भत्किएको भवन बास, कोचिएर पठनपाठन

भत्किएको भवन बास, कोचिएर पठनपाठन

 बिर्तामोड : बिर्तामोड नगरपालिका-२ मा रहेको मोहनमाया माध्यमिक विद्यालयको पक्की भवनको एउटा कोठामा फरक क्षमता भएका बालबालिकाका लागि दुईवटा कक्षा सञ्चालन हुन्छ।

एकातर्फको भित्तामा फर्काएर एउटा कक्षा सञ्चालन गरिन्छ भने अर्को तर्फको भित्तामा अर्कै कक्षा। दिनभर एउटा कोठामा कोचिएर पढ्ने २२ जना बालबालिका बेलुका पुरानो चुहिने कच्ची छात्रबासमा रात कटाउँछन्। पानी पर्दा चुहिने किचनमा पानी छेक्दै खाना र खाजा खानुपर्ने बाध्यता छ।

२०२४ सालमा स्थापना भएको यो विद्यालयमा २०५२ सालदेखि फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउन थालिए पनि उनीहरूको व्यवस्थापन गर्न विद्यालयलाई समस्या छ। समस्या समाधानमा न सरकारलेनै चासो दिएको छ, न स्थानीय तह र जनप्रतिनिधिले नै। ‘सुरुवातमा केही गैरसरकारी संस्थाले उनीहरूको आवास र खानपानमा सहयोग गर्दा व्यवस्थापन ठिकै थियो’, विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले भने, ‘अहिले सरकारले दिएको छात्रवृत्तिको रकमले विद्यार्थीको व्यवस्थापन गर्नै समस्या हुन्छ।’

उनका अनुसार वर्षमा बिदा बाहेक दश महिना फरक क्षमता भएका बालबालिका छात्रबासमा बस्ने र त्यति समयका लागि प्रतिविद्यार्थी सरकारले दिने चार हजार छात्रवृत्तिबाट कटाएर ३ हजार ५ सयले एक जना विद्यार्थीलाई पाल्नुपर्छ।

पाँच सय रकम विद्यार्थीको खातामा जम्मा गर्ने भएकाले एक जना विद्यार्थीलाई तीन हजार ५ सय रुपैयाँले एक महिना पाल्न समस्या हुने उनको भनाइ छ। ‘छात्रवास मर्मत गर्ने, फर्निचर नयाँ हाल्ने र लुगाफाटो किन्ने त कुरै छैन’, श्रेष्ठले अन्नपूर्णसँग भने, ‘उनीहरूका लागि आएको रकमले खाना खाजा खुवाउनै समस्या हुन्छ।’

टिनको छाना भएको आवास गृहमा पानी चुहिँदा भित्र सुत्ने बालबालिकालाई नचुहिने स्थानमा सार्दै सुताउनुपर्ने बाध्यता छ। आवास गृहमा सुत्ने खाट र टेबुल पुराना भएर मकाउन र भाँचिन सुरु गरेका छन्। यसको मर्मत र नयाँ हाल्ने रकम विद्यालयसँग नभएको प्रअ श्रेष्ठले बताए।

विद्यालयले जिल्ला शिक्षा कार्यालय र वडासहित नगरपालिकामा बारम्बार भौतिक सुधार र व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दा समेत चासो नदिएको उनको गुनासो छ। ‘बिर्तामोड नगरपालिकाले शिक्षामा ठूलो लगानी गर्ने बताएको छ’, श्रेष्ठले भने, ‘तर यस्ता फरक क्षमता भएका बालकालिका पढाउने विद्यालयको भौतिक सुधार र व्यवस्थापनमा हामीले आग्रह गर्दा पनि चासो दिइएको छैन।’

फरक क्षमता भएका बालबालिकाको शिक्षणका लागि अपांग मैत्री सामान र पाठ्य सामग्री आवश्यक पर्ने भएपनि साधारण शिक्षाको पाठ्यक्रमलाई सांकेतिक भाषाबाट सिकाउनु बाहेकको विकल्प छैन। ‘यस्ता विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप अझै बढी हुनुपर्ने हो। खेलकुदका सामाग्रीदेखि भिडियोबाट सिकाउने प्रयोग अन्य विद्यालयमा हुन्छ’, शिक्षिका सृजना पौडेलले भनिन्, ‘साधारण शिक्षाको पाठ्यक्रममा पढाउन धेरै समस्या हुने गरेको छ। समस्या राख्दा कहीँकतैबाट सुनुवाई हुँदैन।’

झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर र इलामका २२ जना फरक क्षमताका विद्यार्थी अध्यायन गर्ने यो विद्यालयका विद्यार्थीलाई दुईजना शिक्षक÷शिक्षिकाले अध्यापन गराउनु पर्ने बाध्यता छ।

शिक्षा नियामावली अनुसार एकजना शिक्षकले न्यूनतम सातामा २४ पिरियर्ड (घण्टी) पढाउनुपर्ने भए पनि शिक्षक अभावमा एक शिक्षकले पहिलो घण्टीदेखि सातौं घण्टीसम्म त्यही कक्षामा बसेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको रहेको पौडेलको भनाइ छ।

‘फरक क्षमता भएकालाई पढाउनु धेरै समस्या हुन्छ,’ शिक्षक हरिप्रसाद राजवंशीले भने, ‘त्यहीँमाथि सातै घण्टी एउटै शिक्षकले पढाउनुपर्छ।’ फरक क्षमता भएका बालबालिका पढाउने दुईवटा कोटा विद्यालयलाई दिइएको छ। ‘एक कोटा, एक शिक्षक’ सरकारले दिने हुँदा सो निर्णयनै नियमावली विपरित रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.