संगीतले जोडेको सम्बन्ध
काठमाडौं : अमेरिकी रैथाने सेतो वर्णकी आमान्दाका अगाडि नेपाली युवक दिवस गुरुङ केही कालोकालो हिस्सी परेको देखिए। काठमाडौंको एक क्याफेमा भेटिएका उनीहरू सँगसँगै नेपाली र अंग्रेजी गीत गुनगुनाउँदै थिए। आमान्दालाई नेपाली बुझ्न अप्ठ्यारो भइरहेको थियो।
प्रेम, एकअर्काप्रतिको फिलिङ्स र पहिलो डेटको याद गर्दै आमान्दा एक दशकअघिको समयमा फर्किरहेकी थिइन्। दिवसको गीत गाउँदै गितार बजाएको इनोसेन्ट अनुहारले आमान्दालाई पहिलो भेटमै तानेको थियो। ती दिन सम्झँदै उनी घरी जोडले खितखिताउँथिन त घरी सोचमग्न हुन्थिन्। ‘दिवस बहुत ज्ञानी र इमानदार छ। ऊ निकै सिर्जनशील छ, म्युजिकका लागि धेरै मेहनत गर्छ। एक्सपेरिमेन्टल म्युजिकमा उसको विशेष लगाव छ’, आमान्दाले दिवसको प्रशंसा गर्दै भनिन्।
‘आमान्दा अत्यन्तै बुझ्ने छिन्, मलाई र मेरो संगीतप्रतिको मोहलाई ध्यान दिन्छिन्। अनि सबैलाई सहयोग गर्ने र मायालु पनि छन्’, आमान्दाको चर्चा गर्दै दिवस जवाफ दिन्छन्।
दिवस र आमान्दाको जोडी अमेरिकामा बसेर संगीत कर्ममा व्यस्त छ। उनीहरूको ‘दि रंगस्’ नामक युगल एल्बम पनि बजारमा उपलब्ध छ। दिवसले ‘रातोमाटो, आधुनिक र झरना सहर’ नामक तीनवटा गीति एल्बम बजारमा ल्याइसकेका छन्। आमान्दा संगीतकी विद्यार्थी हुन्।
उनीहरूले अहिले अमेरिकाको आफ्नै घरमा रेकडिङ स्टुडियो खोलेका छन्। त्यहाँ दिवस र उनकी श्रीमती अमान्दा संगीत साधना गर्छन्। काठमाडांैमा हुर्केका दिवस सन् २००२ मा स्टुडेन्ट भिसामा अमेरिका छिरेका हुन्।
‘हामी आयौ आधा रातमा
बन्दुक हातमा
डर छ छातीमा’
जब यो गीत दिवसले बजारमा ल्याए, उनको चर्चा चल्न थाल्यो। देश विदेशबाट शुभकामना आउन थाल्यो। यस्तै उनले ‘माछी काँडैले’ बोलको गीतलाई नयाँ भर्सनमा आवाज दिए। यो गीतले उनको परिचय बदल्यो। कलेज पढ्दापढ्दै अमेरिकी साथीसँग मिलेर ‘आयुर्वेदा’ नामक ब्यान्डको सुरुआत गरेका थिए उनले। उनी आफैं गीत लेख्ने, गाउने र संगीत गर्ने गर्छन्।
नेपालीभाषी विकास राजकर्णिकार र सुमित सिम्खडा उनका संगीतका सहयात्री हुन्। उनीहरूसँगै मिलेर गीत गाउने, संगीत गर्ने र विभिन्न ठाउँमा प्रस्तुति दिने गर्छन्। उनीहरूले नै अमेरिकामा आयुर्वेदा ब्यान्ड जीवित राखेका छन्।
