खै एकदिवसीय ?

खै एकदिवसीय ?

घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा छ । दुई महिनापछि आईसीसीले क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको तीन वर्ष पुग्दै छ । क्यानको निष्पक्ष निर्वाचन हुन नसकेको र घरेलु क्रिकेटमा आन्तरिक विवाद बढ्दै गएको कारण देखाउँदै आईसीले २०७३ सालको वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरे पनि आईसीसीले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने रोक नलगाउने निर्णय गरेको छ । क्यान निलम्बनपछि मारमा परेको नेपाली क्रिकेटका लागि आईसीसीको यो निर्णय भने केही राहत दिने खालको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीको एकपछि अर्को स्तरीय प्रदर्शन गर्दै गएको र नेपालभित्र जनस्तरमा समेत क्रिकेटको उत्साहजनक वातावरण बन्दै गएकाले आईसीसीले खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट रोक नलगाउने निर्णय गरेको हुनुपर्छ ।

आईसीसीको सोही सदासयताका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खरै सफलताको सिँढी चढिरहेको नेपाली क्रिकेटको विकासमा कुनै अवरोध सिर्जना भएन । क्यान निलम्बनमा परेपछि नेपाली खेलाडीले पनि आफूमाथि अझ बढी चुनौती र जिम्मेवारी थपिएको अनुभव गरेर र आफ्नो प्रदर्शनमा कुनै कमी आउन दिएनन् । त्यसैको परिणाम हो, क्यान निलम्बनमा परेको करिब एक वर्षपछि नै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को महत्वपूर्ण फड्को मार्‍यो । अर्थात्, २०७४ साल चैतमा नेपालले आईसीसीबाट चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता प्राप्त गर्‍यो ।

सन् २०१४ मै टीट्वेन्टी विश्वकप खेलिसकेको नेपालका लागि आईसीसीबाट एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नु पक्कै पनि चानचुने उपलब्धि होइन । नेपाली क्रिकेटले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको २२ वर्षपछि यो सफलता हासिल गरेको हो । नेपालले सन् १९९६ को सेप्टेम्बर ६ देखि १६ सम्म मलेसियामा आयोजित ‘प्रथम एसीसी च्याम्पियनसिप’ का रूपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । सोही प्रतियोगितामा जापानलाई हराउँदै नेपालले पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गराएको थियो ।

आईसीसीबाट एकदिवसीय मान्यता पाइसकेपछि अबको हाम्रो आवश्यकता एकदिवसीय र त्योभन्दा लामो ढाँचाका प्रतियोगिता हुन् ।

नेपालले सन् २०२२ सम्मका लागि आईसीसीबाट एकदिवसीय टोलीको मान्यता पाएको हो । एकदिवसीय मान्यता पाएको करिब एक वर्षपछि आएर नेपालले पहिलो एकदिवसीय शृंखला जित्यो । गत माघमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई उसैको मैदानमा तीन खेलको शृंखलामा २—१ ले हराउँदै । कठिन संघर्षपछि प्राप्त भएको एकदिवसीय मान्यतालाई दीर्घकालीन रूपमा जोगाइराख्नु र अन्तर्राष्ट्रिय क्रिकेटमा अझ उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीबाट टेस्ट मान्यताका लागि संघर्ष गर्नु यतिबेला नेपाली क्रिकेटका लागि सबैभन्दा ठूलो चुनौती हो ।

स्वाभाविक रूपमा क्यान निलम्बनमा रहेको वर्तमान परिस्थितिमा यो लक्ष्य अझ चुनौतीपूर्ण छ । प्रश्न उठ्नु स्वाभाविक हो, यतिबेला देशभित्र सञ्चालन भइरहेका प्रतियोगिताहरू एकदिवसीय मान्यतालाई प्रोत्साहन गर्ने खालका छन् त ?        यसको जवाफ सकारात्मक नआउन सक्छ । पक्कै पनि पछिल्लो समय देशभित्र आयोजना भइरहेका प्रतियोगिताहरू नेपाली क्रिकेटको क्षितिजलाई अन्तर्राष्ट्रिय स्तरमा बृहत् बनाउन पर्याप्त छैनन् ।

