नेपालमा राष्ट्रिय हिसाबमा धेरै नाटकहरू मञ्चन भइरहेका छन्। अन्तर्राष्ट्रिय स्तरका नाटक मञ्चन गर्ने नौलो अभियानको सुरुआत गरिएको हो,’ क्षेत्रीले भने, ‘पहिलो पटक अन्तर्राष्ट्रियस्तरका कलाकार रंगमञ्चमा ल्याउने उद्देश्य हो। प्रस्तुति पनि नौलै रहने भएकाले सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ।’

विराटनगर महानगरपालिकाको संरक्षण रहेको महोत्सवका लागि खर्च करिब ४५ लाख रुपैयाँ लाग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ। खर्च गुरुकुल, विराटनगरको आन्तरिक स्रोत, स्थानीय सरकार तथा अन्य संस्थाहरूबाट पूर्ति गरिने जनाइएको छ।

गुरुकुलका महासचिव विवश पोखरेलले महोत्सवमा एक सयको संख्यामा विदेशी र त्यत्ति नै संख्यामा नेपाली कलाकार, नाट्य निर्देशक, लेखकसमेतको प्रत्यक्ष उपस्थिति रहने बताए। उनका अनुसार इटालीबाट आउने रंगकर्मीले तीन दिने नाट्य कार्यशालासमेत सञ्चालन गर्नेछन्। महोत्सव उद्घाटनका दिन विभिन्न सांस्कृतिक प्रदर्शनी तथा महोत्सव अवधिभर पुस्तक र चित्रकला प्रदर्शनीमा राखिने पोखरेलले बताए। प्रत्येक दिन रंगकर्मीहरूबीचमा अन्तरक्रिया पनि गर्ने तयारी छ।

अध्यक्ष क्षेत्रीले महोत्सवका क्रममा स्वदेशी तथा विदेशी रंगकर्मीहरूलाई प्रदेश १ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरूको अवलोकन गराइने जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चमा काम गरिरहेका रंगकर्मीबीचमा हुने अन्तरक्रियाले नेपाली सभ्यता, संस्कृति, भौगोलिक अवस्था तथा कलासाहित्यलाई थप हौसला र ऊर्जा प्रदान गर्दै स्तरीय वृद्धि र अन्तर्राष्ट्रियकरण गर्न महŒवपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

क्षेत्रीका अनुसार गुरुकुलले महोत्सवको सुरुआत फागुन १५ गते ‘विराट पर्व’ नामक नाटकबाट गर्ने भएको छ। विराटनगरको बुधनगरको भेडियारीमा रहेको विराट राजाको दरबारसँग जोडिएको नाटक ‘विराट पर्व’ गुरुकुलले मञ्चन गर्ने भएको हो।

कलाकार अशोक गौतमका अनुसार बंगलादेशबाट ‘मातब्रिङ’ (फागुन १६), इटालीबाट ‘डिसापारासिड ओएस ४३’ (फागुन १७), भारतबाट ‘चम्पावती’ (फागुन १८), श्रीलंकाबाट ‘लभ एन्ड लाइफ’ (फागुन १९), अफगानिस्तानबाट ‘ता राहाये’ (फागुन २२) नामक नाटक मञ्चन हुनेछ।

त्यसैगरी झोराहाट नाट्य समूहबाट ‘घरभित्रको अर्को घर’ (फागुन २०), परिवर्तन थिएटर काँकडभिट्टाबाट ‘बिटुलो आख्यान’ (फागुन २१), थिएटर नेपाल उदयपुरबाट ‘देश बनाउँछु भन्नेहरू’ (फागुन २३) र कदम थिएटर दमकबाट ‘गैंडा टाइम्स’ (फागुन २४) नामक नाटकको प्रस्तुति रहने गौतमले जानकारी दिए।

विराटनगरमा आयोजनाको तयारी गरिएको अन्तर्राष्ट्रिय नाटक महोत्सवका बारेमा जानकारी दिँदै आयोजक आरोहण गुरुकुलका पदाधिकारी। फोटो : किशोर बुढाथोकी/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.