अमेरिकाको माटोमा गीत गाउँदागाउँदै, संगीत सिक्दासिक्दै अमेरिकी युवती आमान्दा मारीसँग उनको मन साटियो। दिवस साथीसँग कन्सर्टमा गीत गाइरहेका थिए, आमान्दा कन्सर्ट हेर्न बुबासँग त्यहाँ पुगेकी थिइन्। पहिलो भेटमै दिवसले आमान्दाको मन चोरिसकेका थिए। कहिले कार्यक्रममा, त कहिले कफी सपमा भेट, कहिले लङ ड्राइभमा जाँदै गर्दा उनीहरू एकअर्काका परिपूरक बनिसकेका थिए। सानी सानी निकै मायालु आमान्दालाई दिवसले पनि मनमा सजाइसकेका थिए।
मनले मनको कुरा बुझ्यो, सन् २०११ मा उनीहरूले प्रेमलाई कानुनी मान्यता दिए। आमान्दा अंग्रेजीमा गीत लेख्ने, गाउने र संगीत भर्ने गर्छिन्। ‘उनको स्वरमा बेग्लै मिठास छ’, दिवस आमान्दाको प्रशंसा गर्दै थिए ।आमान्दाको परिवारले दिवसलाई सजिलै स्विकार गरे पनि दिवसका नेपाली बुवाआमालाई विदेशी बुहारीलाई मान्यता दिन दिन निकै समय लाग्यो। ‘तीन वर्षसम्म त बुवाआमालाई कन्भिन्स गर्न लाग्यो’, दिवसले सुनाए।
आमान्दा र दिवसको जोडी अमेरिकामै गायनमा संघर्षरत छ। उनीहरू मिलेर काम गर्छन्। यो जोडी कहिलेकाहीँ नेपाल आउने गर्छ, विभिन्न ठाउँमा कन्र्सट गरेर फर्कन्छ। तन जहाँ जहाँ गए पनि मन त मेरो नेपाली हो। उनीहरूले करिब दुई दर्जन गीत संयुक्त गाएका छन्।
आमान्दालाई भने नेपालमा बस्न त्यति सहज लाग्दैन। यहाँको हावापानी, धुलोधुवा र बाटोघाटोमा इन्जोय गर्न सक्दिनन् उनी। तर पनि नेपाललाई माया गर्छिन्, घरमा नेपाली संस्कृति मनाउन पाउँदा खुसी हुन्छिन्। नेपाली दाल भात, फापरको रोटी, गुन्द्रुक, बारा आमान्दाका मन पर्ने नेपाली खानेकुरा हुन्।
दिवसलाई भने नेपाल र अमेरिका घर र माइत जस्तो लाग्छ, जहाँ गए पनि उत्तिकै माया, उत्तिकै खुसी। भन्छन्, ‘आमान्दाको बुवा अत्यन्तै फेन्टास्टिक हुनुहुन्छ, निकै माया गर्नुहुन्छ।’
अमेरिकी साथीसँग मिलेर उनीहरू विभिन्न सहरमा गीत गाउँदै हिँडेका छन्। दिवसको संगीतप्रतिको मोह भने युवा अवस्थामा पुगेपछि मात्रै बढेको हो। कक्षा ९ मा पढ्दा गितार बजाउँथे उनी। उनका बुवा पनि संगीतका फ्यान थिए।
दिवस आमान्दाको ‘दि रंगस्’ नामक युगल गु्रप छ। यही गु्रपमार्फत सांगीतिक कार्यक्रम चलाउँछन्। आमान्दालाई अंग्रेजी गीत र संगीतको राम्रो ज्ञान छ भने दिवसलाई नेपाली संगीतमा रुचि छ। आमान्दाले गीत गाउँदा दिवस गितार बजाउँछन् भने दिवसले गीत गाउँदा आमान्दाले म्युजिक बजाएर साथ दिन्छिन्।
हरेक पटक नेपाल आउँदा उनीहरूले कन्सर्ट पनि गर्ने गरेका छन्। उनीहरूले यसअघि धरान, बुटवल, चितवन, काठमाडांैका विभिन्न ठाउँमा प्रस्तुति दिइसकेका छन्। काठमाडौंको ठमेलमा रहेको पर्पल हिल्समा दिवसको कन्सर्ट थियो। जहाँ आमान्दाले साथ दिएकी थिइन्।