हाल देशभित्र आयोजना भइरहेका प्रतियोगिताहरूले क्यान निलम्बनमा रहेको अवस्थामा घरेलु क्रिकेटको माहोललाई जोगाउने काम त गरेका छन् तर, नेपाली क्रिकेटको स्तरलाई अझ माथि उठाउन भने यी प्रतियोगिता पर्याप्त छैनन् । अन्तर्राष्ट्रिय रूपमा खासगरी टेस्ट, एकदिवसीय र टीट्वेन्टी गरी तीनवटा ढाँचाका क्रिकेट स्थापित र लोकप्रिय छन् । यी तीनवटै ढाँचाका क्रिकेट खेल्ने आआफ्नै नियम र शैली छन् ।

टेस्ट क्रिकेट लगातार पाँच दिनसम्म खेलिन्छ । विश्व क्रिकेटमा यो सबैभन्दा पुरानो र स्थापित ढाँचा हो । क्रिकेटका पारखीहरू टेस्ट क्रिकेटलाई ब्याट्सम्यान, बलर र समग्र टोलीकै वास्तविक क्षमता र स्तर मापन गर्ने महत्वपूर्ण कसी मान्दछन् । टेस्ट क्रिकेटमा ब्याट्सम्यानहरू धैर्यपूर्वक क्रिजमा टिकेर ब्याटिङ गर्दै आफ्नो टोलीलाई लक्ष्यतर्फ अग्रसर गराउँछन् । यो ढाँचाको क्रिकेटमा बलरहरू पनि केवल १० ओभरमा सीमित रहँदैनन् ।

त्यसैले आईसीसीले पनि टेस्ट खेल्ने मान्यता पाएका राष्ट्रहरूलाई विशेष महत्व दिने गरेको छ । हाल आईसीसीले १२ वटा राष्ट्रलाई टेस्ट टोलीको रूपमा मान्यता दिएको छ । भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड,        श्रीलंका, पाकिस्तान, वेस्टइन्डिज, बंगलादेश, जिम्बाब्बे, आयरल्यान्ड र अफगानिस्तान आईसीसीबाट टेस्ट मान्यता पाएका राष्ट्र हुन् ।

यसैगरी, एकदिवसीय (ओडीआई) ढाँचाको क्रिकेट एकै दिनमा सकिन्छ । यो ढाँचामा सहभागी दुवै टोली ५०÷५० ओभर ब्याटिङ र बलिङ गर्छन् । एकदिवसीय ढाँचाको क्रिकेटमा पनि ब्याट्सम्यानहरूले जोगिएर ब्याटिङ गर्छन् । यो ढाँचाको क्रिकेटमा ब्याट्सम्यानलाई क्रिजमा जानासाथ आक्रामक ब्याटिङ गरेर रन बनाउनु पर्ने दबाब हुँदैन । ब्याट्सम्यान क्रिजमा प्रवेश गरेपछि उनीहरूसँग ‘सेट’ हुनका लागि केही समय रहन्छ ।

एकदिवसीय मान्यता पाउने टोलीहरूलाई आईसीसीले पनि दोस्रो        श्रेणीमा राखेको छ । हाल आईसीसीले १६ राष्ट्रलाई एकदिवसीय टोलीको मान्यता प्रदान गरेको छ । टेस्ट मान्यता पाउने १२ राष्ट्रका अतिरिक्त स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई), नेपाल र नेदरल्यान्ड्सले एकदिवसीय टोलीको मान्यता पाएका छन् ।

यसैगरी टीट्वेन्टी एकदिवसीयभन्दा पनि छोटो ढाँचाको क्रिकेट हो । यो ढाँचाको प्रतियोगितामा सहभागी दुवै टोलीले २०÷२० ओभर ब्याटिङ र बलिङ गर्छन् । टीट्वेन्टी क्रिकेटमा ब्याट्सम्यान र बलरमाथि उत्तिकै दबाब रहन्छ । त्यसैले ब्याट्सम्यान क्रिजमा प्रवेश गर्नासाथ बढीभन्दा चौका र छक्का प्रहार गर्न आतुर हुन्छन् । त्यसैले कुनै समय एकदिवसीय क्रिकेटमा बन्ने दुई सय ५० रन पछिल्लो समय टीट्वेन्टी क्रिकेटमै बन्ने गरेको छ । टीट्वेन्टी क्रिकेटको इतिहासमा हालसम्म तीन पटक त दुई सय ५० भन्दा पनि बढी रन बनेको छ ।

त्यसैले छिटोछिटो रन बनाउने चक्करमा ब्याट्सम्यानहरू लामो समय क्रिजमा टिक्न सक्दैनन् र पेभेलियन फर्कन बाध्य हुन्छन् । आईसीसीले पनि आफ्ना सदस्यहरूको वर्गीकरणमा टीट्वेन्टी मान्यता पाएका राष्ट्रहरूलाई तेस्रो        श्रेणीमा राख्ने गरेको छ । हाल आईसीसीबाट १८ राष्ट्रले टीट्वेन्टी टोलीको मान्यता पाएका छन् । एकदिवसीय मान्यता पाएका १६ राष्ट्रका अतिरिक्त हङकङ र ओमानले पनि टीट्वेन्टी टोलीको मान्यता पाएका छन् ।

नेपालको सन्दर्भमा अहिलेको तुलनामा केही वर्षअघिसम्म एकदिवसीय प्रतियोगिता बढी हुन्थे । टीट्वेन्टी क्रिकेट यदाकदा मात्र आयोजना हुने गरेको थियो । नेपाली ब्याट्सम्यानहरू पनि एकदिवसीय ढाँचामा खेल्न अभ्यस्त थिए । तर, पछिल्लो केही वर्षदेखि नेपालमा एकदिवसीय ढाँचाको क्रिकेट आयोजना हुन छाडेको छ । यसको विपरीत टीट्वेन्टी ढाँचाका प्रतियोगिताहरूको बाढी नै आएको छ । जबकि, नेपालले आईसीसीबाट एकदिवसीय मान्यता प्राप्त गरेपछि हाम्रो आवश्यकता ५० ओभरको प्रतियोगिता नै हो ।

टीट्वेन्टी क्रिकेट करिब तीन घण्टाको हाराहारीमा सकिने भएकाले दर्शकमाझ पनि यो ढाँचा निकै लोकप्रिय मानिन्छ । बढीभन्दा बढी टीट्वेन्टी फ्रेन्चाइज क्रिकेट आयोजना हुनुको पछाडि पनि यही मानसिकताले काम गरेको पाइन्छ । स्वाभाविक रूपमा यो ढाँचाको क्रिकेटले आयोजकका लागि दर्शक र प्रायोजक दुवैलाई आकर्षित गरेको हुन्छ । यो ढाँचाको प्रतियोगितामा आर्थिक पक्षले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

यसका बाबजुद घरेलु क्रिकेटको नेतृत्वकारी निकाय क्यान आईसीसीको निलम्बनमा रहेको वर्तमान अवस्थामा यही ढाँचाका प्रतियोगिताहरूले नेपाली क्रिकेटको अस्तित्वलाई जोगाइराख्ने काम गरेको तथ्य आफ्नो ठाउँमा छँदैछ । तर, एकदिवसीय टोलीको मान्यता पाएपछि अबको हाम्रो लक्ष्य भनेको यो उपलब्धिलाई दीर्घकालीन रूपमा जोगाइराख्नु र योभन्दा पनि माथिको टेस्ट मान्यताका लागि आफूलाई तयार पार्नु नै हो । यसका लागि अब हामीलाई एकदिवसीय र त्योभन्दा लामो समयका प्रतियोगिताहरू आवश्यक पर्छन् ।

