घन्किँदैछ नेपाल लोक स्टार

घन्किँदैछ नेपाल लोक स्टार

काठमाडौं : नेपाली लोकसंगीतको क्षेत्रमा अहिलेसम्मकै धेरै पुरस्कार राशि भएको सांगीतिक कार्यक्रम नेपाल लोक स्टार हुने भएको छ। नेपालको लोक संस्कृतिको प्रचारप्रचार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

नेपाल लोक स्टार कार्यक्रम आगामी जेठको दोस्रो हप्तादेख एपीवान टेलिभिजनबाट प्रसारण हुने चाहना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए। यो कार्यक्रमको उत्पादन नेपाल आइडलकै टिमले गर्दैछ। लोक स्टारको निर्णायकमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड रहनेछन्। कार्यक्रममा प्रस्तुत गरिने गीतका लागि लोकगायक कुमार बस्नेतले कोर्डिनेटरको भूमिकामा रहनेछन्।

अहिलेका युवा पुस्ता लोकसंगीतबाट टाढा भएको जनाउँदै उनीहरूलाई नेपाली लोकगीत पनि सुन्ने गीत हो भनेर चिनाउन यो कार्यक्रम गर्न लागिएको कोइरालाले बताए।

कार्यक्रमले पुराना र नयाँ पुस्ताको फ्युजन गरी युवा पुस्ता र लोकसंगीतबीचको दूरी घटाउन सहयोग गर्ने आयोजकको दाबी छ। निर्णायकको भूमिकामा रहेका जयनन्द लामाले नेपाली लोकसंगीतको इतिहासमा यो अहिलेसम्मकै ठूलो अवसर भएकाले आफू अत्यन्तै उत्सुक भएको बताए। मानव जहाँजहाँ बसोबास गर्छन् त्यहाँबाट स्थानीय संस्कृति, गीतसंगीत र धुनको सुरुआत हुने भएकाले लोकगीतमा स्थानीयपन पाइने लामा बताउँछन्।

देशको पहिचान र परिचय बोक्ने एक विशेष चिजको रूपमा लोकगीत रहेको जनाउँदै उनले अन्य देशबाट आफ्नो देशलाई छुट्ट्याउन पनि लोकगीतको विकास हुनुपर्ने जानकारी दिए।

नेपाल लोक स्टार कार्यक्रमका निर्देशक सुरेश पौडेलले हराउँदै गएको लोकसंगीतको विकास गर्न यो कार्यक्रम फलदायी हुने बताए। पछिल्लो समय लोकगीतको क्षेत्रमा सीमित व्यक्ति मात्रै हाबी गएको यथार्थ उल्लेख गर्दै नेपालीपनलाई उठाउने लोकसंगीत सबैको कानमा पुर्‍याउने सोचका साथ नेपाल लोक स्टार आउन लागेको उनको भनाइ छ।

पौडेलका अनुसार लोकगीत एउटा विशाल छाता भएको र यसभित्र ७७ वटै जिल्लाका स्थानीयपन र संस्कृति अटाउनेछ। यसका साथै लोकगीतमा देखिएको विकृति र विसंगति हटाउन पनि यो कार्यक्रम उपलब्धिमूलक हुनेछ।

उनले लोकगीत नसुन्ने वर्गका लागि सुन्ने किसिम बनाउन आफूले सकेसम्मको मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै अन्य फेन्चाइज रियालिटी सोमा अरुहरूको नियम फलो गर्नुपर्ने भए पनि लोक स्टार सञ्चालन गर्न आवश्यक नियम आफूहरूले बनाइरहेको उनले जानकारी दिए। एउटा उच्च तहको लोक स्टार उत्पादन हुनेमा आशावादी रहेको पनि उनले बताए।

नेपाली गीत संगीतको खोजी, उत्पादन, बिक्री वितरणमा काम गर्ने उद्देश्यका साथ २०६८ सालमा नै चाहना मिडिया प्रालिको स्थापना भएको हो। लोकस्टार कार्यक्रमका अडिसनहरू क्रमशः धनगढीमा फागुन १६ गते, त्यसपछि २० गते सुर्खेतमा, २५ गते बुटवलमा, चैत २ गते पोखरामा ११ गते विराटनगरमा, १६ गते जनकपुरमा र चैत २३ गते काठमाडौंमा हुँदैछ।

सातवटै प्रदेशका प्रतियोगीलाई कार्यक्रममा सहभागी बनाउने उद्देश्यका साथ हरेक जिल्लामा फारम भर्न सकिने व्यवस्था गरिएको छ। देशभरका ९५ वटा एफएम रेडियो र चाहना मिडियाको आफ्नै अफिसबाट समेत फाराम वितरण भइरहेको छ। एक हजार तिरेर फारम किन्न सकिन्छ। बृहत् जानकारीका लागि नेपाल लोक स्टार डटकमममा लिन सकिन्छ।

लोकबेसीका सबै गीतले कार्यक्रममा सहभागिता पाउनेछन्। नेपाली बाहेकका अन्य भाषी गीतलाई पनि कार्यक्रममा मान्यता दिइनेछ। प्रतियोगीको स्थानीय मौेलिकता, गायकी, लोकपन, स्थानीय लय र संस्कृतिलाई मुख्य जोड दिइने आयोजकले जानकारी गराएको छ।

नेपाल लोक स्टार कार्यक्रम जेठको दोस्रो हप्ताबाट एपीवान टेलिभिजनबाट प्रसारण गरिन्छ। करिब ३१ वटा कार्यक्रममा नेपालले पहिलो लोक स्टार प्राप्त गर्नेछ। असोजको दोस्रो हप्तामा विजेता घोषणा गरिन्छ। विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख र तेस्रो स्थान हासिल गर्नेले १० लाख रकम प्राप्त गर्नेछन्।

प्रिअडिसन र अडिसन पार गरी आएकाले काठमाडौंमा हुने मेघा अडिसनमा भाग लिन पाउनेछन्। प्रत्येक प्रदेशबाट ५० देखि ७० जना सहभागी काठमाडांै ल्याउने आयोजकको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.