काठमाडौं गोल्डेन्सले बहिष्कार गर्यो डीपीएल क्रिकेट
धनगढी : धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी डीपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार महेन्द्रनगर युनाइटेडसँग हुने भनिएको खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।
आफ्नो टिमका अनुभवी बलर अंकित दबासमाथि बलिङ प्रतिबन्ध लगाएपछि शुक्रबार साढे १२ बजेदेखि हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर काठमाडौँले बहिष्कार गरेको हो ।
काठमाडौँले बहिष्कार गरेपछि डीपीएलको शनिबार हुने उपाधि भिडन्त सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच हुने करिब पक्का पक्की भएको छ ।
बलिङ बढी रहेको भन्दै काठमाडौंका महत्वपूर्ण भारतीय अलराउन्डर अंकित दबासलाई डिपीएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट हुँदै प्रतियोगिता बहिष्कार गरेको हो ।
काठमाडौँ टिमका ब्यवस्थापक सञ्जय श्रेष्ठले फाइनलमा पुग्ने अवस्थामा आफ्ना महत्वपूर्ण खेलाडीमाथि प्रतिबन्ध लाग्नु बदनियतपूर्ण रहेको बताएका छन् ।
'भारतलाई पनि आईसीसीले हेर्छ, हाम्रो खेलमा मात्रै किन प्रतिबन्ध लगाइयो ?', काठमाडौँका व्यवस्थापक सञ्जय श्रेष्ठले भने, 'आईसीसीको बहानामा खेलाडीलाई तर्साउन खोजियो, पिच राम्रो नभएर हिलोमा खुट्टा गाडिँदा पनि हाम्रा खेलाडीले खेले, तर हामीलाई तर्साउन प्रतिबन्धको बहाना गरियो ।'
व्यवस्थापक श्रेष्ठले फाप्ला क्रिकेट मैदानमा आईसीसीका मापदण्ड पुरा नहुँदा नहुँदै पनि आफ्ना खेलाडीहरुले खेलेको जिकिर गरे । काठमाडौँ गोल्डेन्सले महेन्द्रनगरसँग खेल्नुअघि अंकित डीपीएलका पाँचवटा म्याच खेलिसकेका थिए ।
'पाँचवटा म्याचसम्म गलत देखिएन, छैटौँ म्याचमा आइपुग्दा खराब बलिङ भन्दै पूर्वाग्राही ढंगले कारबाही गरियो', श्रेष्ठले भने, 'कुनै खेलाडीको बलिङमा शंका लागेमा अनुसन्धान पछिमात्रै प्रतिबन्धको निर्णय लिइन्छ । तर अंकितको हकमा अनुसन्धानबिना नै प्रतिबन्ध लगाइएको छ ।'
जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।
अंकित दबास झारखण्डबाट भारतको रणजी ट्रफी खेलिसकेका चर्चित खेलाडी हुन् । झारखण्डबाट उनले यू-१६, यू-१९ र यू-२३ प्रतियोगिता खेलिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !