बूढापाका सूचना र ज्ञानका भण्डार
मेरो जन्म वि.सं. १९९९ सालमा हाल धनुषा जिल्लाको सपही गाउँमा भएको हो। यो गाउँ जनकपुरबाट १० किलोमिटर उत्तरमा अवस्थित छ। कृषिमा आधारित मध्यमवर्गीय हाम्रो परिवारमा कसैले पनि पढेलेखेको रहेनछ। चार दाजुभाइमध्ये कान्छा मेरा बुवा साक्षरसम्म हुनुहुन्थ्यो। उहाँ दुःखले हिसाबकिताब राख्न र तमसुक पढ्न सक्नुहुन्थ्यो। सबैजना गाई, भैंसीपालन र खेतीपानीमा व्यस्त हुनुपर्ने जमाना थियो।
त्यसबेला गाउँमा स्कुल थिएनन्। समाजका प्रतिष्ठित र धनी मानिस केटाकेटी भेला गरेर लेखपढ गर्न सिकाउन थालेका थिए। यसका लागि भारततिरबाट शिक्षक झिकाइन्थ्यो। मैले छ, सात वर्षको उमेरमा घरैमा कखरा सिक्ने मौका पाएँ। त्यसपछि हामी घरबाट अढाई माइल टाढा रहेको प्राइमरी स्कुलमा पढ्न थाल्यौं। हामी साथीसँग मिलेर कपर्दी, गुली डन्डा, सँुडचाट, फुटबल आदि खेल्थ्यौं। विद्यालयमा हुने प्रतियोगितामा पनि सहभागी हुन्थ्यौं। भैंसी चराउन जाँदा माछा, चरा माथ्यौं र पोलेर खान्थ्यौं।
कक्षा पाँचदेखि म जनकपुरमा पढ्न थालेँ। त्यसै साल हाम्रो गाउँमा ठूलो आगलागी भयो। धेरै घरहरू जले। म जन्मेकै साल पनि आगलागी भएपछि हाम्रो परिवार गाउँकै उत्तरमा रहेको आफ्नै गोठमा सरेको रहेछ। त्यसले गर्दा हाम्रो घर आगलागीबाट बचेको थियो। त्यो घटना पछि मेरो पढाइ करिब चार वर्ष रोकियो। त्यसैबेला २०१५ सालको आमनिर्वाचन पनि भयो। म पनि नेपाली कांग्रेसको तर्फबाट राजनीतिक गतिविधिमा सहभागी भएँ। हाम्रो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रुद्र गिरीले जित्नुभयो।
फेरि म जनकपुर हाइस्कुल भर्ना भएँ। प्युठान वा बागलुङतिरका ठाकुरप्रसाद रेग्मी विद्यालयको संस्थापक शिक्षक हुनुहुन्थ्यो। उहाँले संस्कृतमा शास्त्रीसम्म अध्ययन गर्नु भएको भए पनि नेपाली, संस्कृत, अंग्रेजी, गणित सबै विषय पढाउनुु हुन्थ्यो। त्यसबेला विषयगत शिक्षक हुँदैनथे। २०२० सालमा एसएलसी पास गरेर म काठमाडौं आएँ। त्रिचन्द्र कलेजमा भर्ना भएर साइन्स पढ्न थालें। पछि अमृत साइन्स कलेजमा एक वर्ष दोहो¥याएर परीक्षा दिएँ। आईएस्सी पास गरेर बीएस्सी पढ्न थालेको वर्षदिन नबित्दै डाक्टरी पढ्न कलकत्ता मेडिकल कलेज गएँ। पाँचवर्षे कोर्स सकेर एक वर्ष इन्टर्नसिप गरेँ। त्यसपछि त्यहीँ दुई वर्ष काम पनि गरें। लगत्तै ‘ट्रपिकल स्कुल अफ मेडिसिन’बाट प्याथोलोजीमा स्नातक गरेँ।
काठमाडौं बस्दादेखि नै मेरो राजनीतिक सुझबुझ र सम्पर्क बढ्दै थियो। बीपी कोइरालाको जननिर्वाचित सरकारलाई राजाले हटाएको कुरा ठीक होइन भन्ने बुझेको थिएँ। भारतमा रहँदा पनि राजनीतिक क्रियाकलापमा सहभागी भइरहेँ। हामी त्यहाँ छात्रसंघमा संलग्न थियौं। भारत स्वतन्त्र भएको २० वर्ष मात्रै भएकाले जनताको जागरण बाँकी नै थियो। म बीपी र गणेशमानजीबाट औधी प्रभावित हुन्थें। बीपीले डाक्टरी पेसाबाटै सेवा र राजनीतिसँगै गर्न सकिने बताउनु भएको थियो। त्यही कुराको प्रभावले मैले जागिर पनि खाइनँ। बरु गाउँमै क्लिनिक खोलेँ। २०३६ सालको जनमतसंग्रहताका रातभर गाउँमा बहुदलको प्रचार गर्थें अनि दिनभर आफ्नै क्लिनिकमा व्यस्त हुन्थेँ।
२०३९ सालमा बीपी बिरामी हुँदा उहाँको निजी आवासीय चिकित्सकको रूपमा काम गर्ने अवसर पाएँ। त्यसबेला भारतीय नेता चन्द्रशेखर बीपीलाई भेट्न काठमाडौं आउनुभएको थियो। बीपीले मलाई एमडी पढ्न सिफारिस गरिदिनु भयो। उहाँको निधन भएको तीन महिना पछि चन्डिगढ गएँ। एमडी गरेर फर्किएँ। त्यसपछि जनकपुरमा नर्सिङ होम खोलेर पाँच वर्ष काम गरेँ।
२०४३ सालमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापतिको चुनाव लडेँ पनि मैले चुनाव हारेँ। २०४८ सालमा चुनाव जितेर स्वास्थ्य राज्यमन्त्री भएँ। पछि फेरि कृष्ण्प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री भएँ। २०६४ सालको निर्वाचनमा जितेर आएपछि राष्ट्रपति हुने अवसर पाएँ। त्यसबेला खुसी हुनु स्वाभाविकै थियो। पार्टीको केन्द्रीय सदस्य र सहमहामन्त्री भएर देशभर डुल्दा ममा केही आत्मविश्वास भने बढेको थियो। काममा निरन्तर लागिरहँदा पार्टीको र देशको उच्च पदमा पुग्न सकिन्छ भन्ने लाग्न थालेको थियो।
म मेहनत र निरन्तरतामा विश्वास गर्छु। डाक्टरी पढ्दा मानवीय सेवा हुने, दुई पैसा आर्जन गर्न सकिने, सामाजिक प्रतिष्ठा बढ्ने र यसकै आडमा राजनीति पनि गर्न सकिन्छ भन्ने मेरो ठम्याइँ थियो। यसमा म सफल पनि भएँ।
भाइबहिनीले देशको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक विषयको ज्ञान राख्नु आवश्यक छ। एसईई पास हुँदा पनि देशको बारेका थोरबहुत ज्ञान नहुनु ठीक होइन। हाम्रा स्रोतसाधन, विश्व समुदायमा हाम्रो अवस्थिति आदिबारे बुझ्न आवश्यक छ। यसका लागि पढ्ने र भ्रमण गर्ने गर्नुपर्छ। हिजोआज इन्टरनेट र सामाजिक सञ्जालमा अलमल गर्ने क्रम बढेको छ। यसबाट समय जोगाउन जरुरी छ। नेटलाई सूूचनाको स्रोतको रूपमा मात्र प्रयोग गर्नुपर्छ। गलत र सही काम छुट्ट्याउन जान्नुपर्छ। कसैको पनि पूरा विश्वास र भर पर्नु हुँदैन।
आफूूले सिकेका कुरा अरूलाई सिकाउने र नजानेका कुरा सोधीसोधी सिक्नुपर्छ। रुचिको विषय पढेर मात्र माथि पुग्न सकिन्छ। करकापमा इच्छा नलागेको विषय पढ्नु हुँदैन। बूढापाकाहरू सूचना र ज्ञानका भण्डार हुन्छन्। उनीहरूका कुरा र अनुभवबाट धेरै कुरा सिक्न सकिन्छ।
(पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)