राष्ट्रिय टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरी पनि नेपाली क्रिकेटको अहिलेको आवश्यकता एकदिवसीय वा सोभन्दा लामो ढाँचाको प्रतियोगिताहरू नै भएको बताउँछन् । ‘पछिल्लो समय टीट्वेन्टी प्रतियोगिताहरूले नै हाम्रो क्रिकेटलाई जोगाउने काम गरेका छन् । तर, आईसीसीबाट एकदिवसीय मान्यता पाइसकेपछि अबको हाम्रो आवश्यकता भनेको एकदिवसीय र त्योभन्दा लामो ढाँचाका प्रतियोगिता हुन् । एकदिवसीय मान्यतालाई जोगाइराख्न पनि हामीसँग बढीभन्दा बढी एकदिवसीय प्रतियोगिता आयोजना गर्नुको विकल्प छैन’, दीपेन्द्र भन्छन् ।

दीपेन्द्रका अनुसार अफगानिस्तान र आयरल्यान्डले एकदिवसीय मान्यता पाएपछि टेस्ट टोलीको रूपमा फड्को मार्न गरेको संघर्षबाट हामीले पनि शिक्षा लिनु आवश्यक छ । ‘टीट्वेन्टी र एकदिवसीय फरक ढाँचाका क्रिकेट हुन् । टीट्वेन्टी प्रतियोगिताले बलरलाई दबाब झेल्न सिकाउँछ तर, ब्याट्सम्यानको क्षमतामा सुधार ल्याउन हामीलाई एकदिवसीय प्रतियोगिता नै आवश्यक पर्छ’, उनी भन्छन्, ‘हामीले अब योभन्दा अगाडिको यात्रा तय गर्न तीन दिवसीय क्रिकेट भित्र्याउन पनि ढिलो गर्नु हुँँदैन ।’

उसै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा बलिङको तुलनामा नेपालको ब्याटिङ कमजोर देखिँदै आएको छ । यस्तो अवस्थामा ब्याटिङमा सुधार ल्याउन पनि बढीभन्दा बढी लामो ढाँचाका प्रतियोगिताहरू आयोजना गरिनु अहिलेको मुख्य आवश्यकता देखिन्छ । क्यान निलम्बनमा परेको अहिलेको स्थितिमा नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यसतर्फ ध्यान पुर्‍याउनु आवश्यक छ ।

घरेलु क्रिकेटको आवश्यकता अनुरूप निजी क्षेत्रसँग सहकार्य गरी एकदिवसीय प्रतियोगिता आयोजनाका लागि यतिबेला राखेपको भूमिका महत्वपूर्ण हुन सक्छ । यसैगरी दक्षिण एसियामै भारत, पाकिस्तान,        श्रीलंका र बंगलादेश गरी चारवटा टेस्ट राष्ट्र छन् । यिनै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरी आफ्ना खेलाडीको लागि नियमित अभ्यासको वातावरण तयार पार्न सके पनि हाम्रो लागि ठूलो उपलब्धि सावित हुन सक्छ । राखेपका सदस्यचिव केशवकुमार विष्ट घरेलु क्रिकेटमा एकदिवसीय प्रतियोगिताको आवश्यकता महसुस गरेर नै राखेपले ठूलो पुरस्कार राशिसहितको ‘प्रधानमन्त्री कप’ प्रतियोगिता सुरु गरेको बताउँछन् ।

‘आईसीसीबाट एकदिवसीय टोलीका मान्यता प्राप्त गरेपछि सोही ढाँचाको प्रतियोगिता आवश्यक पर्छ भनेर नै राखेपले ठूलो पुरस्कार राशिसहित प्रधानमन्त्री कप सुरु गरेको हो’, विष्ट भन्छन्, ‘स्वाभाविक रूपमा क्यान निलम्बनमा रहेको अवस्थामा राखेप आफ्नो जिम्मेवारीप्रति सचेत पनि छ । क्रिकेट खेलाडीले जितेर आएपछि उनीहरूको हौसला बढाउन नगद पुरस्कारको व्यवस्था गर्नेदेखि लिएर आईसीसीबाट दुई वर्षदेखि रोकिएको खेलाडीको तलब निकासा गराउनसमेत राखेपले नै भूमिका निर्वाह गरेको हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.